News 24 Television
सिरहाको सहजा खोलामा अलपत्र बन्यो पुल निर्माण

 सिरहा । हुलाकी राजमार्ग अन्तर्गत सिरहाको औरही गाउँपालिका–४ गणेशपुरस्थित रहेको सहजा खोलाको पुल निर्माण सुस्त हुँदा स्थानीय बासिन्दा सास्ती भोग्न बाध्य छन् । पुल निर्माणका लागि दक्षिणपट्टि बनाइएको डाइभर्सन पनि बाढीले बगाएपछि खोला वारपार गर्न समस्या छ । जसले गर्दा नजिकै रहेको सिराहा अस्पतालसम्म बिरामी पु¥याउन समेत कठिन भएको छ  । 

यो हो सिराहाको औरही र अर्नमा गाउँपालिका जोड्ने सहजा खोलाको निर्माणाधीन पुल । योे पुल निर्माण कार्य सम्पन्न गर्ने अवधि सकिन पाँच महिना मात्रै बाँकी छ । कुल २५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको सहजा खोलामा आरसिसी पुल निर्माणका लागि जनकपुरस्थित सुगम निर्माण सेवासँग २ वर्षमा सक्ने गरी १६ मंसिर ०७९ मा सम्झौता भएको थियो । तर पुल निर्माण कार्य हालसम्म ३० प्रतिशत मात्र सम्पन्न भएको छ । हुलाकी राजमार्ग दुई लेनमा विस्तार भएसँगै बलान–कमला सडकअन्तर्गत औरहीको इँटाटार गाउँदेखि पश्चिमपट्टि सहजा खोलामा रहेको पुरानो पुल भत्काएर नयाँ पुल निर्माण थालिएको हो । निर्माणाधीन पुलको दक्षिणपट्टि बनाइएको डाइभर्सन पनि बाढीले बगाएपछि वर्षाको बेला आवतजावत गर्न समस्या भएको छ ।  

बाढीले डाइभर्सन बगाएपछि हलुका सवारी साधनहरुलाई समेत आवतजावत गर्न मुश्किल छ । यो बाटोबाट करिब सात किलोमिटरको यात्रामै सदरमुकाम पुगिने भए पनि पुल नवन्दा औरही, बरियारपट्टि, जिरोमाइल, गोलबजार, चोहर्वा हुँदै सिराहासम्म पुग्न ५५ किलोमिटरको दूरी पार गर्नुपर्ने बाध्यता छ ।  

पैदल यात्रु र मोटरसाइकलसम्मका लागि स्थानीय युवाहरूले प्लाइबोर्ड र जस्ता हालेर अस्थायी साँघु े बनाएका छन् । जोखिमका साथ पैदल र मोटरसाइकल वारपार गरिँदै आए पनि यहाँबाट एम्बुलेन्स वारपार हुन सक्दैन । जसले गर्दा तत्काल अस्पताल पु¥याउनुपर्ने प्रसूति, सर्पदंश, उच्च रक्तचापका बिरामीको जीवन जोखिममा परेको छ । त्यसैले स्थानीयको समस्यालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालयले तत्काल निर्माण कार्य अघि बढ़ाउन ठेकेदार कम्पनीलाई ताकेता गरिरहेको छ ।  

सुगम निर्माण कम्पनीले औरही गाउँपालिका– १ दरैहिया गाउँको हुलाकी सडकको बक्स कल्भर्ट र सहजाको पुल गरी भ्याटसहित ११ करोड ५४ लाख १६ हजार ३७ रुपैयाँ १६ पैसाको ठेक्का पाएको हो । ठेकेदार कम्पनीले मोबिलाइजेसनबापत पाँच प्रतिशत र कामबापतको भ्याटसहित तीन करोड ४० लाख ७३ हजार दुई सय ५० रुपैयाँ एक पैसा भुक्तानी लिइसकेर पेटी ठेकेदारको रूपमा धनुषाकै सुप्रिया निर्माण सेवालाई जिम्मा दिएको छ । 

सम्झौता भएको १९ महिनाको अवधिमा पुलको दुईवटा पाइल आधी मात्रै ढलान गरेर वैशाखको अन्तिमतिर हिँडेका पेटी ठेकेदार फर्केर पनि आएका छैनन् । सहजा पुलको ठेक्का सम्झौता अन्तर्गत नै समावेश भएको हुलाकी सडकमा नै पर्ने औरही गाउँपालिका– १ दरहैया चोकसँगै पश्चिमपट्टि रहेको लचकामा बनाइनुपर्ने बक्स कल्भर्ट निर्माणको कामको त झन् कुनै सुरसार देखिदैन । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update