सर्लाही । सर्लाहीको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयसँग कुनै उत्साह र उपाय नै नभएको जस्तो देखिएको छ । ट्राफिक व्यवस्थापनमा उदासिन देखिएपछि यतिबेला सर्लाही जिल्लाका विभिन्न चोक, गल्ली तथा सडकहरु अस्तब्यस्त हुदै गएको छ । ट्राफिक व्यवस्थापनमा खटिनु पर्ने प्रहरीको ध्यान अन्यत्रै मोडिँदा बजार क्षेत्र अस्तव्यस्त बनेको स्थानीयको आरोप छ ।
सर्लाहीका विभिन्न चोक, गल्ली तथा सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तब्यस्त हूदै गएको लामै समय भइसक्यो । वस्ती भएका क्षेत्रका राजमार्ग क्षेत्रमा खटिनुपर्ने ट्राफिक प्रहरीहरू जंगल क्षेत्रक भएको राजमार्गतर्फ पुगेका छन् । यही कारण पनि सर्लाहीका मुख्य चौक र बजार क्षेत्र पर्ने पूर्व–पश्चिम राजमार्ग आसपासका इलाकाको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको स्थानीयको गुनासो छ । अत्याधिक सवारी साधन चल्ने पूर्व–पश्चिम राजमार्गस्थित शहरी क्षेत्र छोडेर ट्राफिक प्रहरी एकान्त र जंगल क्षेत्र किन गए भन्ने बुझ्न नसक्दा स्थानीय रनभूल्ल छन् । हुन पनि सर्लाहीका ट्राफिक प्रहरीहरु अहिले चेकिङ्गको बहानामा जंगल क्षेत्रतिरै भेटिने गरेका छन् । सर्लाही ट्राफिक प्रहरीले कागजपत्र नभएका सवारी चालकसँग नियम बमोजिमको कारबाहीभन्दा अवैध रकम असुली गर्ने गरेको चालकहरु आरोप लगाउँछन् ।
सवारी साधन चेकिङ्ग गर्दा सर्लाही ट्राफिक प्रहरील वारीको यान्त्रिक अवस्था हेर्दैनन् । केवल मालबाहक र पशु लोड गरेको सबारी साधनलाई रोकेर चेकिङ गरेजस्तो नाममा दुःख दिने गरेको चालकहरुको गुनासो छ । जंगल क्षेत्रमा चेकिङ्गमा बसेका ट्राफिक प्रहरीसँग मापसे चेक गर्न ब्रेथलाईजर पनि छैन । गती मापनका लागि सडकमा राडार समेत राखिएको छैन । यस्ता कुराहरुमा सुधार गर्नुको साटो उनीहर रकम असुलीमा व्यस्त बनेको आरोप लाग्दै आएको छ । जिल्ला भित्रका प्रत्येक ट्राफिक प्रहरी यूनिटबाट कमिसन उठाएर ट्राफिक प्रहरी निरिक्षकलाई नै बुझाउने गरिएको गम्भिर आरोप सर्लाही बस व्यवसायी संघका सञ्चालक रोशन अधिकारीले लगाए ।
सर्लाहीमा ट्राफिक प्रहरीमाथि प्रशस्तै गुनासो आउने गरेको सर्लाही ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदन थापाले स्वीकारे । प्रहरीले रकम नै असुल्ने गरेको थाहा नपाएको बताउँदै उनले त्यस्तो भेटिए कारवाही गर्ने बताए ।
सर्लाहीमा आर्थिक वर्ष २०७९÷८० मा ९०२ र २०८०÷८१ मा ६१५ सडक दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७९÷८० मा ६७ र २०८०÷८१ को जेठ मसान्त भित्रमा ६४ जनाको मृत्यु भएको तथ्यांक छ । सर्लाही ट्राफिक प्रहरी मातहतमा ११ यूनिट छन् ।