News 24 Television
रविलाई जोगाएको भन्दै प्रहरीसँग बचतकर्ता आक्रोशित !

कास्की । पोखराको सुर्यदर्शन सहकारीको ठगी प्रकरणमा आबद्ध थप २५ जनाविरुद्ध कास्की प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीपीडितले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितका व्यक्ति र कम्पनी गरि १८ जनाविरुद्ध किटानी पुरक जाहेरी दिएका छन् । तर उनीहरुविरुद्ध भने पक्राउ पूर्जी जारी गरिएको छैन ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीले थप २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्यो । तर नाम नै किटेर दिएको पुरक जाहेरीलाई प्रहरीले बेवास्ता गरेको पीडितको गुनासो छ । सुर्यदर्शन बचत पीडित संघर्ष समितिले २०८० माघ २२ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ४ जना र १४ वटा कम्पनीको नामसहित किटानी पुरक जाहेरी कास्की प्रहरीलाई बुझाएको थियो । नाम सहितको किटानी पुरक जाहेरी बुझाउँदा पनि अनुसन्धान भइरहेछ भनेर टार्नु कास्की प्रहरीको अनुसन्धानमा शंका पैदा भएको समितिको आरोप छ । तर कास्की प्रहरीले भने २०८० माघ १६ गते पीडित संघर्ष समितिले दिएको नाम किटान नभएको निवेदनलाई लिएर त्यसैलाई अनुसन्धान अगाडि बढाएको बताएको छ । 

यतिखेर कास्की प्रहरीले सूर्यदर्शन सहकारीसहित ७ सहकारीको ठगी मुद्दाको अनुसन्धान गरिरहेको छ । तर कसैबाट जाहेरी नपरेको र नाम सहितको किटानी जाहेरी नै नपरेको भनी प्रहरीे अभिव्यक्ति दिने गरेको भन्दै पीडितहरु आक्रोशित बनेका छन् । अनुसन्धानलाई आलटाल गर्न प्रहरीले यस्तो अभिव्यक्ति दिने गरेको संघर्ष समितिको आरोप छ । ’पुरक जाहेरी दिएको आधारमा प्रतिवादी बनाउने हो भने रवि लामिछाने सहित पक्राउ पुर्जी जारी गरेर थप अनुसन्धान थाल्नु पर्ने उनीहरुको भनाई छ । तर प्रहरीले यसो नगरेको भन्दै उनीहरु प्रहरी अनुसन्धानप्रति नै सशंकित छन् ।  

कास्कीमा मात्रै ७ सहकारीका ४५ हजार भन्दा बढी पीडित रहेका छन् । बचत रकम हिनामिना गर्ने जो कोहीलाई छिटो भन्दा छिटो कानूनी दायरामा ल्याउन विभिन्न आन्दोलन समेत भइरहेको अवस्थामा कास्की प्रहरीको तदारुकता भने फितलो देखिएको छ । त्यसैले कास्की प्रहरीले अनुसन्धानको दायरा बढाई सहकारी पीडितहरूलाई छिटो भन्दा छिटो न्याय दिलाउन जरुरी छ । 

प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ०९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update