News 24 Television
चालु आर्थिक वर्षमा कुन प्रदेशको खर्च कति ? 

काठमाडौँ । सरकारलाई चालु आर्थिक वर्षको १७ खर्ब ३१ करोड २१ लाख रुपैयाँ बजेट खर्च गर्न हम्मेहम्मे परेको छ । सरकारले कुल बजेटमा ८० प्रतिशत पनि खर्च गर्न सकेन । केन्द्र सरकारको जस्तै प्रदेश सरकारहरुको अवस्था पनि उस्तै देखियो । सातै प्रदेशले गरेको खर्च अनुपात बजेट अनरुप निराशाजनक छ । 

चालु आर्थिक वर्षको बजेटमा पनि सात प्रदेशमध्ये कर्णाली प्रदेश कमजोर देखिएको छ । भने मधेस प्रदेश दोस्रोमा रहेको छ । सबैभन्दा बढी भने कोशी प्रदेशले ७८.३७ प्रतिशत खर्च गरेको देखिएको छ । कुन कुन प्रदेशको अवस्था कस्तो रह्यो त ?

कोशी प्रदेश

कोशी प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि विनियोजन गरेको बजेट मध्येबाट ७७ प्रतिशतमात्र खर्च गरेको छ । पुँजीगततर्फ ७८.३७ प्रतिशत र चालुतर्फ ७५.३५ प्रतिशत खर्च रहेको कोशीमा असार २४ गते मात्रै २ अर्ब ३० करोड भन्दा बढी भुक्तानी भएको कोशी प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कोशीमा यो वर्षको खर्च २८ अर्ब ३६ करोड ७८ लाख ७६ हजार ६४४ रुपैया रहेको छ । जसमध्ये सवै भन्दा बढी खानेपानी मन्त्रालयमा भएको छ ।  

कोशी प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि ३६ अर्ब ८१ करोड ७४ हजारको बजेट ल्याएको थियो । जस अनुसार चालुतर्फ १६ अर्व ३९ करोड  ६५ लाख ९२ हजार रुयैया, पुजीगततर्फ २० अर्ब ४१ करोड २४ लाख ८२ हजार र वित्तीय व्यवस्थातर्फ एक करोड रुपैया विनियोजन गरेको थियो । 

मधेश प्रदेश 

मधेस प्रदेशमा चालु आर्थिक वर्षमा ठूलो मात्रामा बजेट फ्रिज भएको छ । ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट विनियोजन गरिएकोमा २०८० साउन १ देखि २०८१ असार २४ गते मध्य रातिसम्म चालुतर्फ २४ अर्ब ५९ करोड ४५ लाख ६५ हजार ६३२ रुपैयाँ मात्र खर्च भएको छ । यो खर्च कुल बजेटको ५५.७५ प्रतिशत मात्रै हो । चालुतर्फ १८ अर्ब ५३ करोड ८८ लाख ५८ हजार बजेट विनियोजन भएकोमा ९ अर्ब २९ करोड ७० लाख २ हजार १३७ रुपैयाँ मात्र खर्च भएको छ । यो खर्च चालुतर्फको कुल बजेटको ५०.१४९ प्रतिशत हो । 

पुँजीगततर्फ करिब ६० प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ २५ अर्ब ५७ करोड ५७ लाख ७४ हजार बजेट रहेकोमा १५ अर्ब २९ करोड ७५ लाख ६३ हजार ४९४ रुपैयाँ १६ पैसा मात्र खर्च भएको छ । यो खर्च ५९.८१३ प्रतिशत रहेको प्रदेश कोष लेखा नियन्त्रण कार्यालयका प्रमुख डा. विरेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।  

बागमती प्रदेश 

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ७२.८३ प्रतिशत खर्च गरेको छ । कुल ६२ अर्ब ७९ करोड ९० लाख रुपैंयामा बजेटमा ४५ अर्ब मात्रै खर्च गरेका हुन् । प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि कुल ६२ अर्ब बजेटमा चालु तर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँ र पूँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । 

बागमती सरकारले चालु खर्चतर्फ ६५ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ७९ प्रतिशत बजेट खर्च गरेको छ । वित्तीय व्यवस्थानतर्फ विनियोजन गरेको ५० करोड रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । 

