News 24 Television
ओबाङमा खानेपानी आयोजनाले ल्याएको परिवर्तन

रोल्पा । ओबाङलाई चिरेरै माडीखोला बग्छ । त्यहीँ नदी किनारमा तिलसरी बुढाको घर छ । छेउमै ठूलो खोला बगे पनि उनीले आफ्नो प्यास कहिल्यै मेटाउन सकिनन् । 

यहाँ ‘ख’श्रेणीको इलाका प्रहरी कार्यालय पनि छ । कार्यालयमा दरवन्दीअनुसार जनशक्ति र भवन नहुँदा प्रहरीलाई सास्ती त छदैँछ दैनिक अत्यावश्यक खानेपानीको समस्याले थप हैरानी खेप्नु परिरहेको थियो । प्रहरीले ‘पव्लिक’ का लागि मात्र होइन कहिलेकाहीँ चौकी नै छाडेर ‘पानी’ का लागि समेत ड्यिुटी गर्थे । अर्थात, पानीका लागि खोलाखोाल्सी चहार्थे । 

यस वर्षबाट ओबाङबासीसँगै यहाँका सरकारी कार्यालयले वर्षौदेखिको समस्याबाट मुक्ति पाएका छन् । घर–घरमा खानेपानीको धारा निर्माण भएर स्वच्छ र सफा पानी पिउन पाउँदा सबै जना खुसी छन् । 

अहिले ओबाङमा रहेको सामुदायिक स्वास्थ्य इकाइका कर्मचारी पनि ढुक्क छन् । यहाँ आउने बिरामीलाई दुषित पानीबाट लाग्ने रोगको चिन्ता छैन । मुहानबाटै सफा खानेपनी आउन थालेपछि जलजला सब–डिभिजन वन कार्यालयका कर्मचारीले पनि राहत महसुस गरेका छन् । विगतमा नर्सरी सिंचाईका लागि प्रयोग हुने पाइपको पानी प्रयोग गर्न बाध्य थिए । 

khanepani-1721189720.jpg
 

रिचिबी–ओबाङ खानेपानी आयोजनामार्फत यस क्षेत्रमा ३० भन्दा बढी घर र सरकारी कार्यालयमा खानेपानीका धारा निर्माण भएका छन् । यहाँका मठमन्दिर,क्लव भवन लगायतमा पनि धारा जडान भएका छन् । बजार क्षेत्रबाट करिव डेढ किलोमिटर दुरीमा रहेको रिचिबी छहरामाथिबाट पानी ल्याइएको खानेपानी उपभोक्ता समितिका सचिव प्रकाश खत्रीले बताए । “अहिले धाराहरुबाट पानी वितरण सुरु गरेका छौँ । सम्पूर्ण उपभोक्तालाई पर्याप्त पानी पुगेकाले हाम्रो समस्याको हल भएको छ । अब हामी वितरण प्रणालीलाई थप व्यवस्थित गर्ने योजनामा छौँ ।” उनी भन्छन् ।  

परिवर्तन गाउँपालिकाले ‘एक घर एक धारा’ को नीति ल्याए पनि स्थानीय सरकार गठन भएयता ओबाङबासीको समस्यामा ध्यान नदिएको उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद नेवारको अनुभव छ । सिङ्गो बजार क्षेत्रका लागि एउटा धारा मात्र बनाइदिएको र त्यो पनि केहीँ समयमै बन्द भएको उनी सम्झन्छन् । 

पूर्वमुख्यमन्त्री कुलप्रसाद के.सीको कार्यकालमा लुम्बिनी प्रदेश सरकारले खानेपानी आयोजनाको लागि १० लाख बजेट बिनियोजन गरेको थियो । आर्थिक वर्ष २०७८/२०७९ बाट सुरु भएको आयोजनाले पहिलो चरणमा मुहान क्षेत्र वरपर आवश्यक संरचना निर्माण,तटबन्ध तथा पाइपलाइन बिस्तारका कार्यहरु सम्पन्न गरेको थियो । 

आर्थिक वर्ष २०७९/२०८० मा खानेपानी आयोजनाको दोस्रो चरणका कार्यहरु अगाडि बढाइएका थिए । प्रदेश सरकारले पानी ट्याङ्की निर्माण,घर–घरमा पाइपलाइन बिस्तार तथा धारा निर्माणका लागि आवश्यक बजेट बिनियोजन गरेको उपभोक्ता समितिका अध्यक्ष कुलप्रसाद नेवारले बताए ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update