काठमाडौँ । नेपालको जेठो र ठूलो त्रिभुवन विश्वविद्यालयका केन्द्रीय विभागहरूमा देशभरबाट विद्यार्थी पढ्न आउँछन् । त्रिविले उच्च शिक्षाको करिब ८० प्रतिशत विद्यार्थी धानेको छ । त्रिविमा हाल ४ लाख ५४ हजार विद्यार्थी अध्ययनरत छन् । एक विद्यार्थी बराबर २४ हजार लगानी गरेको त्रिभुवन विश्वविद्यालयमा पछिल्लो समय विद्यार्थी संख्या अत्यन्तै कम हुँदै गएको देखिन्छ । केन्द्रीय बिभागमा एक जना मात्रै विद्यार्थी रहेको समेत देखिन्छ ।
त्रिवि घडीघरको पछाडि पुराना स–साना भवन छन् । ती भवनमा त्रिविका मानविकी तथा सामाजिक संकाय अन्र्तगतका विभिन्न विभागका कार्यालय राखिएका छन् । एक भवनमा हिन्दी, राजनीति र भाषा विज्ञान केन्द्रीय बिभाग गरी तीन केन्द्रीय बिभागका कार्यालय छ । एउटा कोठामा विभागीय प्रमुख र अर्को कोठामा विद्यार्थी तथा प्राध्यापकहरू राखिएका छन् । हिन्दी विभागका लागि त्रिविले ३ वटा कोठा मात्रै उपलब्ध गराएको छ । न त्यहाँ बैठक कक्ष छ, न प्राध्यापकहरूको लागि बस्न छुट्टाछुट्टै कोठा छ । यहाँसम्म कि पुस्तकालयको समेत व्यवस्था छैन ।
केन्द्रीय विभाग साँघुरिएको जस्तै त्यहाँ पढ्न आउने विद्यार्थी संख्या पनि घटेका छन् । हिन्दीमा तेस्रो सेमेस्टरमा अहिले १ जना मात्रै विद्यार्थी छन् । हाल पहिलो र तेस्रो सेमेस्टरमा गरेर जम्मा ४ जना विद्यार्थी छन् । तर प्राध्यापक भने विद्यार्थी भन्दा बढी ५ जना छन् । सामान्यतः सेमेष्टर प्रणालीमा १० जनाभन्दा कम विद्यार्थी भर्ना नगर्ने नीति त्रिविले लिएको छ । एक सेमेस्टरमा ४० जना विद्यार्थी भर्ना हुन पाउँछन् । कुनै केन्द्रीय बिभागमा त विद्यार्थी संख्या भन्दा प्राध्यापक संख्या बढी छ ।
विद्यार्थी कम हुन थालेपछि त्रिविले १० जना भन्दा कम विद्यार्थी पनि भर्ना गर्न सकिने निर्णय गरेको छ । यस्तै, नेपाली केन्द्रीय बिभागमा तेस्रो सेमेस्टरमा १२ जना मात्र विद्यार्थी छन् भने प्राध्यापकहरु १८ जना छन् । अंग्रेजी केन्द्रीय बिभागले विद्यार्थी संख्या घट्दै गएपछि स्नातकतहमा अंग्रेजी बिषय नपढेका विद्यार्थीले पनि मास्टर्स गर्न पाउने निर्णय गरेको छ । तर त्यति गर्दा पनि विद्यार्थी संख्या बढेन । तेस्रो सेमेस्टरमा २३ जना मात्र विद्यार्थी भर्ना भए ।
मानविकी तथा सामाजिकशास्त्र संकाय अन्र्तगतका समाजशास्त्र, भूगोल, भाषाबिज्ञान, नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय बिभाग, इतिहास, नेपाली, हिन्दी बौद्ध अध्ययन केन्द्रीय विभागमा विद्यार्थीको संख्या न्यून छ । ती बिषयमा एमफिल, पिएचडी गर्ने विद्यार्थी संख्या पनि घट्दै गएको छ । राजनीतिशास्त्र, अर्थशास्त्र, ग्रामीण विकास लगायतका केन्द्रीय विभागमा भने विद्यार्थी संख्या अपेक्षाकृत देखिन्छ ।
१२ कक्षापछि विदेश जाने विद्यार्थी संख्याको असर विश्वविद्यालयका केन्द्रीय विभागहरुमा समेत देखिएको छ । उच्च शिक्षा पढ्ने विद्यार्थी संख्या कम, भएका पनि पास हुन नसक्नु, सेमेस्टर प्रणालीमा गएपछि नियमित रुपमा कक्षा कोठामा उपस्थित हुनुपर्ने जस्ता कारणले पनि केन्द्रीय बिभागमा विद्यार्थी संख्या कम भएको बिभागीय प्रमुखहरु बताउँछन् । साथै धेरै क्याम्पसमा सम्बन्धन दिनु र विद्यार्थीहरुमा उच्च शिक्षा पश्चात जागिर सुनिश्चित नहुनुले पनि विश्वविद्यालयमा विद्यार्थी संख्या घटेको देखिन्छ ।