News 24 Television
बंगलादेशमा बिजुली वेच्दै नेपाल, के छ तयारी ?

काठमाडौं । नेपाल सरकारले साउन दोस्रो साता काठमाडौंमा नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापार सम्झौता गर्ने तयारी गरेको छ । बुधबार भारत र बंगलादेशलााई नवनियुक्त उर्जा मन्त्री दिपक खड्काले पत्र पठाउँदै विद्युत सम्झौताका लागि निम्तो पठाई सकेका छन् । नेपालबाट बंगलादेशमा विद्युत निर्यात गर्ने सरकारको तयारी कस्तो छ त ?

नेपाल र बंगलादेशबीच साउन १३ गते विद्युत व्यापार सम्झौता गर्ने तयारी छ । यसका लागि उर्जा मन्त्री दिपक खड्काले भारतका विद्युत मन्त्री मनोहर लाल र बंगलादेशका विद्युत, उर्जा र प्राकृतिक स्रोत राज्यमन्त्री नसरुल हमिदलाई सम्झौताका क्रममा उपस्थित हुन पत्र पठाएका छन्् । १३ गते गरिने भनिएको सम्झौता पछि ढल्केबरबाट भारतको मुजफ्फरपुर हुँदै बंगलादेशको भेरमारा नेपालले विजुली पठाउने छ । 

नेपालको पूर्वी सीमाबाट बंगलादेश छोटो दूरीमा विजुली पठाउन सक्ने भएपनि उक्त क्षेत्रमा प्रशारण लाईन निर्माण नभएकाले ढल्केबरबाट बंगलादेश ४ सय किलोमिट दूरी पार गरी विजुली पुग्ने छ । यसबापत नेपालले एक यूनिट विद्युतबापत् ६.४ अमेरिकी सेन्ट अर्थात् झन्डै ८.५० नेपाली रुपैयाँ प्राप्त गर्ने छ । 

सम्झौतापछि नेपालले प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म पाँच वर्षसम्म बंगलादेशलाई ४० मेगावाट जलविद्युत् निर्यात गर्ने छ । यो विद्युत निर्यातबाट नेपालले प्रत्येक महिना ३२ करोड रुपैयाँ आम्दानी गर्ने छ ।

सम्झौता र विद्युत निर्यात कसरी हुन्छ ?  

नेपालबाट पठाउने विजुली काठमाडौंमा नेपाल विद्युत प्राधिकरण, भारतको एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएन र बंगलादेशको पावर डेभेलपमेन्ट बोर्ड (बीपीडीबी) बीच सम्झौता हुने छ । 

सम्झौता अनुसार एनभीभीएनले नेपाली बिजुली बंगलादेश पु¥याउँछ । एनभीभीएन नेपाली विद्युत बंगलादेश पु¥याउने नोडल एजेन्सी हो । उसले नेपाली बिजुलीलाई बंगलादेशसम्म पु¥याएबापत निश्चित कमिशन र ह्वीलिङ चार्ज लिने छ । 

जुन रकम बीपीडीबीले एनभीभीएनलाई तिर्ने छ । तीनदेशबीच हुन लागेको यस्तो सम्झौता दक्षिण एसियामै पहिलो हो । यो सम्झौता भइसकेपछि दक्षिण एसियाली देशले भारतीय पावर ग्रिडमार्फत् विद्युत व्यापार गर्नेछन् ।  

नेपाललाई कति फाइदा ? 

डलरमा सम्झौता भएका कारण बंगलादेशलाई बिक्री गर्न लागेको बिजूलीको मूल्य हाल भारतमा नेपालले बिक्री गरेको भन्दा महँगो पर्न आउने जानाकारवालहरु बताउँछन् ।  

नेपालबाट पठाईने विद्युत चिलिमे जलविद्युत आयोजना र त्रिशूली जलविद्युत केन्द्रबाट उत्पादित बिजुली हो । नेपालमा पछिल्लो समय बिद्युत आयोजना तिव्ररुपमा निर्माण भइरहेका छन् । 

अहिल भइरहेकै गतिमा आयोजना निर्माण सम्पन्न हुँदा केही वषभित्रै नेपालको आवश्यकताभन्दा धेरै विद्यूत उत्पादन हुने छ । यस्तो अवस्थामा नेपालको विद्युत व्यापारका लागि बंगलादेश उपयुक्त विकल्प हुन्छ । बंगलादेशले चरम उर्जा संकट व्यहोर्दै आएको छ । त्यहाँ दैनिक १२ घण्टासम्म लोडसेडिङ छ । 

जसका कारण त्यहाँको नागरिकको दैनिक जीवनयापनदेखि उद्योग कलकारखाना समेत प्रभावित छ । उर्जा संकटकै कारण बंगलादेशका राजनीतिक दलहरुले नेपालबाट विद्युत लगेर आफ्नो उर्जा संकट हटाउने चुनावी घोषणपत्रहरुमा समेत उल्लेख गर्ने गरेका छन् । यसबाहेक २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट बिद्युत लैजाने रणनीतिक योजना नै बनाइसकेको छ । 

यो सँगै नेपाल र बंगलादेशबीच ६८३ मेगावाटको सुनकोसी ३ जलाशययुक्त आयोजना बनाउने विषयमा छलफल समेत सुरु भइसकेको छ । साउन १४ र १५ गते पोखरामा हुने दुई देशीय छलफलमा यो आयोजना निर्माणको मोडालिटी टुंग्याउने तयारी भएको छ । 

बंगलादेशसँग ४० मेगावाट विद्युत निर्यात गर्ने सम्झौता ठूलो नभएपनि यसले भारतबाहेक अर्को देशसँग पनि नेपालले विद्युत व्यापार गर्न सक्छ भन्ने बाटो खोलिदिएको छ भने विद्युत अयाोजनाहरुमा ठूलो लगानी गरिरहेका स्वदेशी लगानीकर्तालाई पनि यसले हौसला बढाएको छ । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  ०७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update