काठमाडौं । हैजा एक व्यक्तिबाट अर्कोमा निकै छिटो सर्ने जिवाणु हो । त्यसैले पनि हैजा एक व्यतिmमा देखिनु नै जोखिमपूर्ण मानिन्छ । हैजाले ज्यानै लिन सक्ने जोखिम उच्च हुन्छ । त्यसमाथि पनि टेकु अस्पतालमा उपचाररत हैजाका तीन जना विरामी भागेका छन् ।
तीव्र संक्रामक अनि उच्च जोखिमयुक्त हैजा संक्रमितहरु नै भागेपछि झन् काठमाडौं उपत्यकामा यसले प्रकोप नै निम्त्याउन सक्ने विश्लेषण भइरहेका छन् । महामारीको प्रकोप ल्याउन सक्ने हैजाबाट जोगिन के गर्ने ? संक्रमण भइहाले के गर्नु पर्छ त ?
काठमाडौंमा हैजाका विरामी भेटिएको तत्थ्य बाहिरिएसँग यसले अब महामारीको रुप लिने त होइन ? चिन्ताको विषय बनेको छ । तर, यसबेला सर्तकताको विशेष आवश्यकता छ । हैजा एक व्यक्तिबाट अर्कोमा निकै छिटो सर्ने र ज्यानै लिनसक्ने जोखिम भएकाले पनि जनस्तरबाट सजक हुनु चिकित्सकको सुझाव छ ।
प्रत्येक वर्ष वर्षायामसँग हैजाको जोखिम हुने गर्दछ । भिब्रिओ कोलेरा नामक ब्याक्टेरिया मिसिएको पानी वा खाना खाँदा हैजा संक्रमण हुने गर्दछ । हैजा गराउँने ब्याक्टेरिया प्राय फोहर पानीको स्रोत, काँचो फलफूल, तरकारी लगायतमा हुने गर्दछ । जसका कारण मनसुनको समयमा पानी शुद्धीकरण गरेर पिउँनु पर्ने काँचो फलफूल सफा पानीमा राम्रोसंग पखालेकार खानुपर्ने जस्ता कुरामा ध्यान दिन आवश्यक भएको चिकित्सक बताउँछन् ।
समयमै उपचार नगर्ने हो भने हैजाले स्वास्थ्य अवस्था गम्भीर बनाउँने मात्र नभएर ज्यान समेत लिने गर्दछ ।
हैजाका लक्षणहरु
– पखाला लाग्ने
– वाकवाकी लाग्ने, बान्ता हुने
– शरीरमा पानीको मात्रा कम हुने
– थकाइ लाग्ने
– मुख सुक्खा हुने
– पिसाब कम लाग्ने
नेपालमा हैजाको विगत र वर्तमान
– सरकारी रेकर्ड अनुसार नेपालमा हैजा पहिलो पटक सन् १८२३ मा देखियो
– नेपालमा सबै भन्दा बढि महामारीको रुप सन् २००९
– सन् २००९ मा जाजरकोटमा हैजाको प्रकोप
– ५ सय भन्दा बढिको मृत्यु
– सन् २०१४ रौतहटमा संक्रमण फैलदा ६ सय भन्दा बढी मानिस संक्रमित
– २०७९ असार २ गते काठमाडौं बागबजार बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि
– अहिले पुनः काठमाडौं उपत्यकामा हैजा संक्रमित पुष्टि
हैजाबाट जोगिन के गर्ने ?
– सरसफाईमा ध्यान दिने
– राम्ररी पाकेको खानेकुरा मात्र खाने
– बासी, सडेगलेका खानेकुरा नखाने
– तरकारी तथा फलफूल काँचै नखाने, राम्रोसँग पखालेर, पकाएर मात्र खाने
– पानी उमालेर अथवा शुद्धीकरण विधि प्रयोग गरेर मात्रै पिउने
– पखाला लागिरहेमा पुनर्जलीय झोल बनाएर खाने
– स्तनपान गराइरहेको शिशुलाई पखाला लागेमा धेरैपटक स्तनपान गराउने
– अत्यधिक ज्वरो आउने, दिशामा रगत देखिने, दिनमा पाँचपटकभन्दा बढी पखाला लाग्नेजस्ता जटिल लक्षण देखिएमा तत्कालै स्वास्थ्य संस्थामा गएर उपचार गराउँने