News 24 Television
ओलीको प्रशंसा पछाडि देउवाको खतरनाक डिजाईन !

काठमाडौं । सत्ता उलटफेर पछि पनि वामपन्थी दल नै सरकारको नेतृत्वमा रहेको छ । बचनमा इमान्दार नेता मानिने कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय मुलुकको प्रधानमन्त्री चयनका लागि मुख्य भूमिका खेल्ने पात्र बनिरहेका छन् । तर, संविधानले नै उनलाई प्रधानमन्त्रीका रुपमा कुरिरहेको बेला देउवा किन अलमलमा परिरहेका छन् ? के देउवा इमान्दार र बोलिको पक्का नेता नै हुन् ?

कांग्रेस सभापति शेरबहादुर देउवासँग २०७८ सालमा रहेको जनमतले प्रतिपक्षी बेन्चमा बस्न निर्देश गरेको थियो । तर, प्रतिपक्षमा बस्ने स्थितिको जनमत रहेका समय उनले प्रधानमन्त्रीको कुर्सीमा बस्न पाए । 

वामपन्थी बाहुल्यता रहेकै बेला प्रधानमन्त्रीको पदमा पुगेका देउवा भाग्यमानी नेतामात्रै कहलिएनन्, प्रधानमन्त्री बनिदिनुप¥यो भन्दै अन्य दलका नेताहरु उनीसामु पुग्नुपर्ने माहोल पनि देखे । तत्कालीन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि देउवाले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकारको नेतृत्व गरे । 

उनलाई माधव नेपाल–प्रचण्डको समूहले अन्तिमसम्मै दह्रो साथ दियो पनि । त्यसपछि चुनावी गठबन्धन बन्ने बेला भद्र सहमति गर्दै आलोपालो सत्ता नेतृत्वको सहमति जुट्यो । त्यो सहमति पालना हुनेमा प्रचण्ड–माधव कत्तिपनि बिचलित थिएनन् । तर, २०७९ को निर्वाचनपछि सहमति पालनाको उल्टो देउवाले प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न उचित ठानेनन् । एमाले अध्यक्ष केपी ओलीले बालकोटबाट देउवालाई निरन्तर इशारा गरिरहे । 

सत्ताको नेतृत्व दिने भन्दै देउवालाई झुलाइरहे । तर, देउवा यस्तो स्थितिमा पनि संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री बन्ने रहर पालेर बस्न थाले । फलतः ओलीले २०७९ पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउदै देउवालाई जिल्लाए । देउवा प्रचण्डलाई धोका दिने सोच्दासोच्दैको अवस्थामा सत्ताबाट बाहिरिन पुगेका थिए । 

त्यसपछि शुरु भएको राजनीतिक दाउपेचमा कहिले प्रचण्ड त कहिले ओलीलाई प्रधानमन्त्री स्वीकार्दै देउवाको राजनीति अघि बढिरहेको छ । यस परिवेशकै बीच अहिले फेरि देउवाले संसदमा ओलीप्रति गहिरो विश्वास व्यक्त गरेका छन् । 

देउवाले ओलीप्रति विश्वास व्यक्त गरेपनि कांग्रेसवृत्तमा ओलीमाथि आशंका भने देखिन्छ । 

ओलीले सत्ता हस्तान्तरण गर्न आनाकानी गर्छन् कि भन्ने डर पालिरहेका छन् । कांग्रेस नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले ओलीमाथि शंका गरिरहेका छन् ।

कांग्रेसले सहमतिमा आफ्नो इमान्दार प्रयास हुने दाबी गर्दै गर्दा ओलीले पनि चलाखी भने अपनाएका छन् । सहमतिको पहिलो कार्यकाल दुई बर्ष हुने विषय सार्वजनिक भएकै विषय हो । 

यस्तोमा ओलीले दुई वर्षसम्म आफ्नो सत्ता सुरक्षित राख्नकै लागि देउवा पत्नी आरजु राना देउवालाई सरकारमा सहभागी गराएका छन् । आरजुमाथि अनेक विवाद र आरोप लागेपनि ओलीले त्यो दोष बोकेरै उनलाई सत्तामा लैजानुपर्ने विषयलाई रणनीतिक रुपमा अघि सारेका छन् । तर, देउवामाथि अहिले विभिन्न किसिमले सहानुभूति प्रकट हुने र इमान्दार नेताको ट्याग लगाउनेक्रम चलिरहेको छ । 

यस्तोमा देउवा आफ्नै कारणले अहिले सत्ता नेतृत्वभन्दा पनि अरुलाई नेतृत्वमा पु¥याउने लाइनमा पुगेको विश्लेषण हुन थालेको   छ । तर, सविधानको धारा ७६ को उपधारा ३ अनुसार ठूलो दलको नेताको हैसियतले प्रधामनन्त्री बन्ने ढोका खुला भएपनि देउवाले कुरिरहेको सहज सत्ता नेतृत्व हात लाग्ला ? शंका छ । 

देउवालाई इमान्दार नेता भनिएपनि उनी सत्ताका चलाख खेलाडी पनि हुन् । तर, पछिल्लो समय अरुलाई प्रधानमन्त्री बनाउनुपर्ने स्थितिमा पुगेका देउवा ओलीसँगको सत्ता सहकार्यमा पर्याप्त समय देलान् ? वा ओलीको यो बीचको रणनीति कस्तो रहने  छ त्यस अनुसार देउवाले मुड बदल्लान् ? अहिले नै भन्न नसकिने विश्लेषण भइरहेको छ । 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  ०६:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update