गण्डकी प्रदेश 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा कुल बजेटको ६६.७७ प्रतिशत खर्च गरेको छ । चालु आर्थिक बर्षको लागि ल्याएको कुल ३३ अर्ब ४२ करोड ७ लाख रुपैंयामा बजेटमा २२ अर्व ३१ करोड ८२ लाख ८१ हजार रुपैया मात्रै खर्च गरेका हुन् । 

प्रदेश सरकारले चालु आर्थिक बर्षका लागि कुल ३३ अर्ब बजेटमा चालुतर्फ १२ अर्ब ७३ करोड ६७ लाख ३८ हजार रुपैयाँ र पूँजीगततर्फ २० अर्ब १९ करोड ४ लाख ६२ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु खर्चतर्फ ५९.९५ प्रतिशत बजेट खर्च गरेको छ भने पुँजीगततर्फ ७२.७२ प्रतिशत बजेट खर्च गरेको छ । गण्डकी प्रदेश सरकारले वित्तीय व्यवस्थातर्फ विनियोजन गरेको ५० करोड रुपैयाँ खर्च नभएको जनाएको छ । 

लुम्बिनी प्रदेश 

चालु आर्थिक वर्षमा प्रदेश सरकारले ल्याएको ४० अर्ब ४७ करोड ९७ लाखको बजेटमध्येबाट २६ अर्ब ७७ करोड ३५ लाख ११ हजार २ सय ३ रुपैयाँ मात्रै खर्च भएको छ । यस वर्ष कुल विनियाजन भएको बजेटको ६६ प्रतिशत मात्रै लुम्बिनी सरकारले खर्च गरेको छ । प्रदेश सरकारले चालु तर्फ विनियोजन भएको १७ अर्व २२ करोड २७ लाख मध्ये १० अर्व ७४ करोड २७ लाख खर्च भएको छ । 

जुन ६२.३८ प्रतिशत हो । यस्तै, पुँजीगततर्फ विनियोजन भएको २३ अर्व २५ करोड ६९ लाख मध्य६८.९३ प्रतिशत अर्थात १६ अर्ब ३ करोड ७ लाख रुपैया खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय लुम्बिनीका अनुसार जेठ मसान्तसम्म १९ अर्ब २३ करोड ५७ लाख ६३ हजार खर्च भएकोमा असारको २४ गतेसम्म ७ खर्ब ५३ करोड ७७ लाख ४७ हजार खर्च भएको छ । 

कर्णाली प्रदेश 

कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा जम्मा ६०.३४ प्रतिशत मात्र खर्च गरेको छ । चालु आर्थिक वर्षमा ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट विनियोजन गरिएकोमा २० अर्ब १५ करोड ३९ लाख ७३ हजार १६२.७२ रुपैयाँ मात्रै कार्यान्वयन ल्याएको हो । चालु आर्थिक वर्ष पुँजीगततर्फ १९ अर्ब ५७ करोड ४८ लाख ९५ हजार बजेटमध्ये जम्मा ५४.६७ प्रतिशत अर्थात् १० अर्ब ६९ करोड ५६ लाख ४६ हजार ३६५.७० रुपैयाँ मात्रै कार्यान्वयनमा आएको छ । चालु आर्थिक वर्ष चालुतर्फ १३ अर्ब बराबरको वार्षिक बजेट रहेकोमा ६८.३६ प्रतिशत खर्च गरेको छ । 

सुदूरपश्चिम प्रदेश 

चालु आर्थिक वर्ष २०८०÷८१ मा सुदूरपश्चिम प्रदेश सरकारले ६३ प्रतिशत बजेट मात्र खर्च गरेको छ । सरकारले चालु आवको लागि विनियोजन गरेको २९ अर्ब २८ करोडको १८ अर्ब ६२ करोड २५ लाख अर्थात् ६३.५९ प्रतिशत खर्च गरेको हो । 

सुदूरपश्चिम प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख जोशीका अनुसार चालुतर्फ ११ अर्ब ९६ करोड विनियोजन गरेकोमा ८ अर्ब ५१ करोड खर्च भएको छ भने पुँजीगत तर्फको १७ अर्ब २५ करोडमध्ये १० अर्ब ५७ करोड बजेट खर्च भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update