News 24 Television
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक पनि स्थगित

मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभा बैठक पनि स्थगित

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा मन्त्रीहरु अनुपस्थित भएपछि बैठक स्थगित भएको छ । प्रतिनिधि सभाको बैठक आज(बिहीवार) दिउँसो ४ बजे बस्नेगरी बोलाइएको थियो । करिव डेढ घण्टा ढिलोगरी बसेको बैठकमा कोहीपनि मन्त्री उपस्थित नभएपछि बैठक भोलि(शुक्रवार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । 

बैठक प्रारम्भ हुनासाथ नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले बैठकमा प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरु अनुपस्थित भएको भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । उनले संसद बैठक चलेको दिन प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित हुनुपर्छ भन्ने कुरा जानकारी छ कि छैन ? भनेर प्रश्न समेत गरेका थिए । उनले सभामुखलाई प्रधानमन्त्री र मन्त्रीहरु उपस्थित नभएको बैठक चल्छ कि चल्दैन भनेर प्रश्न समेत गरे ।

लगत्तै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा नियमावली २०७९ को नियम ६ को उपनियम(५) बमोजिम बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको जानकारी गराए । उनले बैठकमा कुनै पनि मन्त्रीको उपस्थिति नरहेको भन्दै बैठक भोलि बिहान ११ बजे बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।

प्रतिनिधि सभाको भोलिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको छ । यसअघि राष्ट्रिय सभाको बैठकमा पनि अर्थमन्त्री अनुपस्थित हुने सूचनाका आधारमा सभाध्यक्ष नारायण दाहालले आइतबारसम्मका लागि बैठक स्थगित गरेका थिए । 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update