News 24 Television
रहस्यमयी त्रिशुली नदी, साता वित्दा पनि किन भेटिएनन् दुई बस ? 

काठमाडौं । त्रिशुली नदीमा बेपत्ता दुई बस अझै फेला परेका छैनन् । असार २८ गते बिहान काठमाडौंबाट रौतहटतर्फ जाँदै गरेको गणपति डिलक्स र वीरजन्जबाट काठमाडौं आइरहेको एन्जल डिलक्स बस अझै फेला परेका छैनन् । बिहान ३ बजेतिर भारी वर्षासँगै आएको पहिरोले दुवै बस त्रिशुली नदीमा बगेका थिए । 

पहिरोले बेपत्ता दुवै बसहरु लगातार ७ दिनसम्म खोजी गर्दा पनि अझै नभेटिएका हुन् । बस पहिरोले बगाउँदै गर्दा झ्यालबाट हामफालेर ३ जना यात्रुले भने ज्यान बचाएका छन् । तर उक्त बसमा सवार ६० बढी यात्रुहरु अज्ञात थिए । जसमा बुधबार सम्म १९ जनाको शव नदीकै विभिन्न स्थानमा भेटिएको छ । यद्यपि अन्य यात्रुहरुको भने अवस्था अझै अज्ञात रहेको छ । 

 टिकट काउन्टरका अनुसार एन्जल डिलक्समा ३८ र गाणपति डिलक्समा २७ यात्रु सवार थिए । तर टिकट नगरी बाहिरबाट बसमा यात्रा गर्ने अन्य यात्रुहरु पनि रहेको अनुमान सहित पनि गरिएको छ । जसका कारण उक्तबसमा पाँच दर्जनभन्दा बढी यात्रु रहेको दावी गरिएको छ । भेटिएका १९ शवहरुमध्ये ११ जना उक्त बसहरुकै यात्रु रहेको पुष्टि भएपनि केही शवहरुको भने सनाखत हुन सकेको छैन । 

दुर्घटना भएको दिन शुक्रवार बिहानबाटै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उद्धार तथा बेपत्ताको खोजि कार्य थालेका थिए । तरपनि हालसम्म आशातित परिणाम प्राप्त गर्न हुन सकेको छैन ।

जसकारण सरकाप्रति आम नागरिकहरु रुष्ट छन् । यद्यपि सशस्त्र प्रहरी बलले भने बेपत्ता बस र यात्रुका खोजीका लागि सकेसम्मको पहल गरेको दावी गरेको छ । विभिन्न उच्चतम प्रविधि प्रयोग गरेर बेपत्ताहरुको खोजी गर्दा पनि सफलता प्राप्त गर्न नसकेको सशस्त्र प्रहरीको भनाइ छ । 

त्रिशुली नदीमा लेदोसहितको बाढी आएका कारण बस र यात्रुको खोजीमा सफलता प्राप्त गर्न नसकेको खोजीमा जुटेका सशस्त्र प्रहरीको दावी छ । त्यस्तै त्रिशुली नदीको गहिराई र आवरणका कारण पनि खोजीका लागि प्रहयोग भएका प्रविधिहरुले सुखद नतिजा नदिएकोे बताइँदै आएको छ । 

लेदो कम  भएकोे र पानी केही मात्रामा संग्लिएको खण्डमा पनि गोताखोर टोली नदीमा गएकोे र ड्रोन क्यामेरा प्रयोगबाट खोज्न सक्ने अवस्था भएपनि अझै आशातित नतिजा आउन सकेको छैन । नदीमा बेपत्ताको खोजीका लागि रिबन मेथड, अण्डर वाटर ड्रोन र सोनार डिभाइस गरी तीन वटै विधि प्रयोग गरिएपनि प्रभावशाली हुन सकेन । 

यस्तोमा भारतबाट विज्ञ र अन्य देशहरुबाट गोताखोर टोली ल्याएर खोज्दा सुखद परिणाम आउने भन्ने विषय नेपालको परिवेशमा मेल नखाने सशस्त्र प्रहरीको दावी छ ।  समुन्द्रमा खोज्ने गोताखोर टोली र नेपालको त्रिशुली लगायतका नदीमा खोज्ने कुरा फरक रहेको सुरक्षा निकायकै प्रष्टोक्ति छ । 

सुरक्षा निकायले यतिबेला बेपत्ता बस नभेटिनुमा केही कारणहरु पनि अघि सारेको छ ।  जस्तो पहिलोमा, पानीले बगाउँदै जाँदा कुच्चीएर बसको आकार परिवर्तन भइ नचिनिनु, नदीले बसलाई बगाएर धेरै टाढा लैजानु अथावा नदी भित्रका विभिन्न चट्टान र खोँचमा बस अडिएको हुनसक्ने कारण फेला पार्न कठिन भएको सुरक्षा निकायको निश्कर्ष छ । 
त्रिशुलीको बस खोज्न क्यानिङ सर्भिलेन्स सोनार सिस्टम पनि प्रयोग गरिएको थियो ।  जुन प्रविधिका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्छन् । यद्यपि अहिले त्रिशूलीको पानी लेदोसहितको रहेको  र उच्च बहाबमा बहिरहेकाले उक्त प्रविधिले नै काम गर्न नसकेको विज्ञहरुको भनाइ छ । 

खोजी कार्यमा रहेको सशस्त्र प्रहरी बल टिमका अनुसार हाल त्रिशूलीमा ३०० मिटर गहिराइसम्म देखिने खालको क्यामेरा प्रयोग गरिएको छ । तर उक्त क्यामेराले २÷३ फिट गहिराइसम्म मात्रै काम गरिरहेको छ । 

धमिलो पानीका कारण प्रकाश नै नछिर्ने हुनाले सबै प्रकारका प्रविधिहरुले नै प्रभावकारी कार्य गर्न नसक्दा अपेक्षित नतिजा आउन नसकिरहेको खोजीमा खटिएका सशस्त्र प्रहरी टोलीको दावी छ । 

हुन पनि विगतदेखि नै त्रिशुली नदीमा खसेका अधिकांश यात्रु र सवारी साधनहरु पनि भेटिने गरेका छैनन् । २०७३ सालयता मात्रै पनि ५ भन्दा बढी सवारी साधन र सयभन्दा बढी यात्रुहरु बेपत्ता भएका छन् । ती सवारी साधन र यात्रुहरुको अवस्था अझै अज्ञात छ । जसमा पूर्वगृहमन्त्री माधव घिमिरेसमेत परेका छन् । 

२०७३ असोज ९ गते पूर्वगृहमन्त्री घिमिरेसहित ३ जना सवार स्कारर्पियो त्रिशुली नदीमा खसेको थियो । यसका अलावा बाढी र वर्षा भई नरहेकै अवस्थमा पनि त्रिशुलीमा खसेका कतिपय सवारी समेत नभेटिएका तथ्यहरु छन । 

भर्खरै पहिरोले बगाएका दुई बसहरुको सवालमा भने अत्याधिक पानीको बहाब र लेदो नै प्रभावकारी खोज हुन नसक्नुको कारण बनेको छ । साथै त्रिशुली नदीको विशेस्ता र भौगोलिक बनौटका कारण पनि बेपत्ताको खोजीमा उच्च प्रविधिमाथि नै चुनौति देखिने गरेको हो । 

प्रकाशित मिति: शुक्रबार, साउन ४, २०८१  ०६:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update