News 24 Television
विमानस्थलमै भएको दुर्घटनाको उद्धारमा ढिलाइ किन ?

काठमाडौँ । त्रिभुवन विमानस्थल परिसर भित्रै बुधबार बिहान ११ः११ बजे सौर्यएयरको जहाज दुर्घटनामा पर्याे । विमान स्थलपरिसर भित्रै भएको दुर्घटनामा पनि क्याप्टेनबाहेक जहाजमा सवार अन्यको जिवित रहेनन् । यसले विमानस्थल भित्र दुर्घटना उद्धार कार्य अति नै कमजोर रहेको देखाएको छ । 

बुधार बिहान ११ बजेर ११ मिनेट जाँदा सौर्य एयरलाइन्सको जहाज मर्मतपछिको पूर्ण परिक्षण अर्थात् सी चेकका लागि पोखरा उडान भर्दा दुर्घटनामा पर्याे । टेकअफ भएको २० सेकेन्डमै जहाज धवानमार्गको छेउमै रहेको कन्टेनरमा ठोकिन पुग्यो । जहाजको अगाडिको भाग अर्थात् ककपिट कन्टेनरमा पस्यो भने पछाडिको भाग उछिट्टियो । कन्टेनर विमानस्थलको डिलबाट खस्न पुग्यो भने पछाडिको पार्ट टुक्रा टुक्रा भएर विमानस्थल सुरक्षाका लागि गरिएको घेराबार छेउ पुग्यो । यो घटनामा विमानका क्याप्टेन मनिषरत्न शाक्यको मात्रै जिवितै उद्धार हुन सक्यो भने बाँकी १८ जनाले ज्यान गुमाए । उद्धार कार्य प्रभावकारी नदेखिएको घटनाका प्रत्यक्षदर्शीहरु बताउँछन् । यो घटनाले दुरदराजमा हुने दुर्घटनामा कसरी उद्धार हुन्छ भन्ने प्रश्न खडा भएको छ ।

विमान दुर्घटना भएको ४ मिनेटपछि मात्रै दुर्घटनाका बारेमा विमानस्थलमा रहेको प्रहरीले खबर पाएको बताएको छ । प्रहरीले दुर्घटना भएको २३ मिनेटपछि पाइलटलाई उद्धार गरी अस्पताल पुर्याएको थियो । जब कि पाईटल रहेको भाग अर्थात् ककपीट ठोकिएको कन्टेनरको भागमा आगो नै लागेको थिएन । आगो जहाजको पछाडिको भागमा लागेको थियो । जुन कन्टेनरमा ठोकीयपछि ककपीट सहित उछिट्टिएको खाल्डोको करीब ५० देखि सय मिटर नजिकै रहेको समथर भुमागमा छ । विमानस्थलमा हुने सम्भाव्य दुर्घटनाबारे बेलाबेलामा उद्धार अभ्यास पनि हुने गरेका छन् । तर विमानस्थल परिसरमै भएको यो दुर्घटनामा उद्धार कार्य ढिलाइ हुँदा त्यस्ता अभ्यास पनि प्रवावहिन देखिएको छ । विमानस्थलमै पटक पटक भैरहेका विमान दुर्घटनाबाट समेत चेत्न नसक्नु दुर्भाग्य हो । 

विमान दुर्घटनापछि त्यसको अनुगमनमा प्रधानमन्त्री र गृहमन्त्री समेत पुगेका थिए । प्रधानमन्त्री केपी ओलीले दुर्घटनाको जानाकारी लिएपछि यसबारे सरकारले थप काम गर्ने बताए भने गृहमन्त्री रमेश लेखकले दुर्घटनाबारे छानबिन हुने प्रतिक्रिया दिएका थिए । 

विमान दुर्घटनाको छानबिन गर्न बुधबार नै ५ सदस्यीय छानबिन आयोग गठन भइसकेको छ । पोखराका लागि उडान गरेको सौर्य एयरलाइन्सको सीआरजे सेभेन जहाज पूर्ण मर्मत (सी चेक)का लागि जाँदै थियो । यस्तो जहाज उडानयोग्य थियो कि थिएन, प्रश्न कायमै छ । यता, अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै भएको दुर्घटनामा समयमा उद्धार गर्न नसकिनुले पनि प्रश्नहरु खडा गरिरहेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update