News 24 Television
विकट क्षेत्रमा प्रभावकारी बन्दैछ दिवाखाजा कार्यक्रम 

काठमाडौं । सरकारले केही वर्षयता विद्यालय तहमा कक्षा ५ सम्मका लागि दिवा खाजाको ब्यवास्था गरेको छ । दिवा खाजा कार्यक्रमले विद्यालय आउने बालबालिकालाई आकर्षित गरेको छ । 

योसँगै संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले पनि विद्यार्थीहरुका लागि खाजा कार्यक्रम ल्याएको छ । जसले विकट क्षेत्रका सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या बढ्ने अपेक्षा गरिएको छ । 

बिहिवार संयुक्त राष्ट्र संघिय विश्व खाद्य कार्यक्रम, नेपाल सरकार र लायन्स क्लव इन्टरनेशनलबीच नेपालको कर्णाली क्षेत्रका ८ सय विद्यालयमा  दिवा खाजा कार्यक्रम संचालन गर्न ४० लाख डलर सहयोग गर्ने घोषणा भएको छ । 

कर्णाली प्रदेशको जाजरकोट र सुर्खेत जिल्लाका ८ सय विद्यालयमा दिवा खाजा कार्यक्रम संचालन गर्न लागिएको हो । नेपाल सरकारले पनि पछिल्लो पटक बिभिन्न जिल्लाहरुमा स्थानीय उत्पादन, कृषि उपज र ग्रामिण अर्थतन्त्रलाई टेवा पुग्ने उत्पादित बस्तुलाई समेटेर विद्यालय खाजा कार्यक्रमलाई अघि बढाउने प्रतिवद्धता नवनियुक्त शिक्षा मन्त्री बिद्या भट्टराईले ब्यक्त गरेको अवस्थामा दातृ संस्था र स्थानीय तहको सहकार्यमा दिवा खाजा कार्यक्रमको प्रभावकारिता अझ बढेको छ । 

शिक्षा मन्त्रालय, लायन्स क्लव इन्टरनेशनल र विश्व खाद्य कार्यक्रम अन्र्तगत संयुक्त रुपमा ४० लाख डलर सहयोग गर्ने कार्यक्रमको घोषणा गरिएको हो । लायन्स क्लव इन्टरनेशनलका अध्यक्ष फाव्रिसियो ओलिभेराले भोकमरी र खाद्यान्न संकटमा रहेका वालबालिकाहरुलाई लक्षित गरेर कार्यक्रम संचालन गरिएको बताएका छन् ।  

दिवा खाजा कार्यक्रमबाट स्थानीय उत्पादनको प्रर्वद्धन हुनुको साथै ग्रामिण कृषि अर्थतन्त्रको विकासमा सहयोग पुग्ने हुदाँ दिवा खाजा कार्यक्रमलाई अघि बढाइएको विश्व खाद्य कार्यक्रमको भनाई छ । 

सरकारले प्राथमिक तहका विद्यार्थीहरुका लागि पनि दिवा खाजा कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्थानीय उत्पादन तथा कृषि क्षेत्रको जीवन सुधार गर्न पनि विद्यालय खाजा कार्यक्रमलाई प्राथमिकता दिएको सरकारको भनाई छ । 

विद्यालय शिक्षाको विकास तथा प्रवद्धनको साथै नेपालको मौलिक उत्पादन, कृषि, तथा स्थानीय जीवनस्तरको विकासमा बिद्यालय दिवा खाजा कार्यक्रम प्रभावकारी भएको दाताहरुको बुझाइ छ । 

दिवा खाजा कार्यक्रमबाट शिक्षा र जीवनस्तरमा चौतर्र्फी सहयोग पुग्ने कार्यक्रम संयोजक दिनेश श्रेष्ठको विश्वास छ । नेपालका विभिन्न जिल्लाहरुका बिपन्न तथा पिछडिएका क्षेत्रहरुका विद्यालयहरुमा बिद्यार्थी लक्षित दिवा खाजा कार्यक्रमको थप प्रभापकारिताको लागि नेपाल सरकार, स्थानीय तह, दातृ निकायहरु बीचको प्रभावकारी समन्वय भएको अवस्थामा यस्ता कार्यक्रमले मुलुकको बिपन्न बालवालिकाको शिक्षाको विकासमा ठुलो सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update