News 24 Television
अदालतको आदेशपछि न्यूरोड भत्काउँदै बालेन 

काठमाडौँ । महानगरपालिकाले गत जेठ ११ गते न्यूरोडमा फुटपाथ सुधार थालेको थियो । तर स्थानीय सरकारको काममा केन्द्र सरकार हावी भयो । 

महानगरपालिकाको काममा डिभिजन सडक कार्यालय, काठमाडौँले अवरोध गरेपछि महानगर अदालत गुहार्न बाध्य बन्यो । यसैबीचमा स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिंचाई समेतका अधिकार स्थानीय तहमा रहने भनी महानगरको पक्षमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएसँगै रोकिएको काम सुरु भएको छ । 

काठमाडौं महानगरपालिकाले पैदल मार्ग सुधारका लागि थालेको काम डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको थियो । तर, उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन बाटो खोलेसँगै महानगरले बुधबारबाट काम थालेको छ । यसअघि महानगरपालिकाले न्यूरोडमा फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर सामान जफत गरेको थियो । 

त्यति मात्र होइन, महानगरपालिकाले फुटपाट विस्तारका लागि भत्काएको कालोपत्रे पनि सडक डिभिजनले रातारात टालेको थियो । कतिसम्म भने सडक विभागले आफूले गरेको जस महानगरले लिएको भन्दै पछिल्लो समय आफ्नो मातहतका सडक छेउका पोलपोलमा स.वि.(सडक विभाग) लेखेको छ । विभिन्न ठाउँमा वर्षौदेखि सडकको काम अलपत्र पार्ने गरेको सडक विभाग काठमाडौं महानगरसँग भने सुँगुरी खेलिरहेको छ । यता, मेयर बालेन्द्र शाह पनि विभागको रिसले राजनीतिक दलका नेताहरु माथि प्रहार गर्न छाडेका छैनन् । न्यूरोडको फुटपाथ विस्तारको विषयमा बालेनको आफ्नै महानगरका जनप्रतिनिधिहरुसँग पनि द्वन्द्व चर्किएको थियो । 

तर, उच्च अदालतले शहरी सडक स्थानीय तह मातहतमा रहने भन्दै न्यूरोडमा फुटपाथ विस्तारको काम नरोक्न अन्तरिम आदेश दिएपछि महानगरले धमाधम सडक खन्ने काम गरिरहेको छ । महानगरअन्तर्गत सार्वजनिक निर्माण विभागका अनुसार न्युरोड क्षेत्रमा पहिला सवारीसाधन पार्किङ गर्ने गरिएको भाग पैदलयात्रीका लागि उपलब्ध गराउन लागिएको हो । 

महानगरको यो कामप्रति न्यूरोड क्षेत्रका स्थानीय भने असन्तुष्ट छन् । तर, पैदल यात्री तथा सवारी चालकहरू पनि सकारात्मक देखिन्छन् । 

महानगरको योजनाअनुसार फुटपाथ विस्तारपछि न्युरोड गेटदेखि जुद्धसालिक र इन्द्रचोकसम्मको ११ मिटरको सडक चार मिटर घटाएर सात मिटरको बनाइनेछ । यस्तै, जुद्धसालिकदेखि धर्मपथतर्फको १३ मिटरको सडक ६ मिटर घटाएर सात मिटरको बनाइनेछ  । 

पाको आरबी कम्प्लेसतर्फको सडक ११ मिटरबाट चार मिटर घटाएर सात मिटरको बनाउने महानगरको योजना छ । त्यस्तै, सवारी साधनका लागि दुइ लेन सडक हुनेछ भने दमकल, एम्बुलेन्सलगायत आकस्मिक सेवाका सवारी साधन सञ्चालनमा कुनै अवरोध नहुने भन्दै महानगरले यसअघि नै आश्वस्त पारिसकेको छ । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update