News 24 Television
प्रचण्ड–ओली लडाइँको चेपुवामा माधव, प्रधानमन्त्री बन्ने इच्छा अधुरै 

काठमाडौं । ०७९ सालको आम निर्वाचनपछि नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा व्यक्त गर्दै आएका छन् । 

तर उनी प्रधानमन्त्री बन्ने आधार पटक पटक तय भएपनि भत्किँदै आएको छ । माधव यही संसदबाट प्रधानमन्त्री बन्ने आधार नजिक दुई पटक पुगिसकेको छन् । 

पहिलो पटक, निर्वाचन सम्पन्न भएलगत्तै काँग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धन हुँदै प्रधानमन्त्री बन्ने आधारमा बनेको थियो । 

तत्कालीन वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी नतिजासँगै उनलाई एक वर्ष प्रधानमन्त्री दिने काँग्रेस र माओवादीबीच सहमति थयो । 

सो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाले २÷२ वर्ष र बाँकी एक वर्ष माधव प्रधानमन्त्री बन्ने सहमति भयो । यद्यपि देउवा र प्रचण्डबीच पहिलो चरणमा को प्रधानमन्त्री बन्ने ? भन्नेमा विवाद उब्जियो । तर यहीबीचमा प्रचण्ड काँग्रेस छोडेर एमालेको समर्थनमा प्रधानमन्त्री बन्न पुगे । 

यो परिघटनासँगै माधवको प्रधानमन्त्री बन्ने पहिलो आधार भत्कियो । दोस्रो एमालेसँगैको सत्ता समीकरणमै माधवको प्रधानमन्त्री बन्ने आधार तय भएको थियो । एमालेसँगको सरकार बनेपछि पनि माधव उक्त समीकरणमा बोलावट भए । त्यसअघि उनी काँग्रेसँगको वैकल्पिक गठबनधन बनाएर प्रधानमन्त्री बन्न पनि खोजे । तर पर्याप्त आधार भेटेका थिएनन् । 

एमालेसँगको सिसिइवीका बाबजुत गठबन्धनमा आउँदा माधवले प्रधानमन्त्री पद नै ‘डिल’ गरे । उनको यो मागमा प्रचण्ड र एमाले अध्यक्ष ओली पनि हदसम्म लचक भएको बताइन्थ्यो । तर ओली कुनै लिखित समझदारी गर्न भने मानेन् । लिखित रुपमै समझदारी नभएपनि ओलीले मौखिक रुपमा हुन्छ भनेपछि माधवमा प्रधानमन्त्री बन्ने झिनो आशा भने कायमै थियो । 

तर उता ओलीको भने त्यो बेलामै माओवादीसँगको समीकरणमा शंका राखेको अहिले पुष्टि भएको छ । ओलीले सो बेला लिखित समझदारी नगर्नु नै भविष्यमा समीकरण फेरिन सक्ने अनुमान हो । 

सोही अनुसार नै ओलीले लिखित सहमति गरेका थिएनन् । अहिले उक्त समीकरण भत्किाएर काँग्रेस–एमालेको गठबन्धन बनिसकेको छ । यो सँगै माधवको प्रधानमन्त्री बन्ने सपना चकनाचुर भएको छ ।

नयाँ समीकरणमा माधवलाई छैन स्पेश 

अहिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अल्पमतमा परिसकेका छन् । प्रचण्ड प्रधानमन्त्रीबाट हट्ने वितित्कै काँग्रेस र एमाले सरकार बनाउन तम्तयार छन् । 

उनीहरुबीच विभिन्न बुँदामा लिखित समझदारी पनि भइसकेको छ । भन्नमा राष्ट्रिय सरकार भनेका काँग्रेस–एमालेले ओलीलाई प्रधानमन्त्री बनाउने तयारी गरेका छन् । दुईदलबीच प्रदेशहरुको नेतृत्व र मन्त्रालयको भागबण्डा पनि गरिरहेका छन् । यद्यपि उनीहरुले दावी गरेजस्तो राष्ट्रिय सरकार बनाउने छाँटकाँट देखिँदैन । 

संविधान संशोधन र आफू नेतृत्वको सरकारविरुद्ध रातारात गरेको सम्झौताकै कारण माओवादी प्रतिपक्षमा बस्ने देखिन्छ ।

यही कारण पनि प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत लिएर विपक्षीलाई संवैधानिक अफ्ठ्यारोमा पर्ने राण्नीति लिँदैछन् । प्रधानमन्त्रीको यो कदमलाई माधव नेतृत्वको एकीकृत समाजवादीले पनि साथ दिने भएको छ ।

 आफ्नो महाधिवेशन चलिरहेकै अवस्थामा नेकपा एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने भनिसकेको छ । प्रचण्डलाई सहयोग गरेकै कारण अब बन्ने ओली नेतृत्वको नयाँ सरकारमा माधवलाई स्पेश रहने देखिँदैन । 

केपी–माधव पानी बाराबार 

संसद विघटनपछि एमालेबाट विद्रोह गरेर नेकपा एकीकृत समाजवादी खोलेका माधव र केपीबीच अझै समबन्ध सुध्रिएको छैन । नेकपा विभाजनपछि शेरबहादुर देउवा नेतृत्वमा सरकार बनेको थियो । 

त्यो बेला एमाले प्रतिपक्षी कित्तामा रह्यो भने माओवादी र नेकपा एकीकृत समाजवादी सत्तासाझेदार बने । सो बखत पार्टी फुटाएर पारि कित्तामा हामफालेका माधवलाई ओलीले देखिसहँदैनन् । 

पार्टी गठनपछि पहिलो पटक चुनावको सामना गरेको नेकपा एकीकृत समाजवादीले गत निर्वाचनमा प्रत्यक्षतर्फ १० सिटमा जित हाँसिल गरेको छ । यही सिट र गठबन्धनको बलमा माधवले प्रधानमन्त्री बन्ने सपना देख्दै आएका छन् । तर माधवको यो सपनामा एमाले अध्यक्ष ओली सँधै बाँधक बन्दै आएका छन् । 

राष्ट्रिय दल पनि बन्न नसकेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादी–काँग्रेस, माओवादी–एमाले दुवैको गठबन्धनबाट प्रधानमन्त्री बन्ने तीव्र आकांक्षा राखेका थिए । परिस्थिति अनुसार उनलाई प्रधानमन्त्री बन्ने आधारहरु पनि मिलेको थियो । तर उक्त आधारहरु पटक पटक टुट्दै आएका छन् । 

पछिल्लो पटक बनेको काँग्रेस– एमाले समीकरणले फेरि माधवलाई प्रधानमन्त्री बनाउने समझदारी तोडिदिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार २७, २०८१  ०६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update