News 24 Television
रास्वपाको महामन्त्री कायमै रहेको मुकुलको दाबी, रविविरुद्ध आक्रामक

काठमाडौँ । मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निष्काशित गरिएका डा. मुकुल ढकालले आफू रास्वपाको महामन्त्री कायमै रहेको दाबी गरेका छन् । उनले पार्टी सभापति रवि लामिछानेको ‘एलिट क्लब’ले पार्टी कब्जा गरेको आरोप लगाउँदै रविविरुद्ध आक्रोेश व्यक्त गरेका छन् । 

बुधबार पत्रकार सम्मेलन गर्दै उनले गृहमन्त्री समेत रहेका सभापति रविविरुद्ध आरोपै–आरोप लगाए् । रवि सहकारी ठगी प्रकरणमा दोषी रहेको, रविका दुइटा पासपोर्ट रहेको लगायत आरोप लगाउँदै उनले यी दुवै विषयमा अनुसन्धान गर्नुपर्ने बताएका छन् । पहिले रविले विधि–प्रक्रिया नबुझ्दा दुइटा पासपोर्टको समस्यमा परेको भनी आफूले साथ दिएको बताउँदै ढकालले अब पार्टीकै भविष्यको चिन्ता भएकाले पासपोर्टको विषयमा पनि स्वतन्त्र छानबिन गर्नुपर्ने बताए । सहकारीको विषयमा विगतमा कुनै जाहेरी र उजुरी परेको छैन भनेर रविले उन्मुक्ति पाउँदै आए पनि अब सर्वोच्च अदालतबाटै छानबिन हुनुपर्र्ने ठहर भइसकेकाले उक्त विषयमा पार्टीले पनि छानबिन गर्नुपर्ने ढकालको तर्क छ ।

रविले पार्टीमा एकलौटी गर्न खोजेपछि र सीमिति व्यक्तिको समूहले पार्टी कब्जा गरेपछि आफू बाध्य भएर जनतामा गएको ढकालको दाबी छ । उनले आफूलाई स्पष्टीकरणको मौका समेत नदिई पार्टीले कारबाही गरेको भन्दै उक्त कारबाही गैरकानुनी भएको जिकिर समेत गरेका छन् । पार्टीले महामन्त्री पद खोसे पनि आफू अझै पनि रास्वपाको महामन्त्री रहेको ढकालको जिकिर छ । मंगलबार बसेको रास्वपा केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको आचारसंहिता विपरीत कार्य गरेको भन्दै सबै महत्वपूर्ण जिम्मेवारीबाट हटाएको थियो । 

पार्टीको निर्णयलगत्तै ढकालले आफू रविको क्लबबाट मात्रै निष्काशित भएको र रास्वपामा घण्टी बज्न नरोकिने प्रतिक्रिया दिएका थिए । राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानविपरीत आफूलाई स्पष्टीकरणको म्याद नसकिँदै निलम्बनको पत्र थमाइएको र त्यो पनि उपसभापतिबाट पत्र काटिएको भन्दै असन्तुष्टि जनाएका छन् । सभापतिबाट लिखित रुपमा उपसभापतिलाई अधिकार प्रत्यायोजन नगरी उपसभापतिले निलम्बनको पत्र काट्ने अधिकार कसरी पाए भनी उनले प्रश्न उठाएका छन् । साथै रविको कब्जाबाट पार्टीलाई मुक्त गर्न आफूहरू लागिपरेकाले सबै घण्टीप्रेमीहरुले साथ दिनुपर्ने उनको भनाइ छ । 

ढकालले रवि पनि पुराना दलका नेता केपी ओली, शेरबहादुर देउवा र प्रचण्डजस्तै हुन थालेको आरोप समेत लगाएका छन् । विगतमा रविका विश्वासपात्र मानिएका मुकुल एकाएक रविकै विरुद्धमा खरो उत्रिन थालेपछि उनीमाथि कारबाहीको डण्डा बज्रिएको देखिन्छ । रविकै अनुमतिमा देशयात्रामा निष्केर समीक्षा प्रतिवेदन तयार पारेका ढकालले रविकै अनुमतिमा प्रतिवेदनबारे मिडियामा बोलेको बताएका छन् । ढकालले उक्त प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा पहिले नै मिडियामा सार्वजनिक गरेको, केन्द्रीय समिति बैठकमा मुखमा कालो टेप टाँसेको, अनुशासनहीन तथा अमर्यादित हर्कत देखाएको र पार्टी सभापतिविरुद्ध अभिव्यक्ति दिएकोलगायत आरोप रास्वपाले लगाएको छ । 

जनताको सुझाव संकलनपश्चात तयार पारिएको भनिएको प्रतिवेदनामा ढकालले अहिलेकै अवस्थामा रास्वपा अघि बढ्ने हो भने विवेकशील पार्टीजस्तै हालतमा पुग्ने र २०८४ को निर्वाचनमा राष्ट्रिय पार्टी बन्न समेत मुश्किल हुने निष्कर्ष निकालेका छन् । 
 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०९:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update