काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार नेपालको ४५ औं प्रधानमन्त्री नियुक्त भएका छन् । ओलीले प्रधानमन्त्रीको सपथ लिनु भन्दा एक दिनअघि नै मन्त्रीहरु विदा भएका छन् । मन्त्रीहरु बिदाई हुँदै गर्दा आफूले गरेको कामको फेहरिस्त पनि सुनाएका छन् । आइतबार मन्त्रालयबाट विदा हुँदै गर्दा कामचलाउ सरकारका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरु अनुसन्धान गर्न चुनौति दिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पहिलो पटक गृहमन्त्री बनाइँदा नागरिकता र राहदानीको विवादमा मात्र मुछिएनन्, अनागरिक बन्दै मन्त्रीदेखि सांसद पद नै गुमेको थियो । तर चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै भारी मतले नै पुनःनिर्वाचित भए । लामिछाने दोस्रो पटक संसदबाट निर्वाचित भएपछि प्रचण्डको तेस्रो पटकको सत्ता समीकरणमा गृहमन्त्री नै बनाइएपछि सहकारी विवादमा मुछिए । राजनीतिमा प्रवेश गर्नुअघि लामिछाने ग्यालेक्सी टेलिभिजनका सञ्चालक जीबी राई समूहको सहकारीको विवादमा मुछिए । लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै चौतर्फी विरोध र कांग्रेसको घेराबन्दीका कारण संसदीय छानबिन समिति नै बन्यो । छानबिन समिति छलफल र अनुसन्धानकै क्रममा छ । सरकारबाहिर हुँदा चर्का कुरा गरे पनि सरकारमा रहँदा भ्रष्टाचारका फाइलहरु खोल्न नसकेको आरोप पनि गृहमन्त्री लामिछानेलाई लाग्यो । तर गृह मन्त्रालयबाट विदा हुँदै गर्दा भने आफूले धेरै फाइलहरु अघि बढाएको लामिछानेले दाबी गरेका छन् ।
लामिछानेले आफ्नो विषयमा विवादमा आएका कुराहरुको अध्ययन अनुसन्धान अघि बढाउन पनि नयाँ सरकारलाई चुनौति दिएका छन् । आफ्नो बारेमा पनि धेरै प्रश्नहरु उठेको भन्दै उनले आफू मन्त्री भएकाले कुनै प्रभाव परेको भए अनुसन्धान र अध्ययन प्रक्रिया अघि बढाउन अब सहज हुने स्पष्ट गरे । सुरक्षा निकायको गोपनीयताका कारण प्रहरीसँगकै सल्लाहमा सुन प्रकरणको प्रतिवेदन सार्वजनिक नगरेको लामिछानेले दावी गरेका छन् । अझ निर्मला पन्तको अनुसन्धान पनि अन्तिम चरणमा पुगेको समेत उनले दाबी गर्न भ्याए ।
रास्वपा सभापति लामिछानेमाथि सबैभन्दा गम्भीर रुपमा उठेको प्रश्न भनेकै सहकारी ठगीमा संलग्न भनिएका जीतेन्द्रबाबु राई (जीबी) लाई पक्राउ नगरिनु हो । सहकारी संस्थाहरुबाट भएको बचत अपचलनका कारण पीडितहरु सडकमा आएर हारगुहार गरे पनि न्याय पाउन सकेनन् । करिब ४ महिना गृहमन्त्री भएका लामिछानेले भने उनी आफै संलग्न रहेको ग्यालेक्सी टीभीका सञ्चालक जीबी मलेसियामा रहेको भनिए पनि पक्राउ परेनन् । तर मन्त्रालयबाट बिदा हुँदै गर्दा पनि उनले इन्टरपोलसँग निरन्तर संवाद गरेको र मलेसियाका प्रधानमन्त्रीसँग दुई दुई पटक कुराकानी गरेको बताएका छन् । आफू सरकार बाहिर रहे पनि अनुसन्धानका विषयहरुमा सघाउन तयार रहेको भन्दै उनले प्रहरी संगठनको निकै प्रशंसा गरेका छन् । उनीसँग जोडिएका विभिन्न विवादित विषयको निरुपण आगामी दिनमा कसरी होला, त्यो भने प्रतिक्षाकै विषय बनेको छ ।