News 24 Television
दोलखा भीमसेनलाई पसिना : अनिष्टको संकेत !

काठमाडौँ । दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आउँदा मुुलुकमा कुनै न कुनै अनिष्ट हुँदै आएको जनविश्वास छ । ९० सालमा पहिलोपटक भीमेश्वरलाई पसिना आउँदा नेपालमा महाभूकम्प आएको स्मरण गरिएको छ । त्यतिबेला तत्कालिन राजाबाट नै क्षमापूजा गर्ने गरिएको थियो । गणतन्त्र स्थापनापछि भने राष्ट्रपतिबाट क्षमापूजा गरिँदै आएको छ । यसपटक पनि शिलाबाट पसिना आउँदा सरकारी निकायकै संलग्नतामा धार्मिक विधि अनुष्ठानअनुसार पूजा गरिएको छ । 

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा रहेको भीमेश्वरको शिलामा शनिवार दिउँसो पसिना आएको छ । विभिन्न समयमा यो शिलामा पसिना आउँदा कुनै न कुनै अनिष्ट हुने गरेको स्थानीयले स्मरण गर्ने गरेका छन् । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने प्रचलन रहि आएको छ । शनिवार दिउँसो १ बजेर ४७ मिनेटको समयमा भीमेश्वरको शिलाबाट पसिना आएको मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।  

मन्दिरमा पसिना आएपछि अनिष्ट हुने भएको मन्दिरका पूजारीले ब्यवस्थापन समितिलाई जानकारी गराएका थिए । मन्दिरमा पसिना आएपछि नित्य पूजासमेत रोक्ने गरिन्छ । भीमेश्वरको शिलामा पसिना आउँदा कुनै न कुनै अनिष्ट हुने गरेको मन्दिरका पूजारी काशीनारायण श्रेष्ठले स्मरण गरेका छन् । 

भीमेश्वरको शिलामा पसिना आउँदा राजनीतिक परिवर्तन लगायत कुनै न कुनै घटनाहरु भएको स्थानीय जनप्रतिनिधिहरुले पनि स्मरण गरेका छन् । भीमेश्वरलाई पसिना आएपछि मन्दिरको प्रसाद राष्ट्रपति कहाँ पु¥याउने र राष्ट्रपतिबाट क्षमा पूजा गर्ने प्रचलन रहेको नगरपालिकाका प्रमुख ईश्वर नारायण मानन्धर बनाउँछन् ।  

९० सालपछि पनि विभिन्न समयमा भीमेश्वरको शिलामा पसिना आएको स्थानीयले बताउँदै आएका छन् । डेढ दर्जन भन्दा बढी पटक पसिना आएको र हरेक पटक कुनै न कुनै अनिष्ट भएको विश्वास स्थानीयले गर्दै आएका छन् । एक शिला तीन अवतार मानिने दोलखा भीमसेनको शिलामा पसिना आएपछि त्यसको प्रसाद आइतबार शितल निवासमा पठाउने तयारी मन्दिर ब्यवस्थापन समितिले गरेको छ । धार्मिक प्रचलन कै रुपमा रहिआएकोले स्थानीय अधिकारीहरुले पनि यसलाई अस्वीकार गर्न सक्दैनन् । त्यसैले जिल्ला प्रशासनकै समन्वयमा मन्दिरको महाप्रसाद राष्ट्रपति समक्ष ल्याएर राष्ट्रपतिबाटै क्षमा पूजा गर्ने प्रचलन रहि आएको छ । 

यो वर्ष पनि असार पहिलो साताबाट मुलुकभर भीषण पानी परिरहेको छ । जल तथा मौसम विभागले यो वर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान गरेको छ । वर्षाले अहिलेसम्म ठूलो क्षति पू¥याइसकेको छ । ८ दिनअघि नारायणघाट–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको २ वटा बस र त्यसका यात्रुहरु भेटिएका छैनन् । भीमसेनको शिलामा पसिना आउँदा ठूलै अनिष्ट हुने धार्मिक विश्वास रहेकाले क्षमा पूजाले अनिष्ट पार गर्छ कि अरु नै ठूलै अनिष्ट हुने हो त्यो भने चासोको विषय बनेको छ । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update