काठमाडौं । सुरुसुरुमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमालेसँग निकटस्थ देखिन्थ्यो । हुन पनि एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति रवि लामिछानेको राजनीतिक व्यवहार त्यस्तै थिए । तत्कालीन समय एमालेले काँग्रेसको साथ छोडेर आएका प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गर्यो । त्यसपछि एमालेसँगै रास्वपा पनि न्यूनतम साझा कार्यक्रम बनाएर सरकारमा जान सहमत भयो ।
उक्त सरकारमा रास्वपाले उपप्रधानसहित गृहमन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त गरेको थियो । त्यो सयम प्रचण्ड नेतृत्वको सरकार बनाउन केपी ओलीले नै चाँजोपाँजो मिलाएका थिए । केही समय रवि सरकारमा समेत रहे । तर पछि नागरिकता प्रकरणमा दोषी ठहरिएका उनले संसद पद नै गुमाउनु पर्योे । त्यसपछि सत्ता समीकरण पनि परिवर्तन भयो । प्रचण्डले पुनः काँग्रेससँग समीकरण बनाए ।
यो बेला रास्वपा एमालेसँगै सत्ता बाहिर पुग्यो । त्यसपछि उपनिर्वाचन सम्पन्न भयो । र, रवि पुनः संसदमा प्रवेश गरे । समयक्रमसँगै पुनः माओवादी र एमालेबीच सहकार्यको समझदारी भयो । यसक्रममा सत्तामा रहेको नेपाली काँग्रेस प्रतिपक्षमा पुग्यो । र, एमालेसँगकै समझदारी अनुसार भएको नयाँ समीकरणमा रास्वपा पनि सरकारमा आयो । यी राजनीतिक घटनाक्रमले एमालेप्रति रास्वपाको केही झुकाव रहेको भन्ने टिप्पणी गरिन्थ्योे । तर अहिले परिस्थिति फरक बनेको छ । प्रचण्ड नेतृत्वको सरकार एमालेलेले समर्थन फिर्ता लिएपछि ढलिसकेको छ ।
यो सँगै सत्तामै सहकार्य गरेका रास्वपा र नेकपा एमालेबीच राजनीतिक दुश्मनी बढेको छ । गृहमन्त्रीको भूमिकामा रहेर विभिन्न भ्रष्टाचार काण्डको अनुसन्धान हुँदा र दोषी पक्राउ पर्दा एमालेले सरकार छोडेको रविकै तर्क छ ।
भर्खरैसम्म सत्ताको नेतृत्व गरेको संसदको तेस्रो ठूलो दल माओवादी केन्द्र र चौँथो ठूलो दल रास्वपालाई बाहिर राखेर नयाँ सरकार बन्ने तयारी भइरहेको छ । जबकी यसअघि माओवादीले सरकारको नेतृत्व गरेको थियो, रवि गृहमन्त्री थिए । तर एकाएक दुई ठूला दलहरु नेपाली काँग्रेस र एमालेले रातारात गरेको समझदारीलाई भ्रष्टाचारी जोगाउने खेल भन्ने आक्षेप पनि छ । जुन गृहमन्त्री रविले नै पनि संसदको रोष्टममै उभिएर यही दावी गरेका छन् ।
नक्कली भूटानी शरणार्थी प्रकरण तथा गिरिबन्धु टि स्टेटजस्ता ठूला भ्रष्टाचारको काण्डहरुमाथि अनुसान्धान गर्दा नै काँग्रेस–एमालेका नेताहरु पक्राउ पर्ने त्रासका कारण विभिन्न बहानामा सरकार ढालिएको रविले रविको भनाइ छ । यसलाई प्रधानमन्त्री प्रचण्डले नै पनि संसदबाट थप प्रष्ट पारको छन् ।
सरकारमा रहेर विभिन्न भ्रष्टाचारका फाइल र त्यसमाथि अनुशन्धान गर्दा काँग्रेस एमाले मिलेको निश्कर्ष निकालेको रास्वपा पनि अब प्रतिपक्षमा बस्ने निश्चित छ । एमाले अध्यक्ष ओलीले काँग्रेसको समर्थनसहित राष्ट्रिपति समक्ष बहुमत सांसदहरुको हस्ताक्षर बुझाइसकेका छन् । यो क्रमसँगै मुख्यगरी काँग्रेस एमाले सम्मेलित सरकार बन्ने पक्का छ ।
प्रचण्डलाई रविको दरिलो साथ
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पाँचौँ पटक विश्वासको मत सामना गरे । डेढ वर्ष भित्रै लगातार ५ पटक विश्वासको मत लिनु परेको अवस्थामा ४ पटक उनले संसदको बहुमत पक्षलाई आफ्नो कित्तामा पार्न सफल भए । तर दुई ठूला दलहरु एकतातिर हुँदा पाँचौँ पटकको संकटलाई भने उनले पार गर्न सकेनन् ।
मुख्यगरी एमालेले नै सृजना गरेको यो संकटमा विगतमा ओलीको इसारामा चल्ने भनिएको रास्वपाले प्रचण्डलाई राम्रो साथ दियो । यही साथले संसदमा प्रतिपक्ष केही बलियो हुने अवस्था बनेको छ । प्रचण्डको पक्ष लिन रास्वपा यतिमा मात्रै सीमित छैन । संविधान र व्यवस्थामा आँच पुग्लाकी भनेर चिन्ता बोकेर बसेको माओवादीलाई रास्वपाले उसकै पक्षमा सशक्त आवाज पनि उठाइदियो ।
माओवादी अध्यक्ष प्रचण्ड सत्ता सहयात्री दल नेकपा एमालेले आफूलाई छलकपट गरेर धोका दिएको भन्दै गुनासो गर्दै आइरहेका छन् । प्रचण्डले संसदमै पनि ओलीले काँग्रेससँग रातारात सम्झौता गरेर आफूलाई गठबन्धन कायमै रहेको भन्दै ढाँटेकामा दुख व्यक्त गरे । यो अवस्थामा प्रचण्डलाई रास्वपाले समर्थनसहित सान्त्वना दिएर ठूलै गुन लगाएको छ । विशेषतः संविधानको रक्षा र संदनमा एमालेको पेलान सामना गर्न रास्वपाले दिएको साथ प्रचण्डलाई महत्वपूर्ण बनेको देखिन्छ ।
हुन त गृहमन्त्री रहँदा रविलाई प्रचण्डले विनाअंकुश निर्वाद रुपमा कार्यसम्पादन गर्ने छुट दिएको बताइन्छ । यद्यपि सत्ता कायमै रहेका बेला एमालेले सरकारबाट समर्थन फिर्ता लिइदियो । यही कारण प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । यस लगत्तै माओवादी र रास्वपा भने प्रतिपक्षी कित्तमा पुगेका छन् । सरकारमा हुँदा राम्रो तालमेल बनाएका माओवादी र रास्वपाको प्रतिपक्षमा रहँदा पनि बेजोड सहकार्य हुने लगभग निश्चित छ ।