News 24 Television
दुर्घटनाबारे छानविन गर्न समिति गठन, राष्ट्रिय झण्डा आधा झुकाइने

काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम शुरु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका पाइलटको उपचारी जारी हुँदा त्रिवि शिक्षण अस्पतालमा भने अवस्था भावविह्वोल बनेको छ । यता, सरकारले दुर्घटनाबारे छानविन गर्न जाँचबुझ आयोग गठन गर्दै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय नै गरेको छ । 

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज उड्को केहि समयमै दुर्घटनाग्रत बन्यो । जहाज पूर्णरुपमा क्षति हुँदा १८ जनाले ज्यान गुमाए भने दुर्घटनामा क्याप्टेन मनिष शाक्य बाच्न सफल भए । 

विमानमा सवार रहेका १८ जनाको शव जलेर पहिचान हुन नसक्ने अवस्था भएका कारण शवको पहिचानका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शिक्षण अस्पताल लगिएका १८ शव मध्ये दुई जनाको मात्र शव सनासत भएको छ । 

साथै बाँकी १६ जनाको शव जलेर पहिचान गर्न नसकिएका शवहरुको पोष्टमार्टम प्रक्रियामा बुधवार बेलुकाबाटै सुरु गरिएको त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक विभागले जनाएको छ । 

विमान दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शवको पोस्टमार्टमको प्रक्रिया केहिदिन सम्म चल्नेछ । तर, आफन्तहरु अस्पताल परिसरमा भावुक अवस्थामा छन् । 

विमान दुर्घटनामा ज्यान गुमाएकाका आफन्तले अस्पताल परिसर भरिभराउ जस्तै बन्न पुगेको छ भने आफन्तका आखा रसाएका देखिन्छन् । 

विमान दुर्घटनापछि बसेको आकस्मिक मन्त्रिपरिषद्को बैठकले दुर्घटनाबारे विस्तृत जाँच गर्न आयोग गठन गर्ने निर्णय गरेको छ । सरकारले नेपाल नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको जानकारी दिएको छ । 

दुर्घटनाबारे छानविन गर्न आयोग गठन गरेको सरकारले शोकका लागि बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय समेत गरेको बताइएको छ ।  

विमान दुर्घटनाबारे छानविन गर्न बनेको समितिले सरकारलाई ४५ दिनको समय दिइएको छ भने आयोगले दुर्घटनाबारे विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ । विमान दुर्घटनाले मुलुक नै शोकमा डुबेको छ भने विमानमा रहेका यात्रु र सी चेकका लागि पोखरा जाँदै गरेको विमानलाई उडान अनुमति दिएको विषयमा समेत सार्वजनिक रुपमै प्रश्न उठेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update