News 24 Television
प्रचण्डको साथमा को-को बाँकी रहे ?

काठमाडौँ । २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका पुष्पकमल दाहाल प्रचण्ड एमाले र कांग्रेससँग पालैपालो गरी ३ पटक समीकरण बदले । सत्ता राजनीतिक र गठबन्धन भत्काउने अभिष्टले गर्दा पटक पटक धोका पाएरै पनि कहिले एमालेले साथ दियो त कहिले कांग्रेसले । सत्ता जोगाउनका लागि राजनीतिक दललाई समेत फुटाउन सफल भएका प्रचण्डलाई अब भने ती दलहरुले पनि साथ नदिने भएका छन् । 

प्रमुख सत्ता सहयात्री दल नेकपा एमाले असार १७ गते राती नेपाली कांग्रेससँग नयाँ सत्ता समीकरणको सहमति गर्दै सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार पाँचौं पटक विश्वासको मत लिँदैछन् । 

२०७९ पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले यहिबीच तीन पटक समीकरण बदले भने चार पटक विश्वासको मत लिइसकेका छन् । एमालेको साथ पाएपछि सत्ता सहयात्री अन्य दललाई वेवास्ता गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री प्रचण्डसँग निकै रुष्ट थिए । यता सरकारमै रहेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव पनि प्रधानमन्त्रीको कामप्रति बेखुशी थिए । त्यसैले उनले प्रचण्डलाई हटाउन नेपाली कांग्रेससँग हात बढाउँदै थिए । तर प्रचण्ड उपेन्द्रको पार्टी नै फुटाएर सत्ता जोगाउन सफल भए । 

जसपा नेपाल मात्रै होइन, थरुहट आन्दोलनको जगमा बनेको नागरिक उन्मुक्ति पार्टीलाई पनि प्रचण्डले त्यसैगरी उपयोग गरे । सत्तारुढ दल एकपछि अर्को गरी सरकारबाट बाहिरिएर चार चार पटक विश्वासको मत लिँदा पनि प्रचण्डका सारथि बनेका ती दलहरु पनि अन्ततः प्रचण्डसँग टाढिएका छन् । 

प्रचण्ड नेतृत्वको सरकार ढाल्ने प्रपण्च रचेको भन्दै पार्टी फुटाएर नयाँ दल बनाएका अशोक राईदेखि नाउपासमेतले शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णयमा पुगेका छन् । केही दिनअघि नै संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाएको नाउपाले सरकारको समर्थन फिर्ता लिइसकेको छ भने अशोक राई नेतृत्वको जसपाले समर्थन फिर्ता लिँदै विपक्षमा मतदान गर्न ह्वीप नै जारी गरेको छ । उपेन्द्र भने पार्टी विभाजन लगत्तै सरकारबाट फिर्ता भएका थिए । 

नेकपा एकीकृत समाजवादी बाहेक सत्ता सहयात्री दलहरुले नै प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । पार्टीको आन्तरिक किचलोमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी भने विश्वासको मत दिने नदिने निर्णयमा पुगिसकेको छैन । उनले शुक्रबार मात्रै संसदीय दलको बैठक बोलाएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update