News 24 Television
न्यूरोडमा ‘केपी कनेक्सन’, चुनौति चिर्न तयार बालेन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाह र एमाले अध्यक्ष केपी शर्मा ओलीका आ–आफ्नै फरक विशेस्ता छन् । हाल दुवै कार्यकारी भूमिकामा रहेपनि ओली केही दिन अघि मात्रै मुलुकको प्रमुख कार्यकारी पद प्रधानमन्त्रीमा नियुक्त भएका छन् । यता मेयर बालेन भने मुलुककै सबैभन्दा ठूलो माहनगरको प्रमुख पदमा आसिन छन्। 

खासगरी भर्खरै प्रधानमन्त्री नियुक्त भएका ओली र मेयर बालेनमा यही कार्यकारी प्रमुख हुनु बाहेक अन्यमा कुनै समानता छैन । 

उनीहरुको कार्यगत शैली र तरिकामा पनि धेरै भिन्नता छ । ओली र बालेनको राजनीतिक पृष्ठभूमिसमेत फरक छ । ओली संगठनात्मक र दलको आडमा छन् । बालेन स्वतन्त्रबाट निर्वाचित महानगर प्रमुख हुन् । जसका कारण ओलीलाई दल र कार्यकर्ताप्रतिको स्वार्थ जगाउन सक्छ । तर बालेनमा नगरबासीको हित बाहेक अन्य स्वार्थ देखिँदैन । यही कारण नीति कार्यान्वयन र विकासका कार्य अघि बढाउँदा ओली–बालेनबीच ‘वार’ चल्ने गरेको छ ।  तर पनि महानगरका मेयर बालेन कुनै शक्ति र नेतृत्वसँग डगमगाउँदैनन् । 

दुई फरक विशेस्ता भएका ओली र बालेनबीचको वाकयुद्ध सुरुका दिनबाटै चल्दै आएको छ । ओली प्रवित्ति र कार्यशैलीलाई पटक्कै नरुचाएका बालेनले धरहरालाई सेतो टावर भन्नेदेखि गिरीबन्धु प्रकरणसम्म ओलीलाई धपाइरहे । यसमा ओली आँफैले पनि बालेनविरुद्ध आवेगसहित जवाफ दिने गरेका छन् । बालेनको तर्कलाई ओली खुद्राको संज्ञा दिन्छन् ।          

बालेन महानगर प्रमुखमा निर्वाचित भएदेखि नै बाग्मति किनारका सुकुम्बासी बस्ती हटाउन चाहन्थे । तर केन्द्र सरकारको विरोध र अवरोधका कारण बालेनले उक्त बस्ती हटाउन सकेनन् । सुकुम्बासी बस्ती हटाउने बालेनको निर्णयलाई ओलीले पनि सँधै विरोध गरिरहे ।

गिरीबन्धु प्रकरणका साथै अन्य विविध आरोपकाबीच ओली अहिले प्रधानमन्त्री भएका छन् । यही समय उता बालेनले भने आफ्नो योजना कार्यान्वयन गर्ने दुई मुद्धामा जितेका छन् । तरपनि ओली र बालेनबीचको संघर्ष रोकिनको साटो झन झन चर्किएको छ । 

खासगरी न्यूरोडको फुटपाथ विस्तारको विषयले एमाले र बालेनबीच विवाद झन चर्काको हो । विगतमा ओलीले नै विरोध गरेका सुकुम्बासी बस्ती हटाउने र न्यूरोडको सडक पेटी विस्तार गर्ने कदमको पक्षमा अदालतले आदेश दिएको छ । 

यसमा बालेनले केन्द्र सरकारसँगै ओलीविरुद्ध पनि कानूनी जित निकालेका छन् । उच्च अदालत पाटनले न्यूरोडको सडक पेटी विस्तारको काम महानगरको माग अनुसार अघि बढाउन अन्तरिम आदेश दिइसकेको छ । जबकी यसअघि डिभिजन सडक कार्यालय काठमाडौले यस कार्यलाई अवरोध गरेको थियो । 

