News 24 Television
पदभार ग्रहणलगत्तै मन्त्रीहरूले गरे यस्ता निर्णय

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथो पटक सरकारको नेतृत्व सम्हाल्न आइपुगेका छन् । सोमवार विहानसम्म पनि प्रमुख दुई दल कांग्रेस र एमालेमा मन्त्री भागबण्डा मिलाउन सकस देखिएको थियो । तर प्रधानमन्त्री ओलीले सपथ लिएलगत्तै सोमवार नै २२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । सपथ लगत्तै प्रधानमन्त्री ओलीका साथै सबै मन्त्रीहरुले पदभार ग्रहण गरी महत्वपूर्ण निर्णयसमेत गरेका छन् । 

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली सोमवार पद तथा गोपनीयताको सपथ लिए लगत्तै लैनचौरस्थित शहीदपार्कमा रहेको शहीदप्रति श्रद्धाञ्जली गर्दै पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर मदन भण्डारीको शालिकमा माल्र्यापण गरि पदभार ग्रहणका लागि सिंहदरबार आए । प्रधानमन्त्रीको सपथ लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई शुभकामना दिए । ओलीले पनि पारस्परिक हित र नेपाल–भारत सम्बन्धलाई मजबुत बनाउन मोदीसँग सहकार्य गर्न तयार रहेको भनी सामाजिक सञ्जाल एक्समा लेखेका छन् । २०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा ओली पहिलो पटक प्रधानमन्त्री थिए । तर भारतीय प्रधानमन्त्री मोदीले नै ओलीलाई रातो कार्पेट विछ्याएर स्वागत गर्यो । 

पछिल्लो पटक एमाले र कांग्रेसबीचको सत्ता समीकरण भने दक्षिण र उत्तरी छिमेकी भन्दा तेस्रो राष्ट्रको सक्रियतामा बनेको बताइएको छ । सोमवार प्रधानमन्त्रीको सपथसँगै अन्य २१ मन्त्रीले पनि सपथ लिएर पदभार ग्रहण गरिसकेका छन् । पदभार ग्रहणपछि मन्त्रीहरुले विभिन्न प्रतिवद्धताहरु ब्यक्त गरी केही निर्णयमा हस्ताक्षरसमेत गरेका छन् । 

कुन मन्त्रीले पहिलो निर्णय के गरे ?  

उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहः
मन्त्रालयको काम, कर्तव्य र अधिकारको सीमाभित्र रही नेपालका सहरलाई जनताको चाहनाअनुरुप आधुनिक, सुविधाजनक र व्यवस्थित गर्नेतर्फ काम अघि बढाउने । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलः
वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने । 

गृहमन्त्री रमेश लेखकः 
सिमलताल बस दुर्घटनाबारे अध्ययन गर्न सहसचिव छवि रिजालको नेतृत्वमा कार्यदल गठन । कार्यदललाई १० दिन समय प्रदान । 

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीः
झापाको साविक महारानी झोडा गाविस वडा नम्बर ४ र ५ को जग्गा दर्ता सम्बन्धि समिति गठन आदेशका लागि कानुन मन्त्रालय पठाउने र मन्त्रालय अन्तर्गतका निकायबाट निर्देशन माग गर्दाको ढाँचा स्वीकृत गर्ने ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीः
सार्वजनिक निकायहरूमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी कार्यविधि स्वीकृतिका लागि मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने ।  

भौतिक, पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालः
राष्ट्रिय यातायात नीति मन्त्रिपरिषद्मा पठाउने । 

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी:
विभिन्न खेल संघमा देखिएका विवादहरूलाई समयमै टुंग्याउन राष्ट्रिय खेलकुद परिषद्लाई विशेष निर्देशन । 

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलः
राष्ट्रिय क्यान्सर रणनीति ( २०२४–२०३०) स्वीकृत गर्ने निर्णय । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेः
पर्यटन नीतिमा आवश्यक सुधार गर्न अध्ययन समिति गठन गरेको भन्दै त्यसलाई गहिरो अध्ययन गरेर नीति बनाउने । 

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईः  
प्रारम्भिक बालविकासदेखि ५ कक्षासम्मका विद्यार्थीहरूलाई दिइने दिवा खाजा कार्यक्रमलाई स्थानीय कृषि उत्पादनसँग जोड्ने प्रारुप तयार गर्न समिति गठन गर्ने

रक्षामन्त्री मानविर राईः
विपद्को प्रभाव वा क्षति कम गर्न जोखिम क्षेत्रको पूर्वाअनुमान तथा पहिचान गरी खोज, उद्धार र पुनःस्थपानका लागि तयारी अवस्थामा रहने सम्बन्धी प्रस्ताव स्वीकृत 

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काः 
‘ऊर्जा जलस्रोत तथा सिँचाइका क्षेत्रमा देखिएका समस्या पहिचान गरी समाधानका लागि गर्नुपर्ने कार्य र सो को कार्ययोजनासहितको प्रतिवेदन पेस गर्न ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल संयोजक रहेको कार्यदल गठन सम्बन्धि प्रस्ताव’मा हस्ताक्षर । 

सोमबार पदभार ग्रहण गरेका सबै मन्त्रीहरुले आफ्नो मन्त्रालय मातहतको कुनै न कुनै काम गर्ने प्रतिवद्धता जनाएका छन् । निवर्तमान मन्त्रीहरुले अघि बढाएका केही महत्वपूर्ण कामहरुलाई पूरा गर्ने चुनौति नवनियुक्त मन्त्रीहरुलाई छ । त्यसैले मन्त्रालय सम्हालेपछि गरेको नवनियुक्त मन्त्रीहरुले गरेको पहिलो निर्णय र प्रतिवद्धता विगतका मन्त्रीहरुले जस्तै भुल्छन् कि कार्यान्वयन गर्छन्, त्यो भने प्रतिक्षाको विषय बनेको छ । 
 

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update