News 24 Television
सबै मन्त्री असफल भएको स्वास्थ्य मन्त्रालयमा प्रदीपको परीक्षा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएसंगै नयाँ मन्त्रीहरु पनि नियुक्त भइसकेका छन् । नयाँ सरकार गठन भएसंगै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले पाएका छन् । युवा नेतासमेत भएका कारण स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयमा के कस्तो भूमिका निर्वाह गर्छन्, चासोमा रहेको छ । तर वषौदेखि जकडिएको स्वास्थ्य क्षेत्रको बेथितिको सुधारमा मन्त्री पौडेल सफल होलान् भन्नेमा भने आशंका छ । 

स्वास्थ्य मन्त्रीको पद सम्हालेसंगै मन्त्री प्रदिप पौडेलले स्वास्थ्य क्षेत्रमा देखिएका विभिन्न समस्या समाधानतर्फ चासो देखाउन थालेका छन् । मन्त्री नियुक्त भएलगत्तै उनले मन्त्रालयका सचिवसहित विभिन्न महाशाखाका प्रमुखहरुसँग पहिलोपटक भेट गर्दा मन्त्रालयको समस्या भन्दापनि समाधानको योजना बनाउँन आग्रह गरे । सरकारी अस्पतालमा सेवा लिन लाइन बस्न नपर्ने गरी दीर्घकालिन रुपमा काम गर्ने समेत उनको योजना रहेको छ । विभिन्न समस्याको खोजी गर्दै र त्यसको समाधानमा मन्त्री पौडेलले देखाएको चासो र तत्परताले स्वास्थ्य क्षेत्रको सुधार हुने अपेक्षा गर्न थालिएको छ । 

मन्त्री पौडेलले स्वास्थ्यमा चासो देखाएका विषयहरू

-    स्वास्थ्य बीमा सुधार 
-    सरकारी अस्पतालमा विद्यमान समस्या समाधान
-    स्वास्थ्य जनशक्ति व्यवस्थित गर्ने
-    रोग लाग्नै नदिन सचेतनामूलक सामग्रीमा जोड दिने 

हुन त मन्त्री पौडेल अघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीहरुले पनि स्वास्थ्य क्षेत्रको कायापलट गर्ने दाबी नगरेका होइनन् । तर जतिपनि स्वास्थ्य मन्त्री भएका छन् उनीहरुको दाबी अनुसार केही पनि सुधार हुन सकेको छैन । मन्त्री पौडेल अघि स्वास्थ्य मन्त्री बनेका प्रदिप यादवको करिब डेढ महिने कार्याकाल मन्त्रालयको बारेमा बुझ्दाबुझ्दै सकियो । 

यादवभन्दा अघि उपेन्द्र यादव, मोहन बस्नेतले अलि लामै समय मन्त्रालय हाँके । तर उनीहरु पनि सम्झन लायक एउटै काम नगरी मन्त्रीबाट बिदा भए । मन्त्री कार्यकालभरी यादवले डुलुवा मन्त्रीको उपमा पाए भने बस्नेत अनेक सेटिङमै व्यस्त बने । हाल स्वास्थ्य मन्त्री बनेका पौडेललाई कांग्रेस महामन्त्री गगन थापाको समर्थन छ । थापा पूर्व स्वास्थ्य मन्त्री समेत हुन् । थापाले आफु मन्त्री हुँदा दीर्घरोगीको पक्षमा केही राम्रा निर्णय कार्यान्वयन गराएका थिए । मन्त्री थापाकै पदचाप पछ्याउँदै पौडेलले पनि केही सुधारको नतिजा दिन सक्ने धेरैको अपेक्षा छ । 

 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update