News 24 Television
ठमेलमा रवि लामिछानेको योजना चलेन, कसरी टार्ने संकट ? 

काठमाडौँ । विदेशबाट नेपाल घुम्न आउने ८० प्रतिशत पर्यटकहरू उत्साहका साथ ठमेल पुग्छन् । ठमेल पर्यटन व्यवसायको क्षेत्रमात्र नभई परापूर्वककालदेखि जीवन्त रहेको स्थानीय संस्कृतिको स्थल पनि हो । तर, पछिल्ला दिनहरुमा ठमेलमा खास उत्साह छैन । सरकारले ठमेललाई चौबीसै घण्टा खुला गर्ने व्यवस्था गरे पनि त्यो पूर्ण कार्यान्वयनमा ल्याउन सकिएको देखिदैन भने, अन्य विकृतिहरु समेत बढ्दै गएको देखिन्छ । यस्तो अवस्थामा ठमेल पर्यटन विकास परिषद् नयाँ नेतृत्व चयनमा होमिएको छ । के छन् त पदाधिकारीका लागि दाबेदारहरुका ठमेल सुधार योजना ? 

काठमाडौंको ठमेल बजार, ठमेल भन्ने वित्तिकै आमबुझाई छ, यो विदेशी पर्यकटहरु आउने र बस्ने ठाउँ हो । यहाँ रात्रिकालीन जीवन रमाईलो हुन्छ । स्वदेशी तथा विदेशी पर्यटकहरुको रोजाईमा पर्छ ठमेल । त्यसैले पनि सरकारले काठमाडौंको पर्यटकीय केन्द्र ठमेल र दरबारमार्गका सबै व्यवसायलाई समेटेर चौबीसै घन्टा खुला गर्ने व्यवस्था ल्यायो । तर, सरकारको यो प्रयास अझै कार्यान्वयनमा आउनै सकेको छैन । अहिले ठमेल पर्यटन विकास परिषद् निर्वाचनको सम्मुखमा छ । अबको कार्यसमितको मुख्य चुनौती पनि ठमेललाई चौबीसै घन्टा जिवन्त राख्नु बनेको छ । 

ठमेललाई २४ सै घण्टा सञ्चालन गर्न गृहमन्त्रालयबाट आचारसंहिता लागू गरिएको भए पनि व्यवसायीहरूले असुरक्षित महशुस गरेका कारण पनि बजार चलायमान हुन सकेको छैन । पर्यटन प्रबद्र्धनको दृष्टिकोणले ठमेल महत्वपूर्ण गन्तव्य भएपनि केही व्यवसायीहरूको स्वार्थ बाझिँदा पर्यटकीय नगरिका रुपमा सबैले अपन्त्व महशुस गर्दैनन् । शान्ति सुरक्षा, ट्राफिक, फोहोर व्यवस्थापन, व्यवस्थित ठमेलका लागि परिषद्का उम्मदबारहरूले सक्दो प्रतिबद्धता जनाएका छन् । 

व्यवसाय मात्र होइन, पछिल्लो केही वर्ष यता ठमेल क्षेत्रमा अनेक विकृति, हकर तथा ब्रोकरको समस्या पनि छन् । पहिला केही मात्रामा भारतीयहरुको उपस्थिति रहेको ठाउँमा अहिले चिनियाँहरुको बाहुल्यता बढिरहेको छ । नेपाली व्यवसायीहरूलाई प्रोत्साहन गर्नुपर्ने चुनौति पनि छ । ठमेललाई प्रविधिको विकाससंगै डिजिटल रुपमा अगाडि बढाउन पनि आवश्यक छ । वाकिङ फ्रेन्ड्ली ठमेल, ठमेलको वैज्ञानिक र प्रष्ट म्यापिङ, फ्रि वाईफाई, पर्यटक फुटपाथ र आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिन पनि जरुरी रहेको परिषद्का उम्मेदवारहरूको बताउँछन् । 

ठमेल पर्यटन विकास परिषद्को साधारणसभा एवम् अधिवेशन जारी रहेको यस अवस्थामा अबको नेतृत्वले ठमेलको समग्र विकासका लागि रणनीति बनि अघि बढ्नुु आवश्यक छ । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update