News 24 Television
विद्यार्थीको विदेश मोह, रित्तिदै स्वदेशका शिक्षण संस्था

काठमाडौं । प्लस टु सक्ने वित्तिकै विद्यार्थीमा उच्चशिक्षाका लागि विदेश जाने प्रवृत्ति मौलाउँदा नेपालका सरकारीदेखि निजी कलेजहरुका शैक्षिक कार्यक्रमहरु नराम्रोसँग प्रभावित भएका छन् । शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले निकालेको तथ्यांकमा नेपालमै पढाई हुने धेरै विषय पढ्न ठूलो संख्यामा विद्यार्थी विदेश जाने गरेका छन् । व्यवस्थापन संकाय पढ्न मात्रै पनि गत बर्ष २८ हजार ६ सय विद्यार्थी विदेश गएका छन् । 

लैनचौरस्थित निष्ट हायर एजुकेशन अन्र्तगतको नेशनल कलेजमा कम्प्युटर एप्लिकेशन बिषय पढ्न गत बर्ष ३५ जना विद्यार्थी भर्ना भए । तर १५ जनाले दोस्रो बर्ष नपुग्दै पढाई छाडे । सूचना प्रविधि क्षेत्रको बारेमा पढ्न भर्ना भएका १५ जना विद्यार्थी यताको पढाई बीचैमा छोडेर सोही बिषय पढ्न विदेश गए । त्रिभुवन विश्वविद्यालयले नै कोटा छुट्टाएको बिषयमा विद्यार्थीले बीचैमा पढाई छाडे पछि कलेजले नयाँ विद्यार्थी राख्न समेत पाएन । त्यसैले सो कोटा ४ बर्ष सम्म खाली नै गयो । 


शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार गत बर्ष सूचना प्रविधि र कम्प्युटर साईन्स बिषय अध्ययन गर्न ११ हजार ८६ जना विद्यार्थी देशबाहिर गएका छन् । नेपालमा नै पढाई हुने यस्ता बिषय अध्ययन गर्न बिद्यार्थी बाहिरिने गर्दा हाल स्नातक तह पढाउने धेरै कलेजमा विद्यार्थी संख्या निकै कम छ ।

आईटी बिषय पढ्न लागतको हिसावले पनि नेपालमा निकै सस्तो पर्छ । ४ देखि ५ लाखमा विद्यार्थीले नेपालमा आइटीमा स्नातक गर्न सक्छन् । नेपालमा पढाईने बिषय अध्ययन गर्न विदेश जाने विषयमध्ये धेरै विद्यार्थी बिजनेश स्टडी र म्यानेजमेन्ट पढ्न गइरहेका छन् ।

यी दुई विषय पढ्नमात्रै गत बर्ष ४० हजार विद्यार्थीले देश छोडे । इन्जिनियरिङ, हेल्थ, इन्फर्मेशन टेक्नोलोजी, साइन्स, हस्पिटालिटी, कम्प्युटर साइन्स, आर्टस्, साइन्स एण्ड टेक्नोलोजी लगातयका विषय पढ्न पनि विद्यार्थीहरू विदेश जाने गरेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जबकि यिनै विषयको पठनपाठन हुने कलेज तथा शिक्षण संस्थाहरू काठमाडौँ लगायत देशका मुख्य शहरहरुमा प्रशस्तै छन् ।   

वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । गत बर्ष १ लाख १४ हजार ४ सय २२ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका थिए । त्यसरी विदेश पढ्न जानेमध्ये धेरैजसो जापानी भाषा पढ्न जापान गएका छन् । शिक्षा मन्त्रालय अन्तर्गत एनओसी शाखाको तथ्यांक अनुसार २०८० सालमा जापानी भाषा अध्ययनका लागि ३३ हजार १ सय ६१ विद्यार्थीले एनओसीले लिएका थिए । 

यस्तै साइन्स विषय पढ्न ४ हजार ८ सय ७१, हेल्थ  ४ हजार ७ सय ५४, इन्जिनियरिङ ४ हजार २ सय ७२, साइन्स एण्ड टेक्नोलोजी ४ हजार १ सय ५८, हस्पिटालिटीका लागि ३ हजार १६ एनओसी जारी भएको मन्त्रालयले जनाएको छ । नेपालका निजी तथा सरकारी क्याम्पसहरुले केही बर्षयता स्नातक र स्नाकोत्तर तहमा अन्तराष्ट्रिय क्षेत्रमा पढाई हुने बिषयहरु पढाउन थालेका छन् । 

सूचना प्रविधि विषयदेखि चिकित्साशास्त्रका बिषय र व्यवस्थापन संकायमा नयाँनयाँ बिषय थपिएका छन्् । तर पनि विद्यार्थीको रुची विदेशतिरै छ । विद्यार्थी संख्या कम भएका कारण धेरै कलेजहरुमा शैक्षिक कार्यक्रम बन्द हुने जोखिम बढेको छ, कतिपय कलेजहरुमा त बन्द नै पनि भइसकेको छ । नेपालमा बर्सेनि राज्यले शिक्षामा ठूलो लगानी गरिरहेको छ । 

आगामी आर्थिक वर्षको बजेटमा पनि सबैभन्दा धेरै बजेट शिक्षामै छुट्याइएको छ । तर संस्कृतिकै रुपमा विदेश अध्ययन गर्न जाने परिपााटी स्थापित बन्दा राज्यको लगानी निरर्थक बन्दै गइरहेको छ भने यसले समग्र राज्यको सामाजिक, विकास लगायतका क्षेत्रमा पनि गम्भिर असर पु¥याइरहेको छ । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update