News 24 Television
कांग्रेस–एमाले मिल्दा गण्डकीमा दुई तिहाई  

पोखरा । कांग्रेस र एमालेको केन्द्रीय सत्ता समीकरण बनेसँगै गण्डकी प्रदेशमा पनि त्यसको प्रभाव पर्ने देखिएको छ । गण्डकी प्रदेशमा अहिले पनि कांग्रेस कै नेतृत्वमा सरकार छ । दुई पार्टी बीच प्रदेश बाँडफाँडको विषय औपचारिक रूपमा सार्वजनिक भएको छैन तथापि कांग्रेस भने आफ्नै नेतृत्वमा सरकार भएकोले एमालेलाई जिम्मेवार मन्त्रालय दिएर सरकारको नेतृत्व आफै गर्ने प्रयासमा छ । 

नेपाली कांग्रेस र नेकपा एमाले मिलेर केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाए सँगै त्यसको प्रभाव गण्डकीमा पनि देखिएको छ । गण्डकीमा अहिले कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ र एमालेका २२ गरी ४९ सदस्यको समर्थन रहनेछ जुन गण्डकी प्रदेश सभाको दुईतिहाइ संख्या हो । १४ जेठमा सर्वोच्चको परमादेश पछि पुनः मुख्यमन्त्री नियुक्ती भएका पाण्डेले मन्त्रिपरिषद्लाई अझै पूर्णता दिन सकेका छैनन । पाण्डेसँग अहिले पाँच सदस्यीय मन्त्रिमण्डल छ । 

पाण्डेले नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा र स्वतन्त्र सांसद राजिव गुरुङलाई मन्त्री बनाएका छन् । विश्वासको मत दिएको राप्रपा भने सरकारमा सहभागि भएको छैन । मन्त्रालय बढाएर अहिले सरकारमा भएका दलसगँ एमालेलाई पनि सहभागी गराउने कांग्रेसको एकतर्फी तयारी छ । केन्द्रबाट नयाँ कुनै आदेश आएन भने यही सरकारमा एमालेलाई सहभागि गराउने गण्डकीका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बताए । 

एमाले र कांग्रेसको सहमतिमा सरकार बन्ने भएपनि गण्डकीमा सत्ता सहकार्यको रुपरेखामा भने सहमति भइसकेको छैन । एमाले गण्डकीका नेताहरु अहिले पनि केन्द्रीय नेतृत्वसँग छलफलमै छन् । मुख्यमन्त्री कांग्रेसले पाउने भए महत्वपूर्ण मन्त्रालयमा एमालेको दावी स्वभाविक देखिन्छ । भागबण्डा कसरी टुंगो लगाउने भन्नेमा केन्द्रीय नेतृत्वको निर्णयपछि गण्डकीमा नयाँ समिकरण अनुसारको सरकार गठन अगाडी बढाउने एमालेको तयारी छ ।   

एमाले र कांग्रेस दुई पार्टी मिल्दा दुईतिहाइ बहुमत पुग्ने भएकाले सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिएर अहिले मन्त्री भइरहेका नेपाल समाजवादीका फणिन्द्र देवकोटा र अर्का मन्त्री राजीव गुरुङलाईसँगै लैजाने गृहकार्य कांग्रेसले थालेको देखिन्छ । तर यो विषयमा एमालेले भने आफ्नो धारणा अझै सार्वजनिक गरेको छैन । ६० सदस्य गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७, एमालेका २२, माओवादीसँग सभामुख सहित ७ जना, राप्रपाका २ जना, नेपाल समाजवादी पार्टीका १ र स्वतन्त्र सांसद १ छन् । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update