News 24 Television
ट्रम्पको कानमा गोली, ज्यान गुमाउने राष्ट्रपतिहरु 

काठमाडौं । अमेरिका चुनावको संघारमा छ । चुनावको पूर्वसन्ध्यामा अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएपछि विश्वको ध्यान तानिएको छ । प्रविधि र हतियारले सुसज्जित मुलुकमा गोली प्रहारका घटना बढेपनि यसरी ठूला गोली प्रहारका घटना बिरलै हुने घटना हुन् । तर, विश्वमा पछिल्लो समय हुने गोली प्रहारका घटनाले विकसित र उच्च क्षमताको सुरक्षा निकाय भएको ठानिएका मुलुकको सुरक्षा निकायमाथिका प्रश्न भने उब्जिएका छन । 

अमेरिका आफुलाई अत्याधुनिक प्रविधि र हतियारले सुसज्जित विश्वको पहिलो राष्ट्र ठान्छ । अमेरिकाले विश्वका धेरै मुलुकलाई आफ्नो अधिनमा राख्न विभिन्न अस्त्रको प्रयास गर्ने गर्छ भने सुरक्षाको दृष्टीकोणले समेत आफ्नो मुलुक उच्च रहेको दाबी गर्छ । तर, अमेरिकी इतिहासमा गोली प्रहारका घटना भने खास नयाँ देखिन्नन् । अमेरिकामा ४ राष्ट्रपतिको हत्या गोली प्रहारबाटै भएको इतिहास छ । अब्राहम लिङ्कन, जेम्स ए गेराफिल्ड, विलियम म्याक्किन्ले र जोन एफ केनेडीको गोली प्रहारबाटै हत्या भएको देखिन्छ । 

यसबाहेक अमेरिकामा गोली प्रहार थुप्रै राष्ट्रपतिमा भइसकेको छ । गोली प्रहारका घटना अमेरिकामा अत्यधिक मात्रामा बढिरहेको देखिन्छ । हतियारको किनबेच सामान्य जस्तै भएका कारण पनि हुनसक्छ, अमेरिकामा दैनिक हतियारको दुरुपयोगबाट ज्यान गुमाउनेको संख्यामा कमी आएको देखिन्न । 

अमेरिकामा वर्षेनी ४५ हजारभन्दा बढिले गोलीबाटै ज्यान गुमाउने गरेका छन् । विश्वभरका मानिसहरु जान चाहने अमेरिकाको यो कटु यथार्थको ग्राफ भयावह छ । सानो निहूमै वा कसैको सनककै भरमा गोली चल्दा अमेरिकामा ठूलो जनधनको क्षति हुँदै आएको छ । हतियार उत्पादन, बिक्रीबाट मनग्य आम्दानी गरिरहेको अमेरिकालाई त्यहि हतियारको खतरा बने उत्तिकै पेचिलो बनिरहेको छ । 
राष्ट्रपतिको चुनावको संघारमा रहेको अमेरिकामा राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि भएको गोली प्रहारको घटनाले पनि अमेरिकामा हतियार दुरुपयोग अत्याधिक हुने गरेको र यस्ता साना हतियारकै कारण उच्च ओहोदाकादेखि सामान्य नागरिकसम्म असुरक्षित  तथ्यलाई प्रष्ट संकेत गर्छ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी सभामा आइतवार अन्धाधुन्ध गोली चल्यो । 

गोली लागेर ट्रम्प सामान्य घाइते भएका छन् भने उनलाई गोली हान्ने २० वर्षिय व्यक्ति सुरक्षा कारबाहीमा मारिएका छन् । अमेरिकामा हरेक बर्ष हुने सयौं गोलिकाण्डमा हजारौं मानिसहरले ज्यान गुमाउने गर्छन् । सिनेटमा साना हतियारमा प्रतिबन्ध लगाउने चर्कै बहस चल्छ । तर अमेरिकीका लागि हतियार राख्नु संस्कृतिजस्तै भइसकेका कारण पनि राजनीतिज्ञ र जनता बन्दुक सम्बन्धी कडा कानुनको विरुद्धमै हुन्छन् र प्रतिबन्ध पनि सम्भव हुँदैन । 

