News 24 Television
एसर्ईईमा चरम लापर्वाही, ए प्लस ल्याएका विद्यार्थी कसरी भए फेल ?

काठमाडौँ । यस बर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सरकारले नयाँ लेटरग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७ सय ८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै पास भए । ५२ प्रतिशत २ लाख ४२ हजार ३ सय १३ जनाको ननग्रेडेड अर्थात अनुर्तिण भएका थिए । तर अनुर्तिण भएका धेरै विद्यार्थीको उत्तरपुस्तिका पुनर्योग गर्दा ए, बी, बी प्लसदेखि ‘ए’ प्लस ल्याएको भेटिएको छ । यसले परीक्षणमा कतिसम्मको लापर्वाही छ भन्ने पुष्टि गरिदिएको छ । 

०६७००६८७ सिम्बोल नम्बरमा भएका विद्यार्थी बोर्डले प्रकाशित गरेको नजिता अनुसार अनुर्तिण भए । अर्थात माथिल्लो कक्षामा पढ्न अयोग्य हुने भन्दै एक बिषयमा एनजी आयो । उनी आफु फेल हुनै नसक्ने लागेर पुनर्योग अर्थात (रिटोटलिङ) को लागि आवेदन दिए । नतिजा आयो– ए प्लस । 

यस्तै, ०३४०१२२७ सिम्बोल नम्बर भएका विद्यार्थी पनि बोर्डको नतिजा अनुसार अनुर्तिण भए । उनको पनि एक बिषयमा एनजी आयो । पुनर्योग गराउदा ए प्लस, ४ जीपिए नै देखियो ।  

यी विद्यार्थी जस्तै अहिलेसम्मको पुनर्योगको नतिजाअनुसार नन ग्रेडेड अर्थात एनजी आएकादेखि २ दशमलव ८ जीपिय आएका ५९ जना विद्यार्थीको ४ जीपिए आएको छ । एनजी आएका २ सय ८२ जना विद्यार्थीको नतिजा परिवर्तन भई उर्तिण भएका छन् ।
 
यस बर्षदेखि पास हुन ३५ नम्बर नै ल्याउनु पर्ने प्रावधान राखेपछि ४८ प्रतिशत विद्यार्थी मात्र उर्तिण भएको नतिजा प्रकाशित भएको थियो । तर माथिल्लो कक्षा पढ्न नपाउने गरी नतिजा आएको विद्यार्थीले पनि पुनर्योग गर्दा राम्रो ग्रेडका साथ उर्तिण भएको पाईएको छ । तर परीक्षा नियन्त्रण कार्यालय आफ्नो गल्ती स्वीकार्न तयार छैन । बरु नम्बर जोड्दा शिक्षकबाट र धेरै अङ्क इन्ट्री गर्दा, नम्बर जोड्दा  र केही टाइप गलत अङ्क गर्दा नतिजा फरक पर्न गएको दाबी गरेको छ ।  

परीक्षा बोर्डले नियमित तथा ग्रेड वृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरूले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझि पुनर्योग गराउन चाहेमा अनलाइन फाराम भरी असार ३१ गते सम्ममा निवेदन दिन आग्रह गरेको थियो । अनलाईन माध्यमबाट रिटोटलिङका लागि फारम भर्न पाउने व्यवस्था भएकाले यस बर्ष करिव २० हजार विद्यार्थीको आवेदन परेको छ । बोर्डले अहिलेसम्म ४ हजार ३ सय विद्यार्थीको मात्रै नतिजा सार्वजनिक गरेको छ । नतिजा परिवर्तन भएर आउनु भनेको परीक्षा प्रणालीमा एकदम लापरबाही भएको अभिभावकहरुको भनाई छ । 

कुनै उत्तर पुस्तिकाको नतिजा विद्यार्थीलाई चितबुझेन भने पुनर्योग गर्न पाउने कानूनी व्यवस्था छ । उत्तरपुस्तिका विद्यार्थीले हेर्न पाउने र पुनः उत्तरपुस्तिका परीक्षण गर्न पाउने व्यवस्था २०७६ सालदेखि लागु गरेको छ । 

उत्तर पुस्तिका विद्यार्थीले नै हेर्न पाउने प्रावधान भए पनि अहिलेसम्म पुर्नर्योग मात्रै गर्ने गरिएको छ । यो भनेको पुनः परीक्षण नभई परीक्षणका क्रममा दिइएको अंक मात्रै जोड्ने हो । यसरी अंक मात्रै जोड्दा पनि ठीक जोड्न नसक्ने शिक्षकले उत्तरपुस्तिकाको परीक्षण कस्तो ग¥यो भन्ने मुख्य प्रश्न हो । एसईईको यहि नतिजाकै कारण केही विद्यार्थीले आफ्नो ज्यान नै फालेका छन् । विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षाको नतिजा प्रकाशितमा यस्तो लापरवाहीबाट घटेका घटनाको जिम्मेवार कसले लिने ? 

प्रत्येक वर्ष विद्यार्थीहरूको रिटोटलिङमा सधैं परिवर्तन भएर आउनु भनेको उत्तरपुस्तिका परीक्षणमा गैरजिम्मेवार नै हो । जसको भागिदार उत्तरपुस्तिक परीक्षण गरेका ब्यक्ति हुनुपर्छ । लार्पवाहीपूर्ण परीक्षण गरेका शिक्षकलाई कारबाही गरिनु जरुरी छ । जसले गर्दा आगामी दिनमा गल्ती नदाहोरियोस् । ००० 

 


 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update