News 24 Television
३ वर्षदेखि भैरहवा भन्सार कमजोर 

भैरहवा । मुलुकको दोस्रो ठुलो भैरहवा भन्सार कार्यालय, बेलहियाले आर्थिक वर्ष ०८०÷०८१ मा भन्सार विभागले निर्धारण गरेको राजश्व संकलन लक्ष्य पुरा गर्न सकेन् । 

बेलहिया नाका हुँदै हुने आयात खुम्चिँदा राजश्व संकलन लक्ष्य भेट्टाउन भैरहवा भन्सार असफ लबनेको हो । भन्सारले तोकिएको भन्दा ४० प्रतिशत कम राजश्व संकलन गरेको छ । 
 
राजश्व संकलनमा योगदान दिने मुख्य वस्तु आयात नै खुम्चिँदा भैरहवा भन्सार कार्यालयले पछिल्लो तीन आर्थिक वर्षमा लक्ष्यअनुसार राजश्व संलकन गर्न सकेको छैन । आर्थिक वर्ष २०७८–०७९ मा ९१ र ०७९–०८० मा ४९ प्रतिशत राजस्व संकलन गरेको भन्सारले आर्थिक वर्ष २०८०–०८१ मा पनि लक्ष्य भेट्टाउन सकेन । यो वर्ष जम्मा ६३.२४ प्रतिशत मात्रै राजस्व संकलन भएको छ । 

भन्सार विभागले भैरहवा भन्सारलाई २०८०–०८१ मा  १ खर्ब २७ अर्ब ८३ करोड राजस्व लक्ष्य तोकेका थियो । तर भन्सारले भने ८० अर्ब ८३ करोड मात्रै राजस्व संकलन गरेको छ । 

मधेश आन्दोलन र नाकाबन्दीका बेला मुलुकभरका अन्य भन्सार नाका प्रभावित थिए । तर भैरहवा नाका सहज हुँदा आयातकर्ता आकर्षित भए । जसले गर्दा भन्सार राजश्व असुली ह्वात्तै बढ्यो । 

विस्तारै अन्य नाका सहज हुँदा व्यवसायीले पूरानै नाकाबाट आयात गर्न थालेपछि  भैरहवा भन्सारको राजश्व लक्ष्य बृद्धि भइरहेपनि आयात भने घट्दै गयो । त्यस्तै  विगतमा राजश्व संकलनमा मुख्य योगदान दिँदै आएका जिप, कार, भ्यान, मोटरसाइकल, एमएस बिलेट््, जिडेल, मोबाइल, मार्बल जस्ता मुख्य बस्तु आयात आर्थिकमन्त्री सुरुभएसँगै घटेको छ । 

विभागले भैरहवा भन्सारलाई २०७९–०८०मा १ खर्ब ५५ अर्ब ६० करोड राजश्व संकलन लक्ष्य तोकेकोमा ७६ अर्ब ८९ करोड मात्रै संकलन भएको थियो । ०७८–०७९ मा १ खर्ब २७ अर्ब लक्ष्य पाएकोमा भन्सारले १ खर्ब १५ अर्ब ८७ करोड राजश्व संकलन गरेको थियो । 

भन्सार विभागले आर्थिक वर्ष २०८१–०८२ मा भने विगतको तुलनामा लक्ष्य केही घटाएर भन्सारलाई १ खर्ब ९ अर्ब लक्ष्य तोकेको छ । मुलुकको समग्र भन्सार राजश्व संकलनमा भैरहवा भन्सार कार्यालयको योगदान करिब १२ प्रतिशत छ । तर, पछिल्ला तीन वर्षमा भने राजश्व असुली घट्दा मुलुकको राजश्व लक्ष्य नै प्रभावित परेको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update