News 24 Television
सार्क विद्यार्थीबीच आकर्षक बन्दै नेपाली मेडिकल शिक्षा 

काठमाडौँ । उच्च शिक्षाका लागि नेपाली विद्याथीको भीड विमानस्थलमा थामिनसक्नु भइहँदा नेपालको चिकित्सा शिक्षामा भने विदेशी विद्यार्थीको आकर्षण गज्जबसँग बढिरहेको छ । सरकारी र निजी मेडिकल कलेजहरुमा पछिल्लो तीन वर्षयता १ हजार २ सय ४३ जना विदेशी विद्यार्थी भर्ना भएका छन् । सस्तोमा गुणस्तरीय शिक्षा पाउने भन्दै भारत, माल्दिभ्स , श्रीलंका लगायता दक्षिण एसियाली देशहरुका विद्यार्थीहरु चिकित्सा शिक्षा अध्ययन गर्न नेपाल आउने गरेका हुन् ।

दक्षिण एसियाली राष्ट्रहरुमा नेपालको चिकित्सा शिक्षाको आकर्षण बढ्दै गएको पाईएको छ । तीन बर्षमा चिकित्सा शिक्षाको स्नातकतह (एमबीबीएस) अध्ययन गर्न १ हजार १ सय ८१ जना विदेशी विद्यार्थी नेपाल आएका छन् भने एमडी एमएस गर्न ६२ जना विद्यार्थी भर्ना भएका छन् । चिकित्सा शिक्षा ऐनले बार्षिक ५ सय ५० जना बढी विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा एमबीबीएसमा भर्ना हुन पाउने व्यवस्था गरेको छ । कोरोना संक्रमणका कारण विद्यार्थी संख्या घटेपनि हाल क्रमशः बढ्दै गएको तथ्यांक छ । विदेशी विद्यार्थीहरुको हकमा चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा पास गर्नुपर्ने व्यवस्था छ । तर चिकित्सा शिक्षा ऐन जारी हुनुअघि मेडिकल कलेजहरूले सयौं विदेशीलाई सिधै भर्ना लिने गर्थे । नेपालको चिकित्सा शिक्षा दक्षिण एसियाली अरु राष्ट्रको तुलनामा सस्तो र गुणस्तीय मानिन्छ । 

त्यस्तै नेपालका शिक्षण अस्पतालहरुमा आउने विरामीको संख्या उल्लेख्य हुने गर्दा विद्यार्थीहरुले अध्ययन गर्दैगर्दा चिकित्सकीय अभ्यास पनि राम्रैसँग गर्न पाउछन् । यस्ता कारणले पनि नेपालको चिकित्सा शिक्षा विदेशी विद्यार्थीको रोजाईमा पर्न थालेको हो । 

भारतबाट मात्रै वर्षेनी २० हजार बढि युक्रेन चिकित्सा शिक्षा अध्ययन गर्न जाने गरेको तथ्यांक छ । तर रुस युक्रेन युद्ध शूरु भएपछि युक्रेन जाने भारतीय विद्यार्थीको संख्या ठप्प छ । भारतमा मात्रै भारतीय १ करोड रुपैयाँ बढि खर्च हुँदा नेपालमा भने एमबीबीएस करिब १ करोड नेपाली रुपैयाँमै सकिन्छ । त्यसैले पनि सरकारले विदेशी मुद्द्रा आर्जनको माध्यम बनाउन समेत विदेशीलाई चिकित्सा शिक्षमा धेरै कडाइ गर्न नुहने विज्ञहरुको तर्क छ । 

नेपालमा विशेषगरी भारत, माल्दिभ, श्रीलंका, भुटान लगायतका दक्षिण एसियाली देशहरुबाट चिकित्सा शिक्षा अध्ययन गर्न विद्यार्थी आउने गरेका छन् । त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान काठमाडौं, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरास्थित मणिपाल मेडिकल कलेज, भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज र जनकपुरको जानकी मेडिकल कलेजमा भारतीय विद्यार्थी बढी आउने गरेका छन् । ऐनले निजी मेडिकल कलेजले कुल सिट संख्याको ५० र सार्वजनिक शिक्षण संस्थाले एक तिहाइ विदेशी विद्यार्थी भर्ना हुन पाउने व्यवस्था गरेको छ । 

ऐनमा भएको व्यवस्था अनुसार मेडिकल शिक्षाको स्नातक तहको २१ विषयमा एउटै शैक्षिक सत्रमा २ हजार भन्दा बढी विदेशी विद्यार्थी भर्ना हुन पाउँछन् । तर एमबीबीएस, बीडीएस र फार्मेसीबाहेक अन्य विषय अध्ययनमा भने विदेशी विद्यार्थीको आवेदन नै नपर्ने चिकित्सा शिक्षा आयोगले जनाएको छ । एमडी एमएस गर्न पनि निकै कम मात्र विदेशी विद्यार्थी आउने गरेका छन् । एमडीएसका धेरै विषय भारत लगायतमा देशमा सिफारिस नभएका कारण विद्यार्थी संख्या कम भएको काउन्सिलले जनाएको छ ।  

चिकित्सा शिक्षालाई थप व्यवस्थित र आकर्षण बढाउन आयोगले चिकित्सा शिक्षा नीति, जनशक्ति प्रक्षेपण, स्नातक तहमा राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार पारेको छ । आयोगले १३ विषयको पाठ्यक्रम तयार पारिएको जनाएको छ । विदेशी विद्यार्थीहरुको आकर्षण रहेको बीपी प्रतिष्ठान र चिकित्सा शिक्षा अध्ययन संस्थानमा सीमित कोटा रहेकाले विदेशी विद्यार्थीको संख्या थप बढाउन नसकेको आयोगका पदाधिकारीहरु बताउँछन् । 

 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update