News 24 Television
ओली–देउवालाई काउन्टर दिन समाजवादी मोर्चा व्युझाउँदै प्रचण्ड

काठमाडौं  । सत्तामा रहँदा कांग्रेस र एमालेसँग बार्गेनिङ पावरको रुपमा समाजवादी मोर्चा गठन भएको थियो । सांसद संख्या पुर्याउनकै लागि बाबुराम भट्टराई निषेध गर्दै उपेन्द्र नेतृत्वको जसपा नेपाल मोर्चामा समेटियो । मोर्चा गठनले कांग्रेसलाई समेत झस्काएको थियो । तर मोर्चाको खासै औचित्य देखिएन । अहिले आफू सत्ताच्यूत भएसँगै प्रचण्डले समाजवादी मोर्चालाई पुनः बिउँझाउन खोजेका छन् । तर अहिले भने उपेन्द्र मोर्चाबाट बाहिरिएका छन् भने बाबुरामबाट अलग भएका महिन्द्रा राय यादव नेतृत्वको नेसपालाई प्रवेश गराइएको छ । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकैबेला संसदीय ब्यवस्था नै नमान्ने बताएका नेत्रविक्रम चन्दसहित ४ दलीय समाजवादी मोर्चा गठन भएको थियो । तर मोर्चाका डिजाइनर बाबुराम भट्टराई मोर्चा घोषणा हुँदा ‘रिङआउट’ गरिए ।  कारण थियो, संसदीय अंकगणित । बाबुरामसहित उपेन्द्रलाई समेट्ने प्रचण्डको योजना थियो । तर उपेन्द्र बाबुरामको बाधक बनेपछि मोर्चाको सांसद संख्या ठूलो बनाउनकै लागि उपेन्द्रलाई मोर्चामा समेटियो, प्रचण्ड आउट भए । त्यही मोर्चा मार्फत सरकारको कामको प्रचार गर्न चाहेका थिए प्रचण्ड । सबै प्रदेशहरुमा सहरकेन्द्रित सन्देशसभा गरियो । तर मोर्चाको कार्यक्रममा विप्लव नै हावी भए । 

केन्द्रदेखि स्थानीय तहसम्म नै मोर्चा बनाउने भनिएपछि प्रदेशस्तरीय सभा नसकिँदै मोर्चा निस्क्रियजस्तै बन्यो । आलोपालो नेतृत्व लिने सहमति अनुसार विप्लवले मोर्चाको नेतृत्व पाएपछि मोर्चा सक्रिय बनाउन लागे । तर सोंचेअनुसार सक्रिय हुन सकेन । प्रचण्डको ध्यान पनि यतातिर भएन । तर अहिले सत्ताच्यूत भएपछि प्रचण्ड मोर्चा सक्रिय बनाउन लागेका छन् । अहिले पुनः समाजवादी मोर्चाको डम्फु बजाईरहेका छन् । तर यतिबेला उपेन्द्र मोर्चाबाट बाहिरिसकेका छन् । जसका कारण प्रचण्डको पहिलो गासमै ढुङ्गा लागेको छ । 

हुन पनि समाजवादी मोर्चामा कम्युनिष्ट आन्दोलनमा होमिएका नयाँ भन्दा पनि पुरानै अनुहार बढी छन् । उनीहरु जनमतबाट उदाउने कमै सम्भावना भएकाहरु हुन् । उपेन्द्र बाहिरिएपछि बाबुराम छाडेका महिन्द्रालाई अहिले मोर्चामा समेटिएको छ । 

संगठन निर्माणका बेला मोर्चाबन्दीमा प्रचण्ड

शान्ति प्रक्रियामा आएदेखि सत्तामा लिसो जस्तै टाँसिएका प्रचण्डले पार्टी र संगठन निर्माण तर्फ ध्यान दिएनन् । २०६४ सालको निर्वाचनमा सबै भन्दा ठुलो दल बनेको माओवादी २०७९ को निर्वाचनमा आउँदा पार्टीको अस्तित्व बचाउन कहिले कांग्रेस र कहिले एमालेको बुइ चढे । अहिले तिनै एमाले र कांग्रेसले थचारेपछि पनि प्रचण्डलाई पार्टी संगठन निर्माणमा ध्यान छैन । गाउँ गाउँमा बिग्रिएको जनाधार सुधार गर्दै आत्मालोचना सहित अगाडि बढ्नु पर्ने थियो तर उनले पुनः विगतमा जस्तै मोर्चाबन्दीमै लागेका छन् ।  

आगामी २०८४ को निर्वाचनमा कांग्रेस एमाले गठबन्धन विना नै निर्वाचनमा होमिए भने माओवादीले आधार इलाकामा मानेका सीमित ठाउँ समेत गुम्ने निश्चित छ । त्यसैले उनले समाजवादी मोर्चाको कार्ड फ्याँकेका विश्लेषण हुन थालेको छ । 

अपमानबाट बच्न कि प्रतिपक्ष बलियो देखाउन मोर्चाबन्दी ?

एमालेमा हुँदा केपी ओलीले आफ्नो कुरा नसुनेको, आफुहरुको अपमानित गरेको आरोप लगाउँदै एमाले फुटाउने पात्र हुन् माधव नेपाल । प्रतिनिधि सभामा १० सिट मात्रै रहेको नेकपा एसका अध्यक्ष माधवलाई प्रधानमन्त्री चाहिएको थियो । त्यसैले उनले एमाले माओवादी गठबन्धन र कांग्रेस माओवादी गठबन्धनमा पनि आफुले सम्मान नपाएको धेरै नै गुनासो गर्दै आएका थिए । तर अहिले प्रतिपक्षमा पुगेपछि सरकारमा नेतृत्व गरेका ठुला दुई दलका कारण अझ बढी अपमानि हुने त होइन भन्ने चिन्ता छ । त्यसैले उनी पनि संसद र सडकमा प्रतिपक्षको भूमिका बलियो देखाउन मोर्चा सक्रिय बनाउनुपर्नेमा छन् । प्रतिपक्षमा अर्काे दल रास्वपा पनि छ । 

संख्याका हिसाबले माओवादी भन्दा सानो भए पनि रास्वपाको भूमिका कमजोर बनाउन पनि मोर्चा सक्रिय बनाउन लागेको देखिन्छ । आगामी निर्वाचनसम्म विभाजित माओवादीहरुलाई पनि समेट्दै जान सकिए आकार अझै बढ्ने आंकलन माओवादीको छ । 
 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update