News 24 Television
प्रचण्डमाथि अर्को बज्रपातको संकेत, कसले बुन्दैछ के षड्यन्त्र ?

काठमाडौँ । लामो समयपछि केन्द्र र प्रदेश तहबाट सत्ताच्यूत हुन पुगेको माओवादी केन्द्रले अब के गर्ला आम चासो छ । एकातिर, सत्ताबाट बाहिरिएपछि पार्टी अध्यक्ष प्रचण्डले आफ्नो सरकार ढाल्न षडयन्त्र भएको दाबी गर्दै आएका छन् । अर्कातिर, माओवादी केन्द्रभित्रको आन्तरिक विवाद उत्कर्षमा रहेको दाबी पनि गर्न थालिएको छ । यस परिस्थितिकाबीच माओवादी केन्द्रको आन्तरिक राजनीतिक जीवनले गति लिन सक्ला ? अब पार्टी निर्माणमा लाग्ने बताइरहेको माओवादीले यस समयलाई सदूपयोग गर्ने आधार छन् त ? 

नेकपा माओवादी केन्द्र सत्ताबाट बाहिरिदै अहिले प्रतिपक्षी बेन्चमा धकेलिएको छ । प्रतिपक्षमा धकेलिएको माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दा गरेका काम र पार्टी निर्माणमा यो शक्तिलाई परिचालन गर्ने दाबी गरिरहेको छ । तर, पार्टीको आन्तरिक जीवनमै अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच ठूलो विवाद रहेको विषय समेत सार्वजनिक भइरहेको छ । तर, प्रचण्ड भने षड्यन्त्र रचेरै आफुलाई सरकारबाट फालेको आरोप लगाउन थालेका छन् ।

सुशासनको पक्षमा आफू नेतृत्वको सरकारले नेपालको इतिहासमै दुरगामी कदम चाल्न खोजेपछि सरकार ढालिएको आरोप प्रचण्ड छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ११ स्मृति दिवसमा समेत प्रचण्डले यही आरोप दोहोर्याएका छन् ।

सरकारबाट बाहिरिएपछि सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नो सरकार विचौलियाको षडयन्त्रमा ढालिएको र अहिलेको सत्ता गठबन्धनले विचौलियाको इच्छ्या अनुसार काम गर्ने दाबी समेत गरे । 

सरकार फेर्ने काम वेचन झाको पक्राउसँग सम्बन्धित रहेको दाबी गर्दै प्रचण्डले सरकारबाट बाहिरिदा आफू विजेताको रुपमा बाहिरिएको जिकिर गरेका छन् । अहिले केपी ओली र सत्तारुढ दलहरु सरकारको नेतृत्व गर्न पुगेपनि उनीहरु पराजित मानसिकतामा नै रहेको दाबी प्रचण्डको छ । 

सरकार छाड्नुपर्नका कारणबारे समय खर्चिएका प्रचण्डले पार्टीभित्रको आन्तरिक मतभेद सिर्जना भएको विषयमा प्रष्ट नबोले पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने अफवाह फैलाउन खोजिएको दाबी गरेका छन् । प्रचण्ड र नारायणकाजीबीचको विवाद चरम बनेको र प्रचण्डले उनलाई पार्टी छाडेर जान भनेको भन्ने विषयले चर्चा पाएपछि नारायणकाजी श्रेष्ठले यसबारे प्रष्टिकरण समेत दिएका छन् । 

माओवादी केन्द्र सत्ता गुमाएपछि छटपटीमा छ । तरपनि, सत्ताबाट बाहिरिएपछि जनतालाई गोलबन्द गर्ने र पार्टी निर्माणमा दृढतापूर्वक लाग्ने काममा तीब्रता आउने माओवादी नेताहरुले बताइरहेका छन् । जसका लागि माओवादीले सरकारमा हुँदा गरेका कामको प्रचार गर्नुपर्नेमा जोड दिइएको छ । तर, प्रतिपक्षमा पुगेको माओवादीले अबको संसदीय भुमिका र अन्य राजनीतिक गतिविधि कसरी अघि बढाउछ बन्ने विषयमाथि प्रष्ट परिदृष्य देखिसकेको छैन । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update