News 24 Television
सडक दुर्घंटनाको डरलाग्दो तथ्य, सडक सुधारमा छैन ध्यान

काठमाडौं । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार मुलुकभर दैनिक ९७ वटा सडक दुर्घटना हुने गरेको छ  भने औसतमा ७ जनाको मृत्यु हुने गरेको छ ।

सडक दुर्घटनाको यो डरलाग्दो अवस्था हो । अझ, त्रिशूलीमा हराएका दुई बस र यात्रु हराएको दुईसातासम्म पनि नभेटिनुले सर्वसाधारणमा भय सिर्जना गरेको छ । 

सडक दुर्घटना हुँदा धेरैजसो घटनामा चालक दोषी देखिने भए पनि धेरै कारणहरू जेलिएर आउने सडक सुरक्षा विज्ञहरूले औल्याएका छन् । 

नारायण–मुग्लिन सडक खण्डको सिमलतालस्थित सिँदुरेगैरामा १२ दिनअघि कल्भर्ट नाघेर आएको लेदोमा बगेर बेपत्ता भएका दुई यात्रुबस अझै भेटिएको छैन । ३ यात्रुले पौडेर ज्यान जोगाएका थिए । 

अन्य ६२ यात्रु बगाएकोमा खोजीका क्रममा अहिलेसम्म नारायणी नदीको तट र त्रिवेणी गण्डक बाँध क्षेत्रबाट चार महिलाकासहित २५ शव फेला परेका छन् । त्रिशूलीमा हराएका दुई बस र यात्रुको खोजीमा नेपाली सेना १४, नेपाल प्रहरी ५६ र सशस्त्र प्रहरी बल नेपालका एक सय २६ जना सुरक्षाकर्मीले खोजी कार्य गरिरहेका छन् । 

यही साउन ५ गतेदेखि १२ जना भारतीय गोताखोरहरू समेत परिचालन भएपनि अपेक्षित नतिजा आउन सकेको छैन । सिमलतालदेखि घुमाउने केराबारीसम्म तीन किलोमिटर दूरीमा खोजी कार्यलाई केन्द्रीत गरिएको छ । न अहिलेसम्म बस भेटिएको छ, न बाँकी यात्रु नै । 

धमिलो पानी, नदीमा जलसतहको उच्च गतिका कारण अपेक्षित सफलता नमिलेको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार संसदलाई जानकारी गराएका थिए । 

नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मौवाखोला–मुग्लिन सडकमा दुर्घटना भइरहन्छन् । अधिकांश दुर्घटनामा सवारीसाधन सोझै त्रिशूलीमा खस्छन् । कतिपय सवारीसाधन नदीमै हराउँछन् । दुर्घटना हुनुको प्रमुख कारण भूगर्भीय जोखिम हो । पहिरो जाने र सो क्षेत्रमा ढुंगा खसिरहनुले पनि जोखिम बढाएको छ । 

दोस्रो सो क्षेत्रमा सडक सुरक्षाका लागि बेरियरहरू लगाइएका छैनन् । जसका कारण सवारीसाधन सोझै नदीमा खस्छन् । जानकारहरूका अनुसार सडक निर्माणको काम नसकिनुले पनि दुर्घटना बढाइरेहको छ भने भिजिविलिटी कम भएका कारण पनि दुर्घटना बढिरहेकेको छ । नालीको कमजोर बनावट, लेन मार्किङमा वेवास्ता गरिएको छ । यी कमजोरीहरूमा सुधार गर्नुपर्नेमा विज्ञको जोड छ । 

घुमाउरो सडक र चालकको लापरबाहीका कारण सो सडक खण्डमा दुर्घटना बढेको जानकारहरू बताउँछन् । रातको समयमा तीव्र गति र चालक निदाउने कारण पनि साधन बढी दुर्घटनामा पर्ने गरेका छन् । 

दुर्घटनामा घाइते भएका परिवारले पनि ठुलो धनराशि गुमाउनुपरेको र पीडा झेल्नुपरेको अवस्था छ । अब पनि सडक सुरक्षा सुधारका लागि जनचेतना र सडकको अवस्था सुधारमा तत्काल बृहत्तर पहल नगरिए यस्ता दुर्घटनाहरु बारम्बार भइरहनेछन् । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update