News 24 Television
पुँजी बजार २८ महिनापछि उच्च विन्दुमा, निजी क्षेत्रको निराशा चिर्ने चुनौती

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले कार्यभार सम्हालेको साता दिन नबित्दै उनीप्रतिको क्रेज अचम्मले बढ्दो छ । पुँजी बजारमा ‘बुल’का आइकन नै मानिएका पौडेल जबजब अर्थमन्त्री बन्छन् तब पुँजी बजारमा रौनक छाउँछ । यसपाली पनि शेयर बजार मापक नेप्से परिसूचक २८ महिनायताकै उच्चा बिन्दूमा पुगेको छ भने कारोबार रकमले समेत उचाइ चुम्दै गएको छ । बुधबार १२ अर्बभन्दा बढीको कारोबार भएको शेयर बजारमा बिहीबार १५ अर्ब नाघेको छ । अर्थमन्त्रीमा विष्णु आउने हल्लासँगै बढ्न थालेको बजार उनले अर्थमन्त्रीको शपथ लिएको भोलिपल्ट मंगलबार ७०.१८ अंकले बढेको थियो । बुधबार ५४ अंक र बिहीबार ५९ अंकले बढेर नेप्से २४२४ को विन्दुमा पुगेको छ । यससँगै लगानीकर्तामा उत्साह र आशा सञ्चार भएको छ ।

अर्थमन्त्री पौडेलले समग्र पुँजी बजार सुधार र निजी क्षेत्रमा आशा जगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । अहिलेको मुख्य चुनौती भनेकै निजी क्षेत्रको आत्मबल बढाउनु र अर्थतन्त्रमा आशा जगाउनु रहेको उनले बिहीबार बताएका छन् । सिंहदरबारमा नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँगको अन्तरक्रियामा अर्थमन्त्री पौडेलले विश्वास जागृत गर्न नसकेसम्म देश अघि बढ्न नसक्ने बताए । अहिलेको आफ्नो चुनौती भनेकै निराशा चिर्ने र आशा जगाउने रहेको उनको भनाइ छ । निजी क्षेत्रको मनोबल टुटेको खण्डमा सबैकुरा टुट्ने भन्दै उनले बजारको माग, उत्पादन, क्रय शक्तिको वृद्धि गर्न सरकारले ध्यान दिने बताए ।

अर्थमन्त्री पौडेलले आफूहरु सिंहदरबारमा फोटो टाँस्नका लागि मात्रै सरकारमा नआएको समेत बताए । उनले सरकारको सूचीमा अर्को एउटा सरकार बनाउने र प्रधानमन्त्रीको सूचीमा अर्को फोटो टाँस्नका लागि मात्रै सरकारमा सहभागी नबनेको जिकिर गरे । हुन त विगतका सबैजसो मन्त्री, प्रधानमन्त्रीले भन्ने राजनीतिक थेगो नै हो– फोटो टाँस्नका लागि मात्रै नआएको भन्ने कुरा । तर अहिले मुलुक आर्थिक अप्ठेरोमा रहेका बेला दुई ठूला दल मिलेर बनाइएको सरकारप्रति नागरिकले केही आशा राखेका छन् । यो कुरा स्वीकार गर्दै अर्थमन्त्री पौडेलले अहिले देश साँच्चै नै अफ्ठ्यारो स्थितिमा रहेको बताउँदै त्यो खराब स्थितिबाट मुक्ति दिलाउनकै लागि आफू सरकारमा आएको बताए । उनले मुख्य दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाउन नहुने तर्कका बीचमा पनि अहिले दुई ठूला राजनीतिक दल मिलेर नगए सबै क्षेत्रमा टुटेको मनोबल उठाउन कठिन हुने स्थितिका कारण आफूहरु मिल्नुपरेको बताए ।

अर्थमन्त्री पौडेलसँगको भेटमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अहिलेको अर्थतन्त्र तत्काल चलायमान बनाउन वर्किङ क्यापिटल गाइडलाइन र असेट क्लासिफिकेशन गाइडलाइन इमिडेट्ली तत्काल खारेज गर्नुपर्ने बताएका थिए । उनले यी दुई गाइडलाइन खारेज नगरी अर्थतन्त्र चलायमान बनाउन नसकिने बताए । उनले वर्किङ क्यापिटल गाइडलाइनले इण्डस्ट्री, निर्माण क्षेत्रलाई र थोक खुद्रा व्यापारलाई असर गरिरहेको उनको भनाइ थियो ।

निजी क्षेत्रले हरेक अर्थमन्त्रीसँग आफूअनुकुलको आशा र भरोस राखेकै हुन्छ । यसमा निजी क्षेत्रका पनि केही स्वार्थ हुन्छन्, लाभहानिको कुरा हुन्छ । तर निजी क्षेत्रका माग सम्बोधन गर्दै नीतिगत परिवर्तन गर्दा देशको समग्र हितलाई भने बिर्सनु हुँदैन । हुनत अर्थमन्त्री पौडेल स्वच्छ छविका चाहिँ होइनन्, बालुवाटारको सरकारी जग्गाकाण्डमा मुछिएका उनले राजनीतिक आडमा उन्मुक्ति पाए । यस्तै बिचौलिया र दलाल, माफियाहरुका पक्षमा काम गर्ने उदार अर्थमन्त्रीका रुपमा उनको चित्रण समेत हुने गरेको छ । यही छविका कारण उनीप्रति निजी क्षेत्र र दलाल पुँजीपतिहरुको क्रेज बढ्नु स्वाभाविक हो । तर यतिखेर पुँजी बजारका ससाना लगानीकर्तामा समेत अर्थमन्त्री पौडेलप्रति आशा र भरोसा जागेको छ । उनले प्रतिबद्धता जनाए अनुसार काम गर्ने हो भने अर्थतन्त्रमा व्याप्त निराशा चिर्न भने सफल हुने देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  १०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update