News 24 Television
बालेनविरुद्ध वडाध्यक्ष चिनीकाजी, आन्दोलनको नेत्तृत्व गरेर आफै सडकमा 

काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारी र स्थानीय अगुवाबीच वार्ता भइरहँदा जुद्ध सालिक सडकमा नगरप्रहरी र स्थानीयको घम्साघम्सी परिरह्यो । ठूलो मात्रामा नगरप्रहरी र नेपाल प्रहरी परिचालन गरिएको भन्दै स्थानीय र व्यापारीहरु पसल बन्द गरेर आन्दोलनमा उत्रिए । वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जन भने वार्तामा नगई सडकबाटै आन्दोलनको नेत्तृत्व गरिरहे ।

फुटपाथ विस्तार नरोक्न सडक विभागको नाममा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएपछि महानगरले बुधबारदेखि फुटपाथ विस्तारको काम पुन शूरु गरेको हो । महानगरले फुटपाथ विस्तार गरेपछि स्थानीय भने आन्दोलनमा उत्रिएका छन् । अझ रमाइलो त के भने स्थानीयको विरोध प्रदर्शनमा वडा नंवर २२ का वडाध्यक्ष चीनीकाजी महर्जनले नेत्तृत्व गरिरहेका छन् । अदालतको आदेशपछि पनि किन बिरोध भन्ने प्रश्नमा वडाध्यक्ष महर्जनले खासै प्रतिक्रिया दिन चाहेनन् ।

तर अनौपचारिक कुराकानीमा भने उनले काठमाडौंका मेयर बालेन्द्र साह ‘बालेन’ले एकलौटी निर्णय गरेर समन्वय नगरेको आरोप लगाए । यता, मेयर बालेनको सचिवालयले भने फुटपाथ विस्तार पूर्वयोजना भएकाले कानूनको पालन गरेको दाबी गरेको छ । गत असोजमा तीन वटा वडालाई टेण्डरको प्रक्रियामा जान लागेको जानकारी गराइएको भएपनि वडाअध्यक्षहरूले प्रतिक्रिया दिएका थिएनन् । नगरसभामा वडा अध्यक्षहरू राष्ट्रिय र अन्तराष्ट्रिय मापदण्ड अनुसार फुटपाथ विस्तारमा सहमत भएपनि आन्दोलनमा उत्रिएका हुन् । जनताको हितका लागि काम गर्दा पनि सरकारले असहयोग गरेको मेयर बालेनको सचिवालयले भने गुनासो गरेको छ । 

वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले अफ्नो नेतृत्वमा आन्दोलन गराएपनि उच्च अदालत पाटनले अन्तरिम आदेशमा स्पष्ट भनिएको छ ‘स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने ।’ यसरी अन्तरिकम आदेशसँगै अदालतले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेसँगै महानगरले तत्काल वडा–२४ मा काम सुचारु गरेको थियो । तर, २२ नं का स्थानीय भने महानगरले सडक विभागसँग मात्रै मुद्दा जितेको तर असन्तुष्ट पक्षसँग होइन भन्दै नाराबाजीमा उत्रिएका हुन् ।  

अन्तराष्ट्रिय मापदण्डलाई हेर्न हो भने पनि फुटपाथ कम्तिमा व्हीलचेयर गुड्ने हुनुपर्छ । तर, हाल लफडा भइरहेको न्यूरोडको फुटपाथमा भने मानिसका दुईबटा खुट्टा पनि अट्दैनन् । यस्तोमा महानगरले अघिसारेको फुटपाथ विस्तारको योजनालाई न्युरोड गेटदेखि जुद्धसालिक र इन्द्रचोकसम्मको सडक प्रयोग गर्नेले पैदल यात्रीहरूले सर्मथन गरेका छन् । यस्तोमा महानगरले स्थानीयसँग समन्वय गर्दै नागरिकको निर्धक्क हिड्ने अधिकार सुनिश्चित गर्न आवश्यक छ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update