अमेरिकी पूर्वराष्ट्रपति तथा आगामी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामै गोली लागेर सामान्य घाइते भएका ट्रम्प ट्रम्पको कानमा गाली लागेपनि उनी बच्न सफल भए ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी ¥याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । अमेरिकामा हरेक बर्ष सयौं सामुहिक गोलिकाण्डका घटना हुने गरेका छन् । जसमा हरेक वर्ष हजारौं मानिसहरुले ज्यान गुमाउने गर्छन् । कुनै पनि घटनामा आक्रमणकारीबाहेक कम्तीमा चार जनालाई गोली प्रहार भएको छ भने त्यसलाई ‘सामूहिक गोलिकाण्ड’ का रूपमा व्याख्या गरिन्छ । गत वर्ष पनि अमेरिकामा मार्च महिनामा नै १ सयवटा सामूहिक गोलिकाण्डका घटना पूरा भएको थियो । 

स्वीटजरल्याण्डको ‘स्मल आर्मस् सर्भे’ का अनुसार अमेरिकामा प्रत्येक १ सय अमेरिकी नागरिक बराबर १२० वटा बन्दुक रहेको तथ्याङ्क छ । विश्वका अन्य कुनै राष्ट्रमा मानिसको सङ्ख्याभन्दा बढी बन्दुकको सङ्ख्या रहेको छैन । अमेरिकामा ४४ प्रतिशत वयस्कको घरमा बन्दुक रहेको तथा एक तिहाइसँग कम्तीमा एउटा बन्दुक रहेको सन् २०२० को ग्यालप सर्भेले देखाएको थियो । विकसित राष्ट्रहरूमध्ये अमेरिकामा बन्दुकसम्बन्धी हिंसाबाट सबैभन्दा धेरैले ज्यान गुमाउने गरेका छन् । 

क्यानडाभन्दा अमेरिकामा यो सङ्ख्या ८ गुणा बढी रहेको छ भने युरोपियन युनियनभन्दा २२ गुणा र अस्ट्रेलियाभन्दा २३ गुणा बढी रहेको इन्स्टिच्युट अफ हेल्थ मेटरिक्स एन्ड इभालुएसनको तथ्याङ्कले देखाएको थियो । केही समय अघिमात्र अमेरिकाको टेक्ससस्थित एक प्राथमिक विद्यालयमा भएको भयावह गोलाबारीको घटनामा १९ बालबालिका र दुईजना शिक्षिका मारिए । यो घटना अमेरिकामा यस वर्षको २७ औँ विद्यालय हमला थियो । तर यसरी हरेक वर्ष यस किसिमका ठुल्ठुला सामूहिक गोलाबारी भएपनि देशका राजनीतिज्ञ र मतादाताहरू बन्दुक सम्बन्धी कडा कानुनको विरुद्धमै छन् । यो विषय अमेरिकी राजनीतिमा विगत लामो समयदेखि विवादपूर्ण रहँदै आएको छ ।

अमेरिकी संविधानको दोस्रो संशोधन अनुसार ‘स्वतन्त्र राज्यको सुरक्षाका लागि हतियार आवश्यक रहेकाले सबै नागरिकसँग बन्दुक बोक्न र राख्न पूर्ण अधिकार छ । 

अर्को कारण भनेको धेरै अमेरिकीले बन्दुक राख्न पाउनुलाई स्वतन्त्रताको परिभाषासँग पनि जोड्ने गरेका छन् । त्यस्तै व्यक्तिगत पहिचानकै लागि पनि अमेरिकीहरूले बन्दुक राख्नलाई सम्मानको कुरा मान्ने गरेको सर्वेक्षणले देखाएका छन् भने बन्दुक खरिदकर्ताको पृष्ठभूमि जाँच नगर्ने कानूनले पनि यसलाई बढावा दिइरहेका छ । 

