News 24 Television
नवनियुक्त मन्त्रीहरुको शैक्षिक योग्यता कति ? सबैभन्दा धेरै पढ्नेमा आरजु 

काठमाडौं । नयाँ सत्ता समीकरणपछि मन्त्रिमण्डल समेत गठन भइसकेको छ । काँग्रेस र एमाले मिलेर बनेको नयाँ सरकारमा केपी शर्मा ओली प्रधानमन्त्री बनिसकेका छन् । त्यस्तै सोमबार प्रधानमन्त्रीको शपथग्रहण लगत्तै २२ सदस्सीय मन्त्रीमण्डल गठन भयो । ओली नेतृत्वको सरकारमा पटक पटक मन्त्री हुनेहरुदेखि पहिलो पटक मन्त्री बन्नेहरुको पनि जमात उत्तिकै छ । 

विभागिय मन्त्रीहरुको शपथ भइसकेको अवस्थामा ९ नयाँ र १२ पुरानै अनुहार दोहोरिएका छन् । यद्यपि ओली नेतृत्वको सरकारमा विभिन्न भ्रष्टाचार प्रकरणमा नाम जोडिएका सांसदहरुलाई नै मन्त्री पद उपहार दिइएको भन्दै आलोचना पनि भइरहेका छन् । 

हुन त एकाएक नयाँ समीकरण बन्नु र सरकार परिवर्तन हुनुलार्ई नै पनि भ्रष्टाचार काण्डमा नाम जोडिएका काँग्रेस र एमालेका नेताहरुलाई जोगाउने द्येय भन्ने गम्भीर आरोप लाग्दै आइरहेको छ । तर अहिले प्राप्त सत्ता नेतृत्वकोे अवसरलाई उचित भूमिकामार्फत सार्थक पार्न सके यी आरोपहरुबाट प्रधानमन्त्री ओली र सत्ता साझेदार दल काँग्रेस सभापति शेरबहादुर देउवा मुक्त हुने सुविधा रहेको पनि कतिपय टिप्पणी गर्छन् । तर हाल सरकारमा सहभागी मन्त्रीहरुको ‘टिमवर्क’ कस्तो रहला ? भन्ने प्रश्नकै विषय बनेको छ । 
यो अवस्थामा सरकारलाई सफल पार्न मन्त्रीहरुको योग्यता र विज्ञताको पनि केही भूमिका रहने देखिन्छ । खासगरी यस्तोमा नयाँ सरकारमा सहभागी कुन कुन मन्त्रीहरुको शैक्षिक योग्यता कस्तो रहेको छ ? हेरौ नवनियुक्त प्रधानमन्त्री तथा मन्त्रीहरुको शैक्षिक योग्याता ।

केपी शर्मा ओली – प्रधानमन्त्री

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली वि.सं. २००८ फागुन ११ गते तेह्रथुममा जन्मिएका थिए । ओली अहिले ७३ वर्ष पुगिसेका छन् । उनले २०२७ सालमा एसएलसी पास गरेका थिए । 
शैक्षिक योग्यता साधारण लेखपढ भएपनि उनले दुई ओटा मानार्थ पीएचडी पाएका छन् । यसका अलावा उनले १४ वर्षे जेल जीवनका क्रममा प्रशस्त अध्ययन गरेका छन् । 

प्रकाशमान सिंह – उपप्रधान तथा सहरी विकासमन्त्री

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह काँग्रेस स्वर्गिय नेता गणेशमानका पुत्र हुन् ।  उनले यसअघि पनि सरकारमा रहेर काम गरेको अनुभव बटुलिसकेका छन्। मन्त्री सिंहले विज्ञान संकायमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन ।

विष्णु पौडेल – उपप्रधान तथा अर्थमन्त्री

ओली सरकारका अर्का उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल यसअघि पनि पटक पटक मन्त्री बनिसका छन् । ओलीका विश्वासपात्र समेत रहेका पौडेलले एसएलसीसम्म मात्रै अध्ययन गरेका छन् ।  

पृथ्वीसुब्बा गुरुङ – सञ्चारमन्त्री

ओली सरकारमा अर्का मन्त्री हुन् पृथ्वीसुब्बा गुरुङ । यसअघि मन्त्री तथा मुख्यमन्त्री बनेर काम गरिसकेका गुरुङले अहिले सञ्चार मन्त्रानलयको जिम्मेवारी पाएका छन् । मन्त्री गुरुङले भौतिकशास्त्रमा स्नातकसम्मको अध्ययन गरेका छन् । 

रमेश लेखक – गृहमन्त्री 

ओली नेतृत्वको नयाँ सरकारमा गृहमन्त्रीको जिम्मेवारी पाएका लेखक कञ्चनपुर–३ बाट संसदमा प्रतिनिधित्व गर्छन । यसअघि पनि सरकारमा रहेर काम गरेको अनुभव बोकेका लेखकले मानविकी संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् । उनी कानुन व्यवसायी पनि हुन् । कुनै समय उनी पत्रकारिता पेशामा पनि थिए ।  

शरतसिंह भण्डारी – श्रममन्त्री

पटक पटक सरकारमा रहेर काम गर्ने अवसर पाएका मन्त्री भण्डारी (लोसपा)का तर्फबाट फेरि मन्त्री बनेका छन् । उनले विज्ञान शंकायमा स्नातकसम्म अध्ययन गरेका छन् ।

