News 24 Television
चार महिनामै फेरिन सक्छ सत्ता समीकरण, प्रचण्डका लागि अनुकूल हुने दाबी

काठमाडौँ । डेढवर्षे कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा पाचौँपटक विश्वासको मत लिएका छन् । यसबेला संसदका प्रमुख दल काँग्रेस–एमाले मिलेकाले तेस्रो दलका प्रधानमन्त्रीले विश्वासको मत पाउने कुरै थिएन । तैपनि संसदमा गरामगरम बहस चलाएर उनले विश्वासको मत लिइछाडे । उनको पक्षमा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी तथा रास्वपाको मात्रै साथ रह्यो । काँग्रेस–एमाले–राप्रपा लगायत अन्य दल विपक्षमा उभिएका छन् । 

विश्वासको मत माग्नुअघि प्रधानमन्त्री प्रचण्डले संसदमा लामो सम्बोधन गर्दै कतै आक्रोशित, कतै भावुक त कतै सशंकित हुँदै आफ्ना कुरा राखे । असार १७ गतेको एमाले अध्यक्ष केपी ओलीले आफूसँग स्वर्ग गए पनि सँगै जाने र नर्क गए पनि सँगै जाने भनेर लामै छलफल गरेको, आफूलाई फकाएको र त्यसै रात काँग्रेससँग मिलेर आफूविरुद्ध ठूलो षडयन्त्र गरेको आरोप लगाए । संसद विघटन गर्न बानी परेका ओलीले आफूलाई नैतिकताको पाठ पढाउन नहुने भन्दै प्रचण्डले आक्रोश समेत पोखे । आफूलाई लामा लामा संवाद र मीठा कुरा गरेर भ्रममा पारेर ओलीले काँग्रेससँगको गठबन्धन टुटाउन सफल भएको र चार महिनामै आफूविरुद्ध समेत धोका र षड्यन्त्र रचेको उनको गुनासो थियो । 

बरु काँग्रेस सभापति शेरबहादुर देउवाप्रति भने प्रचण्ड नरम रुपमा प्रस्तुत भए । डेढ वर्षअघि प्रधानमन्त्री बन्ने क्रममा २०७९ पुस १० गते देउवाको जुन हालत भएको थियो, सोही हालत अहिले आफ्नो भएको प्रचण्डको भनाइ रह्यो । यसको मतलब प्रचण्डबाट पुस १० मा प्रधानमन्त्री बन्नै लाग्दा धोका पाएका देउवामाथि प्रचण्डको सहानुभूति देखिन्थ्यो । तर आफूलाई झुक्याएर ओलीले उसैगरी धोका दिँदा ओलीसँग आक्रोशित देखिन्थे । आखिर धोका त धोकै हो, प्रचण्डले पनि पालैपालो ओली–देउवालाई धोका दिएकै हुन् । यसपटक ओली–देउवाले प्रचण्डसँगको इबी फेरेर धोका दिए । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको बन्द कोठामा गोप्य सम्झौता गर्ने एमाले–काँग्रेस वर्तमान सरकारले भ्रष्टाचारका फाइल खोल्दा डराएर एकठाउँ उभिएको बताए । काँग्रेस–एमालेबीच विश्वासका सहमति र सहकार्य नभएको भन्दै उनले हाललाई स्वार्थ समूह र माफिया वर्गले उनीहरुलाई मिलाइदिएको र त्यो सहकार्य दिगो नहुने समेत बताए ।

काँग्रेस–एमाले सहकार्य विश्वासका आधारमा नअडेको दाबी गर्ने प्रचण्डलाई चार महिनापछि नै सत्ता समीकरण फेरिने संकेत एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले गरेका छन् । उनले चार महिनापछि नै राजनीतिक परिस्थिति प्रचण्डका लागि अनुकुल हुने भन्दै काँग्रेससँगको सम्बन्धलाई सन्तुलनमा राख्न आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै चौधरीले वर्तमान सत्ता गठबन्धन भत्किनुमा काँग्रेस सभापति देउवालाई दोष नदिन र देउवासँगको सम्बन्धलाई सन्तुलनमा राखिरहन उनले सुझाव दिए । चार महिनापछि नै काँग्रेस–एमाले सहकार्यमा फेरबदल आउन सक्ने र परिस्थिति प्रचण्डका लागि अनुकुल हुने उनको दाबी थियो । ओलीले फेरि संसद विघटन गर्न सक्नेतर्फ संकेत गर्दै चौधरीले देउवालाई देशको लोकतान्त्रिक राज्य व्यवस्थालाई कमजोर हुनेगरी संसद विघटनको साक्षी नबस्न पनि सुझाव दिएका छन् । 

त्यसअघि काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्ड जबरजस्त प्रतिपक्षी दलको नेता बन्न उपयुक्त पात्र भएको बताउँदै काँग्रेस–एमाले मिल्दा लोकतन्त्र कमजोर नहुने बताए । प्रधानमन्त्रीको पद गुम्न लाग्दाको पीडा र आक्रोशका साथै  प्रचण्ड इमोशनल भावबाट प्रेरित र निर्देशित रहेको उनको भनाइ थियो । आफूहरुले प्रचण्डमाथि कुनै वाद, प्रतिवाद नगर्ने, कटुता पनि नपाल्ने लेखकले बताए । 

प्रधानमन्त्री प्रचण्डका कतिपय कुरा एमाले, काँग्रेस, राप्रपाका सांसदले खण्डन गरेका छन् । तर कतिपय कुरामा उनीहरु पनि गम्भीर देखिन्छन् । संविधान संशोधन लगायत मुद्दामा अघि बढ्ने हो भने प्रचण्डको साथ पनि चाहिन्छ भन्ने उनीहरुलाई थाहा छ । काँग्रेस–एमाले मिलेर स्थिरता दिने भनिए पनि धेरैले उनीहरुको सहकार्य लामो नटिक्ने बताइरहँदा संसदमै पनि यसबारे रोचक बहस भएको छ । प्रचण्डले परिस्थिति आफूअनुकूल बनाउन फेरि खेल्न सक्ने ठाउँ कायमै रहेकाले केही महिनापछि काँग्रेस–एमाले समीकरणमा फेरबदल नआउला भन्न सकिन्न । 
 

प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update