ट्रम्प अघि पनि धेरै पूर्वराष्ट्रपतिहरुमाथि गोली प्रहार भइकेको छ । जसमध्ये अब्राहम लिंकन पनि एक हुन् । सन् १८६५ मा अब्राहम लिंकन र १९६३ मा जोन एफ केनेडीको हत्या अमेरिकाको इतिहासमा महत्वपूर्ण घटनाका रूपमा रहेका छन् । 

जेम्स गारफिल्ड १८८१ र विलियम म्याककिन्ली १९०१ को हत्याको ज्यादा स्मरण गरिन्न । तर, ती दुई घटनाले पनि तत्कालीन समयमा समग्र मुलुक हल्लाएको थियो । यी चार जना राष्ट्रपति रहँदै मारिएका थिए । तर, तीमध्ये लिंकनको हत्यालाई ठूलो षड्यन्त्रको नतिजा मान्ने गरिन्छ । तर, अन्य हत्याका विषयमा अझै पनि थुप्रै अड्कलबाजी गरिँदै आएको छ । 

यसबाहेक केही त्यस्ता भाग्यमानी पूर्वराष्ट्रपतिहरु पनि छन् जो गोली प्रहारबाट पनि बाँच्न सफल भए । १९३३ मा चुनाव जितेका तर शपथ लिइनसकेका राष्ट्रपति फ्य्रांकलिन डिलानो रुजबेल्टको कारमा एक बन्दुकधारीले ५ गोली हानेका थिए । गोली रुजबेल्टलाई लागेन । तर, उनीसँगै रहेका सिकागोका मेयर एन्टोन सेरमाग घाइते भए । 

१९ दिनपछि उनको ज्यान गयो । सेप्टेम्बर १९७५ मा राष्ट्रपति जेराल्ड फोर्ड दुई अलग अलग हत्या प्रयासबाट बच्न सफल भए । दुवै पटक आक्रमणकारी महिला थिए । 

पहिलो घटना सेप्टेम्बर ५ का दिन भयो । चाल्र्स म्यान्सनकी चेली लिनेट फ्रम्मीले क्यालिफोर्नियाको एक पार्कमा हिँडिरहेको बेला फोर्डलाई गोली हान्ने कोसिस गरेकी थिइन् । तर, उनको बन्दुक पड्किएन । २२ सेप्टेम्बरमा कट्टरपन्थी समूहमा आबद्ध सारा जेन मुरले सान फ्रान्सिस्कोमा होटलबाट निस्किँदै गरेको फोर्डमाथि एक गोली चलाइन् । तर, गोली फोर्डलाई लागेन । 

१९१२ मा चुनावी अभियानमा रहेका पूर्वराष्ट्रपति थियोडर रुजबेल्टको छातीमा गोली प्रहार भएको थियो। तर, गोलीको अधिकांश तेज छातीको खल्तीमा भएका चिजबिजमा ठोक्किएर कम भयो । जसका कारण गोली उनको छातीमा ज्यादा भित्रसम्म जान पाएन । र, छातीमा गोली बोकेरै उनी चुनावी भाषण गर्न गएका थिए ।

राष्ट्रपतिको उम्मेदवार नभए पनि ठूलो राजनीतिक शक्ति र समर्थक भएका मार्टिन लुथर किङ जुनियरको हत्या पनि १९६८ अमेरिकाको इतिहासको भयानक घटनाको रुपमा दर्ज भएको छ ।

पछिल्ला ९ राष्ट्रपतिमध्ये कम्तीमा ७ जनामाथि हत्याको अभिप्रायले आक्रमण भएको थियो । १९८१ रोनाल्ड रेगनको झण्डै ज्यान गएको थियो । १९९४ मा बिल क्लिन्टन राष्ट्रपति छँदा ह्वाइट हाउसमै गोली चलेको थियो । जर्ज डब्ल्यू बुस जर्जिया भ्रमणमा रहँदा ग्रिनेड आक्रमण भएको थियो, तर विस्फोट नहुँदा उनलाई केही भएन । 

प्रकाशित मिति: सोमबार, असार ३१, २०८१  ०६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update