News 24 Television
बागमती सरकारमा पहिलो पटक कांग्रेस नेतृत्व

मकवानपुर । केन्द्रमा आएको सत्ता समीकरणको फेरबदलसँगै यतिबेला एमाले र कांग्रेस गठबन्धन सरकार गठनकोे चटारोमा छन् । केन्द्रको सत्ता फेरबदलसँगै बागमती प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकार गठन भएको छ । 

मंगलबार नियुक्त भएका मुख्यमन्त्री बहादुरसिंह लामासहित अन्य मन्त्रीहरुले बुधबार पद तथा गोपनियताको सपथ लिए । १३ सदस्यीय मन्त्रीपरिषद्मा १० जना नियुक्त हुँदा तीन मन्त्रीको टुंगो लगाउन भने बाँकी छ । 

देश संघीयतामा गएको झण्डै ७ बर्ष बित्दै गर्दा बागमती प्रदेश सरकारको नेतृत्व गर्ने अवसर कांग्रेसले पहिलो पटक पाएको छ । केन्द्रमा बनेको कांग्रेस–एमाले सत्ता गठबन्धनको भागवण्डा अनुसार कांग्रेसले बागमतीको नेतृत्व गर्ने अवसर पायो  । 

जसअनुसार कांग्रेसका बहादुर सिंह लामा बागमतीको मुख्यमन्त्रीमा नियुक्त भए । मंगलबार नियुक्त भएका मुख्यमन्त्रीले बुधवार पद तथा गोपनियताको सपथ लिए । सपथ दिएलगत्तै  एमालेका ६ र कांग्रेसका तीन मन्त्रीले पनि पद तथा गोपनियताको सपथ लिँदा कांग्रेसका मन्त्रीको भने विभागीय जिम्मेवारी तोकिएको छैन । यद्यपि, पहिलो पटक आफूहरुले प्रदेशको नेतृत्व गर्ने अवसर पाएको कांग्रेसले यसलाई भरपूर सदुपयोग गरेर जनमुखी कामहरु गर्ने जनाएको छ ।  

यता, एमालेको तर्फबाट कृषि मन्त्री प्रकाश श्रेष्ठको नेतृत्वमा ६ जना मन्त्री, लामा नेतृत्वको क्याविनेटमा सहभागी भएका छन् । जसमा कृषि मन्त्रालयमा प्रकाश श्रेष्ठ, उद्योग मन्त्रालयमा शुकमाया तामाङ, भौतिक मन्त्रालयमा अमन कुमार मास्के, वन मन्त्रालयमा कृष्ण सिलवाल, स्वास्थ्य मन्त्रालयमा किरण थापा र श्रम रोजगार तथा यातायात मन्त्रालयमा प्रेमभक्त महर्जनले पद तथा गोपनियताको शपथ लिएका छन् । आफूले नेतृत्व गरेर सरकार सहभागी भएको भन्दै एमालेका मन्त्रीहरुले पाएका मन्त्रालयले जनअपेक्षा अनुसार काम हुने कृषि मन्त्री प्रकाश श्रेष्ठ दाबी गर्छन् । 

१३ सदस्यीय मन्त्रीपरिषद्मा मुख्यमन्त्रीसहित १० मन्त्री नियुक्त भैसकेका छन् । १० सदस्यीय मन्त्रिपरिषद्मा एक जना महिलाले मात्रै मन्त्री बन्ने अवसर पाएकी छन् । एक जना महिला मन्त्रीका लािग पनि निकै संघर्ष खेप्नुपरेको नवनियुक्त मन्त्री शुकमाया तामाङको प्रतिक्रिया छ ।  

सहमतिअनुसार बागमतीमा कांग्रेसका तीन मन्त्री नियुक्त हुन बाँकी छ । बाँकी मन्त्री नियुक्त गरिएपछि विना विभागीय मन्त्रीको जिम्मेवारी तोक्ने मुख्यमन्त्रीको तयारी छ । 

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update