काठमाडौं । केहीदिन यता निरन्तर परेको झरिका कारण कास्कीको पोखरा महानगरपालिका १९ पुरञ्चौरमा पहिरो जाँदा एकै परिवारका सात जनाले ज्यान गुमाएका छन् । कास्की पुरञ्चौरमा भएको यो घटना यो बर्खाकै सबैभन्दा बढी मानवीय क्षति भएको घटना हो जसका कारण सिंगो गाउँ नै शोकमा डुवेको छ ।
शुक्रबार बिहान पोखराको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निकै बाक्लो भीड थियो । सबैको बोली अड्किएको थियो । कोही अनुहार छोपेर सुक्क–सुक्क गर्दै थिए त कोही डाको छोडेर रुँदै थिए ।
दृश्यमा देखिएका मानिसहरू कास्की पोखरा महानगरपालिका वडा नं १९ पुरञ्चौरका स्थानीय हुन् । घटना बिहीबार राति १०ः२० बजेको हो ।
पुरञ्चौर तल्लाकोट स्थित कुल बहादुर परियारको परिवार खाना खाएर सुतिसकेको थियो । ठिक त्यही बेला घर पछाडिबाट पहिरो खस्यो र सबैलाई पुर्यो । पहिरोमा परि कुल बहादुरको परिवारका ७ जनाको ज्यान गएको छ ।
४६ वर्षीय कुलबहादुर, ४३ वर्षकी मनकुमारी, ८५ वर्षीय आमा लक्षीमा, १५ वर्षीय छोरी प्रस्ना र माइत आएका छोरो ज्वाइँ प्रभा परियार र अस्मित परियार गरि ६ जनाको ज्यान गएको छ, त्यस्तै पहिरोमा परेकालाई उद्दार गर्ने क्रममा लडेर ५६ वर्षीया राधिका परियारले पहिरोमभा परि ज्यान गुमाए ।
कुलबहादुरका १७ वर्षीय छोरा पवन परियार भने पहिरोले उछिट्याए पनि बाँच्न सफल भएका छन् । घटना लगत्तै उद्दार कार्यच चले पनि कसैलाई जोगाउन नसकेकोमा स्थानीयहरु निकै दुखित छन् ।
निरन्तरको झरी त्यसपछि आएको बाढी र पहिरोले पुरञ्चौरलाई तहसनहस बनाएको छ । सिंचाईका अधिकांस संरचनाहरु बगाइदिएको छ ।
शुक्रबार नै पहिरोमा परि निधन भएकाहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टम गरि अन्तिम संस्कारका लागि शव आफन्तलाई बुझाइएको छ । कास्की पुरञ्चौरमा भएको यो घटना यो बर्खाकै सबैभन्दा बढी मानवीय क्षति भएको घटना हो ।
यस्तै पोखरा महानगरपालिका ३२ चैनपुरमा पहिरोमा परि स्थानीय आरती ओझाकी छोरी १८ वर्षीय अनिता ओझा, अर्को छोरी ११ वर्षीय अनुष्का ओझा र दाइको छोरा ९ वर्षीय प्रतीक सुवेदी गरि ३ जना मृत अवस्थामा फेला परेका छन् ।
यता कास्की मादी गाउँपालिका ११ तल्लो साप्लेमा पहिरोले घर पुर्दा ८० वर्षीय माइती कुमारी गुरुङको मृत्यु भएको छ । यसरी अविरल वर्षाका कारण बिहीबार राति मात्रै कास्कीमा ११ जनाले ज्यान गुमाउनु पर्यो ।