News 24 Television
राष्ट्रिय परिचयपत्रको आतंक, पर्सामा थामिनसक्नु भीड

पर्सा । जसपा सांसद एवम् पूर्वमन्त्री वीरेन्द्र महतोले आइतबार संसदमा बोल्दै पाठ्यक्रम विकास केन्द्र सानोठिमीबाट छोराको समकक्षता पत्र लिन जाँदा आफूले ५ हजार घुस दिनु परेको बताएका थिए । जिल्ला प्रकाशन कार्यालय पर्सामा पनि कर्मचारीले घुसबिना काम नगरेको सेवाग्राहीले गुनासो गरेका छन् । अधिकांश काममा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि प्रशासनमा सेवाग्राहीको भीँड बढेको छ तर सेवा भने सहज नभएको गुनासो सेवाग्राहीको छ । 

जिल्ला प्रशासन कार्यालय पर्साको नागरिक बडापत्रमा सेवाग्राहीको काम सकिन कति समय लाग्छ ? भन्ने उल्लेख छ । तर प्रशासनमा सेवा लिन भने सहज छैन । प्रशासनमा विचौलियाको विगबिगी बढेको सेवाग्राहीको गुनासो छ । विचौलिया मार्फत सेवा लिन सकिने तर कर्मचारीबाट सेवाग्राहीले सहज रुपमा प्रत्यक्ष सेवा पाउन सकि रहेका छैनन् । नागरिकता बनाउनको लागि वडा कार्यालयमा सिफारिस लिन जाँदादेखि नै सेवाग्राहीहरुलाई विचौलियाहरुले पछ्याउने गरेका छन् । नागरिकतादेखि राष्ट्रिय परिचयपत्र बनाउने क्रममा समस्या देखिएको उनीहरुको गुनासो छ । 

गाउँ गाउँबाट आएका वृद्धवृद्धाहरु महिनौदेखि नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय धाउने गरेको बताएका छन् । महिनौदेखि धाइरहेका सेवाग्राहीको फाइल नै हराउने गरेको उनीहरुको भनाई छ । आफ्नो फाइल कोसँग रहेको र कुन कागजात कमी भएको भन्ने समेत उनीहरुले जानकारी पाउन सकेका छैनन् । 

तर जिल्ला प्रशासन कार्यालयले भने सेवाग्राहीको काममा आफूहरुबाट कुनै ढिलासुस्ती नभएको दाबी गरेको छ । एकदेखि दुई दिनभित्र सेवाग्राहीहरुले नागरिकता लिने गरेको प्रशासनको दाबी छ । केही कागजात कमि भएकोमा २÷४ दिन समय लाग्ने भए पनि सबै कागजात भएकाले कुनै समस्या नभएको प्रशासनको भनाई छ । सरकारले जेष्ठ नागरिक भत्ताको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरे पश्चात भीडभाड बढेकोले केही ढिलाइ भएको हुन सक्ने प्रशासनको स्वीकारोक्ति छ । 

राष्ट्रिय परिचयपत्रको लागि जिल्ला प्रशासन कार्यालय पर्सामा ४ वटा काउन्टरबाट सेवा प्रवाह भइरहेको छ । जिल्लाको १४ पालिकामध्ये ७ वटा पालिकामै ७ जना कर्मचारी राखेर सेवा दिइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जेष्ठ नागरिकलाई पालिकाबाटै सेवा दिने गरिए पनि उनीहरु जिल्ला प्रशासनमै आउने गरेकाले चाप बढेको प्रशासनले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update