जुनबेला यातायात मन्त्रालयको नेतृत्वमा एमालेकै रघुविर महासेठ थिए । अर्कोतर्फ सुकुम्बासी बस्ती हटाउने विषयमा पनि अदालतबाट बालेनकै पक्षमा आदेश आएको छ । जबकी ओलीले सुकुम्बासी बस्तीमा डोजर लगाइएको प्रति घोर भत्र्सना गर्दा आएका छन् । केही दिन अघि आएको यी दुवै आदेशपछि मेयर बालेनलाई एक कविता फुरेको थियो । 

सत्यको कुनै एउटा पहिचान, कुनै नाम हुँदैन ।
मिथ्याको जस्तो ठूलो अभिमान, कुनै शान हुँदैन....

यो कवितासँगै बालेनले सडक डिभिजनबाट रोकिएको फुटपाथ बढाउने काम अघि बढाएका थिए । तर बुधबारबाट थालिएको यो काम स्थानीय र केही राजनीतिक दलका कार्यकर्ताले अवरोध गरे । 

एमालेबाट निर्वाचित वडाध्यक्षले उक्त अवरोध गर्ने समूहको नेतृत्व नै गरिरहेका छन् । न्यूरोडको सडक विस्तारको विषयमा वडा २२ का अध्यक्षले यसअघि देखि नै असन्तुष्टि जनाउँदै आएका थिए । 

सुरुवाती दिनहरुमा काम सुचारु हुँदा वडाध्यक्षबाहेक अन्य कसैले यसको विरोध गरेका थिएनन् । तर अहिले स्थानीय तथा व्यपारीहरुसमेत फुटपाथ विस्तारको विरोधमा उत्रिएका छन् । तर महानगरले यसलाई पनि दलिय स्वार्थसँग जोड्दै आएको छ । खासगरी एमाले निकट कार्यकर्ता र नेताहरुले नै यो कार्यमाथि अवरोध गरिरहेको महानगरको बुझाइ छ । 

महानगरले एमालेविरुद्धको आरोप यतिमा मात्रै सिमित गरेको छैन । ठेक्का आह्वान हुन अघि नै सडकको फुटपाथ बढाउने र सडकलाई ७ मिटरको बनाउने विषयमा सम्बन्धित ३ वटा वडालाई पत्राचार गरेको समेत स्पष्ट पारेको छ । तर उक्त पत्रमा कुनै उत्तर र प्रतिक्रिया नआएकोले सम्पूर्ण प्रक्रिया सकेर काम थालनी हुँदा एकाएक अवरोध हुनुलाई महानगरले अझ शंकास्पद भनेको छ । 

हाल न्यूरोडको सडक १३ मिटरको छ । तर सर्वसाधारण्लाई अवतजावतमा समस्या हुने गरेका गुनासो आएपछि महानगरले केही महिना अघिबाटै सडकलाई ७ मिटरमा घटाउने र फुबपाथ बढाउने योजना लिएको थियो । तर बीचमा केन्द्र सरकारले नै अवरोध गरेपछि काम रोकिएको थियो । यद्यपि अदालतको आदेशपछि महानगरले पुनः यो काम अघि बढाएको हो । 

तर फेरि एमालेबाट निर्वाचित वडाध्यक्षकै नेतृत्वमा फुटपाथ विस्तार कार्यमा अवरोध गरेपछि महानगर त्यसको प्रतिवाद गर्ने स्थितिमा पुगेको छ । यस अवरोधमा केही स्थानीय र जनप्रतिनिधि देखिएपनि यसको मुख्य परिचालक एमाले नेतृत्व नै रहेको महानगरको ठम्याइ छ । तसर्थ विगतबाटै भइरहेको एमाले अध्यक्ष ओली र मेयर बालेनबीचको ‘वार’ न्यूरोडसम्मै पुगेको भन्न कठिन छैन। तर मेयर बालेन जुनसुकै शक्तिको अघि पनि नझुक्ने रणनीतिका साथ कुनै पनि हालतमा आफ्नो योजना सम्पन्न गर्ने लक्ष्यमा छन् ।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  ०६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update