News 24 Television
काँग्रेस–एमालेबीच खटपट सुरु, गगन–विश्वप्रकाश प्रतिपक्षमा, सहमति किन गोप्य ?

काठमाडौँ । प्रमुख ठूला दल काँग्रेस र एमालेले सत्ता–सहमति गरेसँगै विभिन्न खाले आशंका र चर्चा जारी छन् । अल्पमतका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाउने लगभग पक्का छ । त्यसलगत्तै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने तयारी थालेका छन् । यससँगै सरकारमा को–को जाने, कस्तो मन्त्रिमण्डल बन्नेबारे चासो र चर्चा समेत सुरु भएको छ । काँग्रेस–एमालेबीच कुन–कुन मन्त्रालय भाग लगाउने भन्नेबारे टुंगो लागिसकेको छैन । केही साना दलहरु पनि सरकारमा जान र भाग खोज्न तयार भएर बसेका छन् । तर काँग्रेसभित्रकै प्रभावशाली नेता मानिने महामन्त्रीहरु विश्वप्रकाश शर्मा र गगन थापाले आफूहरू ओली नेतृत्वको सरकारमा नजाने घोषणा गरिसकेका छन् । 

हालसम्म सरकारमा सहभागी नभएका काँग्रेस उच्च पदाधिकारीमध्ये महामन्त्री शर्मा एक्ला हुन् । संसदका प्रमुख ठूला दल आफै सरकारमा जाँदा प्रतिपक्षी शक्ति कमजोर हुने चिन्ता जायज रहेको बताउँदै शर्माले आफू प्रतिपक्षी स्वर कमजोर हुन नदिनका लागि सरकारमा नजाने बताए । बिहीबार आफ्नो निर्वाचन क्षेत्र झापा पुगेर अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले आफू सरकारमा सहभागी नहुने बताएका हुन् । अर्का महामन्त्री गगन थापाको नेतृत्वमा काँग्रेस सरकारमा जानु उचित हुने शर्माको सुझाव छ ।

तर अर्का महामन्त्री थापाले पनि आफू सरकारमा नजाने बताइसकेका छन् । बिहीबारै विराटनगरमा थापाले पार्टीमा बसेर आफुले महामन्त्रीकै रुपमा काम गर्ने र सरकारमा नजाने बताएका हुन् । उनले एमाले–काँग्रेसबीच यही असार १७ गते राति भएको सातबुँदे गोप्य सहमति नयाँ सरकार गठनको प्रक्रियामा गएपछि मात्रै सार्वजनिक गरिने बताएका छन् । दुवै पार्टी मिलेर सरकार सञ्चालन गर्ने र संविधान संशोधन गर्ने सहमति भएको उनको भनाइ छ । तर काँग्रेस–एमालेले चाहेर मात्र संविधान संशोधन हुने नसक्ने थापाले बताए । दश वर्षको अवधिमा संविधान कार्यान्वयन गर्दै जाँदा देखिएका त्रुटिलाई सच्याउन सबै राजनीतिक दलको साथ र समर्थन आवश्यक हुने उनको भनाइ । 

ओलीले नयाँ सरकार प्रभावकारी बनाउने बताइरहँदा काँग्रेसका प्रभावशाली नेताहरु भने ओली सरकारको प्रतिपक्षमा बस्ने देखिएका छन् । यसले काँग्रेस–एमाले सहमतिबीच केही न केही रहस्य रहेको र ओली नेतृत्वको सरकार कति महिना टिक्छ भन्ने नै भर नरहेको दर्शाउँछ । यसअघि ओली स्वयंले काँग्रेस गठबन्धन फुटाएर प्रधानमन्त्री प्रचण्डलाई आफू अन्तरगत ल्याएपछि सरकारमा तल्लो तहका नेता मात्रै पठाएका थिए । एमालेले अर्थ, गृहजस्ता मुख्य मन्त्रालय नै छाडिदिएको थियो भने मुख्य नेताहरु सरकारमा गएनन् । यसको अर्थ प्रचण्ड सरकारलाई टिकाउने रणनीति एमालेको थिएन र वातावरण आफूअनुकूल बनेपछि प्रचण्डलाई धोका दिएर ओली स्वयं प्रधानमन्त्री बन्न लागेका छन् । यही अवस्था काँग्रेसभित्र देखिँदैछ, ओली नेतृत्वमा बन्ने सरकारप्रति काँग्रेसकै प्रभावशाली व्यक्तिमा अविश्वास देखिन्छ । 

काँग्रेसका पूर्वमहामन्त्री सशांक कोइरालाले कांगे्रस–एमाले मिलेर सरकार चलाउँदा निरंकुश हुन सक्ने समेत बताएका छन् । दुई ठुला पार्टी मिलेपछि एकतन्त्रीय सासन लागु हुने डर भएकाले सन्तुलन मिलाउनुपर्ने उनको भनाइ छ । 

सत्ता बहिर्गमनको तयारीमा रहेको नेकपा माओवादी केन्द्रले काँग्रेस–एमालेबीचको गोप्य सहमति अपारदर्शी रहेको बताउँदै सहमतिका बुँदा सार्वजनिक गरिनुपर्ने बताइरहेको छ । माओवादी केन्द्रका सांसद माधव सापकोटाले आइतबार संसदमै उक्त सहमति गोप्य राखिनुले अपारदर्शी रहेको ठहरिने बताएका थिए । काँग्रेस–एमालेबीच आधा–आधा कार्यकाल सरकार चलाउने सहमति भएकाले दुई ठूला दल मिल्दैमा स्थिरता नहुने उनको भनाइ थियो ।

माओवादीकै उपाध्यक्ष पम्फा भुसालले काँग्रेस–एमालेबीच अमुक व्यापारीको घरमा रातारात रहस्यमय र षड्यन्त्रमूलक ढंगले सहमति भएकाले त्यो माओवादीलाई मान्य नहुने बताएकी छन् । एक अन्तर्वार्तामा उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि रातारात काँग्रेस–एमाले मिलेको र संविधान संशोधनका नाममा मुलुकलाई पश्चगमनतिर फर्काउने षड्यन्त्र भइरहेको बताएकी छन् । सरकारबाहिर रहेर माओवादीले यसको प्रतिकार गर्ने उनको भनाइ छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update