News 24 Television
मोदीले उद्दार गर्ने भए रुसी सेनाका भारतीय, नेपालीको कसले गर्छ ? 

काठमाडौँ । दुई दिने रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको बताइएको छ । राष्ट्रपति पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाउँदै त्यसमा सहजीकरण गर्ने बताउँदै गर्दा रुसी सेनाको बन्धकमा परेका नेपाली नागरिकको रिहाइमा भने नेपाल सरकार निरिह बनिरहेको छ । 

रुस भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच रुसी सेनामा भर्ती भएका भारतीय नागरिकलाई फिर्ता गर्न रुस सहमत भएको बताइएको छ । भारतीय सञ्चार माध्यमकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनुरोधमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन रुसी सेनामा भर्ती भएका भारतीयलाई फिर्ता गर्न सहमत भएका हुन् । दुई दिने भ्रमणका लागि मोदी सोमबार रुस पुगेका थिए । 

पुटिनसँग भएको भेटवार्तामा मोदीले रुसी सेनामा भर्ती भएका भारतीय नागरिकको सुरक्षाबारे छलफल गरेका थिए । सो क्रममा पुटिनले रुसी सेनामा रहेका भारतीय नागरिकलाई फर्काउन सहमति जनाएको र त्यो काममा सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाएका छन् । हालै भारतीय विदेश मन्त्रालयले रुसी सेनामा कार्यरत चार भारतीय नागरिकको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो । 

 

रुसी सेनामा दुई दर्जन बढी भारतीय नागरिक भर्ती भएको अनुमान छ । १० जना भारतीय नागरिक भने फर्किसकेका छन् । तर रुसी सेनामा हालसम्म ३५ जना नेपालीले ज्यान गुमाइसकेको तथा केही अझै बन्धक बनिरहँदा पनि नेपाल सरकारले नेपालीको उद्धारका लागि कुनै ठोस कदम चालेको छैन । मात्र जनतालाई पहल भइरहेको भन्दै आश्वासन दिइरहेको छ ।

मोदीको रुस भ्रमणले पश्चिमा शक्ति राष्ट्र र अमेरिकाले समेत चासो राखिराखेको दाबी गरिएको छ । रुस चौतर्फी नाकाबन्दीको सामना गरिरहेको बेला भारतीय प्रधानमन्त्री मोदीले गरेको रुस भ्रमण र विश्व शक्ति राष्ट्रले बारतमाथि कस्तो व्यवहार देखाउलान भन्ने प्रश्न उठिरहेको छ ।

रुस पछिल्लो समय उत्तर कोरिया, भियतनाम, चीन र भारतसँग देखिने गरि सम्बन्ध स्थापित गर्न सफल भएपनि अन्य मुलुकहरुले रुसलाई शंकाको नजरबाट हेर्ने गरेका छन् । विश्वमा उदयीमान राष्ट्र भारतले रुस भ्रमण गरेपछि अबको विश्व राजनीतिमा कस्तो बहस होला ? रुसी राष्ट्रपति पुटिनले मोदीलाई मस्कोमा गरेको निमन्त्रणाले दुई देशबीचको व्यापारमा कस्तो प्रभाव पार्ला ? विभिन्न प्रश्नहरु छन् । 

आर्थिक नाकाबन्दीको सामना गरिरहेको रुसले भारतलाई कच्चा तेल र हातहतियार आपूर्ति गरिरहेको बेला भएको भ्रमणले भारतले कस्तो सन्देश दिन खोजेको छ भन्ने विषय समेत चर्चामा रहनु स्वभाविक बनेको छ । 

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको मोदीको यो पहिलो रुस भ्रमण हो । त्यसअघि उनले सन् २०१९ मा रुसको भ्रमण गरेका थिए । रुस भारतमा तेल र हतियारको प्रमुख आपूर्तिकर्ता हो । यद्यपि पश्चिमा देशले रुसलाई प्रतिबन्ध लगाएको र चीनसँग रुसको बढ्दो निकटताले भारत–रुस सम्बन्धमा प्रभावित पार्नसक्ने चिन्ताबीच मोदीको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।


 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update