News 24 Television
प्रधानमन्त्री प्रचण्डले पाँचौँ पटक विश्वासको मत लिँदै

काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे बस्नेछ । आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभाबाट विश्वास प्राप्त गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १५५ बमोजिम प्रश्ताव पेश गर्नुहुने र उक्त प्रश्तावलाई निर्णयार्थ प्रश्तुत गर्ने कार्यसूचि रहेको छ । 

प्रचण्डले प्रधानमन्त्रीमा नियुक्त भएपछि पाँचौँ पटक संसदबाट विश्वासको मत लिन लागेका हुन् । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेबीच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने समझदारी भएअनुसार एमालेले मन्त्रीहरुलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिएको थियो । 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । 

सोही व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत चाहिन्छ, जबकि अहिलेसम्म प्रचण्डसँग माओवादी (३२), रास्वपा (२१) र एकीकृत समाजवादी (१०) गरी जम्मा ६३ मत मात्र छ । 

त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाउने निश्चित छ । प्रचण्डलाई कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । 

विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम उनी पदमुक्त हुनेछन् र त्यसपछि नयाँ सरकार गठनको बाटो खुल्नेछ । नयाँ सरकार गठनको लागि आजै दाबी पेस गर्ने कांग्रेस र एमालेको तयारी छ । 

प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update