काठमाडौँ । गुरु पूर्णिमाको अवसर पारेर सिद्धार्थ बनस्थली इन्स्टिच्युटबाट २०४७ सालमा एस.एल.सी दिएका पूर्वविद्यार्थीहरुले आफुलाई पढाउने शिक्षकहरुलाई सम्मान गरेका छन् । गुरु/गुरुआमाहरुले प्रदान गरेको ज्ञानकै कारण आफूहरुले धेरै सफलता प्राप्त गर्न सकेको भन्दै उनीहरुले सम्मान गरेका हुन् । सम्मान पाउने गुरुको सूचीमा निवर्तमान उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि रहेका छन् ।
हरेक विद्यार्थीको जीवनमा अन्धकार हटाउँदै शिक्षाका माध्यमबाट उज्यालो भर्ने काम शिक्षक शिक्षिका अर्थात् गुरु/गुरुआमाले गर्छन् । पछिल्लो समय नेपालमा शिक्षा क्षेत्रमा रहेका गुरुगुरुआमाहरु राज्यबाटै समेत उपेक्षित छन् । उनीहरुको पेशा प्रति राज्यले दिनु पर्ने सम्मान दिन सकेको अवस्था छैन ।
यस्तो अवस्थामा काठमाडौंस्थित सिद्धार्थ बनस्थली इन्स्टिच्युटबाट २०४७ सालमा एस.एल.सी उतिर्ण गरेका विद्यार्थीहरुले गुरु पूर्णिमाको अवसरमा आफूलाई अध्यापन गराएका गुरुहरुलाई सम्मान तथा अभिन्दन गरेका छन् । यस्तो सम्मान पाउनेमा माओवादी नेता तथा पूर्वमन्त्री नारायणकाजी श्रेष्ठ पनि थिए । गुरु/गुरुआमाहरुलाई आफ्नो पेशा प्रति गर्व लागोस् भन्ने उद्देश्यले सम्मान गरिएको उनीहरुले बताए ।
विभिन्न क्षेत्रमा स्थापित भएका आफ्ना पूर्वविद्यार्थीहरुले वर्षौपछि सम्झिदाँ आफुहरुलाई खुशी लागेको सम्मानित पूर्वशिक्षक-शिक्षिकाले बताए । यस्ता सम्मानले गुरु शिष्यबीचको सम्बन्धको महत्वलाई पनि उजागर गर्ने उनीहरुको भनाइ छ ।
सम्मानित हुनेहरुमा पूर्वमन्त्री नारायणजीसहितका २० जना पूर्वशिक्षक-शिक्षिकाहरु रहेका छन् । सम्मान कार्यक्रममा करिब सय पूर्वविद्यार्थी भेला भएका थिए ।