News 24 Television
रास्वपाद्वारा विधान परिमार्जन गर्न सुझाव कार्यदल गठन

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) पार्टीको विधान परिमार्जन गर्न ११ सदस्यीय विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ । बिहीवार पार्टी केन्द्रिय कार्यालय वनस्थलीमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले परिमार्जन, संशोधनहरु र सुझावका लागि कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी संयोजक रहनेगरी कार्यदलमा सोविता गौतम, गणेश कार्की, डा. तोषिमा कार्की, क्रान्तिशिखा धिताल, डा. नारायण घिमिरे, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम र शंकर श्रेष्ठ रहेको बताए । उनले कार्यदलको बैठक आज नै बस्ने उपसंयोजक र सचिव छनोट गर्ने बताए । उनका अनुसार कार्यदललाई सुझाव प्रतिवेदन दिन ९० दिनको समय दिइएको छ ।

बैठकले अभियान विभागको नेतृत्व गरिरहेका पार्टीका सहमहामन्त्री विपिन आचार्यको नेतृत्वमा कर्णालीमा विशेष अभियान सञ्चालन गर्ने निर्णय समेत गरेकाे छ । कर्णाली विशेष अभियान भाद्र दोस्रो सप्ताहदेखि शुरु गर्ने झाले बताए । पार्टीका विचार मन्थन गर्न, क्षमता अभिवृद्धिमा काम गर्न, रणनीतिमा अझै धेरै छलफल आवश्यक ठानेर पार्टीको क्लोज क्याम्प गर्ने र त्यसको नेतृत्व पार्टी सभापति रवि लामिछानेले गर्ने उनकाे भनाइ छ ।

कार्यवाहक प्रवक्ता झाले उपसभामुख इन्दिरा रानाले अमेरिकी दुतावासमा पठाइएको भनिएको पत्र दुतावासमा रजिस्टर पनि नभएको र सिफारिस गरेअनुसारको सुविधा पनि नपाएको भएकाले आर्थिक चलखेल नभएको बैठकले निष्कर्ष निकालेकाे छ ।उनले आफूहरुले संवैधानिक परिषदमा बहुमतका लागि भएको चलखेलको रुपमा उक्त घटनालाइ लिएको जानकारी दिए ।

 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update