आरजु राणा देउवा – परराष्ट्रमन्त्री 

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा काँग्रेस सभापति देउवा पत्नीसमेत हुन् । ओली नेतृत्वको सरकारमा सहभागी हुँदा उनी पहिलो पटक मन्त्री बनेकी हुन् । आरजुले मनोविज्ञान विषयमा पीएचडीसम्मको अध्यायन गरेकी छन् । 

प्रदीप यादव – खानेपानी मन्त्री 

नवनियुक्त खानेपनी मन्त्री प्रदीप यादव यसअघि प्रचण्ड नेतृत्वको सरकारमा स्वास्थ्यमन्त्री थए । तर अहिले उनलाई ओली नेतृत्वको सरकारमा खानेपनीमन्त्रीको जिम्मेवारी दिइएको छ । उनले मानविकी संकायमा प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् ।

बलराम अधिकारी – भूमि व्यवस्था मन्त्री

एमालेको कोटाबाट भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बनेका अधिकारीले पनि प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । 

दामोदर भण्डारी– उद्योगमन्त्री

एमालेकै कोटाबाट मन्त्री बनेका उद्योगमन्त्री भण्डारीले मानविकी संकायमा स्नातकसम्मको अध्ययन गरेका छन् ।  

नवलकिशोर साह सुडी – महिला तथा बालबालिका मन्त्री

प्रचण्ड नेतृत्वको सरकारमासमेत मन्त्री रहेका सुडी हाल महिला तथा बालबालीका मन्त्रीको जिम्मेवारीमा छन् । उनले राजनीतिशास्त्र र मनोविज्ञान विषयमा स्नातकसम्मको अध्ययन गरेका छन् । 

देवेन्द्र दाहाल – भौतिक पूर्वाधारमन्त्री 

प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाबाट मन्त्री बनेका दाहाल एमालेका राष्ट्रियसभा सदस्य हुन् । उनले शिक्षा संकायअन्तर्गत अर्थशास्त्र र नेपाली विषयमा स्नातक गरेका छन् ।

तेजुलाल चौधरी – खेलकुदमन्त्री

काँग्रेसको कोटाबाट खेलकुदमन्त्री बनेका चौधरीले व्यवस्थापन शंकायमा स्नात्तकोत्तर गरेका छन् ।

प्रदीप पौडेल – स्वास्थ्यमन्त्री 

काँग्रेसभित्र पनि महामन्त्री गगनकुमार थापाको कोटाबाट मन्त्री बनेका प्रदीप पौडेल पहिलो पटक सरकारमा सहभागी भएका हुन् । उनले समाजशास्त्र विषयमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् ।  

अजयकुमार चौरसिया – कानुनमन्त्री 

काँग्रेसबाट मन्त्री बनेका चौरासियाले साहित्य विषयमा स्नातकसम्म अध्यायन गरेका छन् । 

बद्री पाण्डे – पर्यटनमन्त्री 

नेपाली काँग्रेसकै कोटाबाटै संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बनेका पाण्डे पार्टीको सहमहामन्त्री पनि हुन् । उनी मानविकी संकायमा पीएचडी गरिरहेका छन् । 

रामनाथ अधिकार – कृषिमन्त्री

धादिङ–२ बाट संसदमा प्रतिनिधित्व गर्ने मन्त्री अधिकारीले यसअघि राज्यमन्त्री भएर काम गर्ने अवसर प्राप्त गरेका थिए । यद्यपि यो पटक भने उनले ‘पुल’ मन्त्रालय सम्हाल्ने जिम्मेवारी पाएका छन् । उनले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् । 

विद्या भट्टराई - शिक्षामन्त्री 

तत्कालीन पर्यटनमन्त्री स्वर्गिय रवीन्द्र अधिकारीकी पत्नी रहेकी नवनियुक्त मन्त्री भट्टराई केही वर्षयता संसदीय राजनीतिमा छिन् । उनले समाजशास्त्रमा एमफिल गरिरहेकी छिन् ।

मानवीर राई – रक्षामन्त्री राई

एमालेको कोटाबाट रक्षामन्त्री बन्ने अवसर पाएका मानविर राई सोलुखुम्बुबाट संसदमा प्रतिनिधित्व गर्छन् ।  उनले कक्षा–१० सम्मको अध्ययन गरेका छन् भने उनी पहिलो पटक मन्त्री बनेका हुन् । 

दीपक खड्का – ऊर्जामन्त्री 

नवगठित मन्त्रिमण्डलमा काँग्रेसले दीपक खड्कालाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीमा पठाएको छ । खड्काले समाजशास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन गरेका छन् । 

राजकुमार गुप्ता – संघीय मामिलामन्त्री

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाएका राजकुमार गुप्ता पहिलो पटक सरकारमा सहभागी भएका हुन् । एमालेबाट मन्त्री बनेका गुप्ताले व्यवस्थापन शंकायमा स्नातकसम्मको अध्ययन गरेका छन् ।

ऐनबहादुर शाही - वनमन्त्री 

कांग्रेसले वनमन्त्रालयको जिम्मेवारीमा पठाएका ऐनबहादुर शाही मुगुबाट निर्वाचित सांसद हुन् । उनले शिक्षाशास्त्र र राजनीतिशास्त्रमा स्नातक गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  ०६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update