News 24 Television
प्रधानमन्त्री फेरिएपछि रोकियो त्रिविको सभा, प्रचण्डले दिए धन्यवाद

काठमाडौँ । सोमबार हुने भनिएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभा स्थगित भएको छ । त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख भीमप्रसाद श्रेष्ठले राजनीतिक परिस्थितिका कारण सभा स्थगित गर्नुपरेको जानकारी दिए ।

    यही असार ३१ गते सोमबार त्रिविसभाको बैठक डाकिएको थियो । उक्त सभाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विश्वासको मत नपाइसकेको अवस्थामा स्वतः पदमुक्त भएपछि र नयाँ प्रधानमन्त्री नियुक्त हुने प्रक्रियामा रहेकाले यस समयमा सभा गर्न समस्या भएको हो । 

    यसअघि त्रिविका कुलपति एवम् प्रधानमन्त्रीले त्रिविसभा असार ३१ गते गर्ने निर्णय गरेका थिए । 

   यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिविकाे शैक्षिक क्यालेन्डर लागू गरेकामा विश्वविद्यालयका पदाधिकारीलाई धन्यवाद दिएका छन् । आज प्रधानमन्त्रीको निजी निवास खुमलटारमा त्रिविका उपकुलपति प्राध्यापक डा केशरजङ्ग बराल, रजिष्ट्रार डा केदारप्रसाद रिजाल, शिक्षाध्यक्ष डा खड्ग केसीसँग भेट गर्दै प्रधानमन्त्री दाहालले धन्यवाद दिएका हुन् ।

    सो क्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन विश्वविद्यालयका पदाधिकारीको नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम कार्यकारी परिषद्बाट पारित गरेकामा समेत धन्यवाद दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    भेटमा त्रिविका पदाधिकारीले प्रधानमन्त्री दाहालको कार्यकालमा शिक्षा क्षेत्र र विश्वविद्यालय सुधारमा ऐतिहासिक कामहरू भएको भन्दै त्रिवि सुधारमा आफूहरू पूर्ण समर्पणभावका साथ खटिने बताएका थिए ।

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update