News 24 Television
बाग्मतीमा जम्मकट्टेलको कुर्सी नजोगिने निश्चित   

काठमाडौँ । केन्द्रमा बनेकोे नयाँ सत्ता समीकरणको असरले प्रदेश सरकारहरुको पनि फेरबदल र भागवण्डा सुरु भएको छ । केन्द्रमा माओवादी नेतृत्वको सरकार ढलेसँगै एमालेको नेतृत्वमा कांग्रेस लगायतका दलहरु मिलेर नयाँ सरकार बन्यो । सोही समीकरण अनुसार बागमती प्रदेश सरकार गठनका लागि एमालेले माओवादी नेतृत्वको सरकारलाई अल्पमतमा पारेको थियो । अल्पमतमा परेका बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले प्रचण्डको बाटो समाउँदै आइतबार विश्वासको मत लिन लागेका हुन् । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिदैँछन् । गत असार २४ गते नेकपा एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिन लागेका हुन् । यसअघि तीनपटकसम्म विश्वासको मत लिएर सत्ता जोगाएका उनलाई चौथो पटक भने सत्ता गुम्ने निश्चित छ । यता, नयाँ सत्ता समीकरणको सरकार बनाउन लागेको एमालेले आफ्ना सांसदलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ भने अन्य दललाई समेत विपक्षमा मतदान गर्न अनुरोध गरेको छ । 

नेपाली कांग्रेसले पनि मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । हाल कांग्रेस माओवादी नेतृत्वको सरकार जोगाउनेतर्फ नलागेर नयाँ सत्ता समीकरणको सरकार गठनमा लाग्ने कांग्रेसको दाबी छ । प्रदेश सभामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र हाम्रो नेपाली पार्टीलाई समेत विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसले भनेको छ । 

केन्द्रको निर्णयअनुसार प्रदेशमा पनि यता, विश्वासको मतमा मुख्यमन्त्री आफै विश्वासिलो देखिदैनन् । सत्ता जोगाउन आवश्यक ५६ मत नपाउने निश्चित देखेपछि मुख्यमन्त्री आपैmले कुनै दलहरुसँग विश्वासको मत नै नमागेको उनी स्वीकार गर्छन् । 

पटक÷पटक विश्वासको मत लिएर सत्ता जोगाएका मुख्यमन्त्री जम्मकट्टेलको विश्वास मतको संख्या घट्दो क्रममा छ । जम्कट्टेलले २०७९ माघ ३ गते पहिलो पटक विश्वासको मत लिदा नेमकिपा बाहेक ६ दलको समर्थन पाएका थिए । दोश्रो पटक २०७९ चैत्र १० मा दोश्रो पटक विश्वासको मत लिने क्रममा मुख्यमन्त्री जम्कट्टेलले ६७ मतमात्र प्राप्त गरे भने तेस्रो पटक २०८० चैत्र १९ मा विश्वासको मत लिएका उनले मुस्किलले ५६ मत बटुलेर सत्ता जोगाएका थिए । तर अब भने जम्मकट्टेल उक्त विरासत जोगाउन सक्ने पक्षमा छैनन् । माओवादी, हाम्रो नेपाली पार्टी र नेकपा एसले साथ दिए भनेपनि जम्मकट्टेलले विश्वासको मत नपाउने अवस्था छ । 

 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update