News 24 Television
वर्षासंगै संक्रामक रोग र महामारीको खतरा बढ्दो

काठमाडौं । देशभर मनसुनी प्रभाव देखिन थालेको छ । भारी वर्षासंगै देशका विभिन्न मुलुकमा बाढी पहिरो र डुवानले वितण्डा मच्चाउन थालिसकेको छ । 

वर्षायाममा प्राकृतिक विपद्संगै सरुवा तथा किटजन्य रोगको संक्रमणसमेत उच्च हुने गर्दछ । तर देशभर वर्षाले बाढी पहिरो डुवानका घटना बढिरहेका बेला स्वास्थ्य उपचार सेवा चुस्तदुरुत बनाउन पहल गर्ने प्रमुख निकाय स्वास्थ्य मन्त्रालयको प्रमुख पद नै रिक्त हुदाँ स्वास्थ्य क्षेत्र प्रभावित बन्ने आशंका बढेको छ ।

पछिल्लो केहि दिन यता भारी वर्षाका कारण जनजिनव प्रभावित बन्न थालेको छ । भारी वर्षासंगै देशका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण ७० जना भन्दा बढिको ज्यान गएको छ भने ८५ जना भन्दा बढि घाइते भएको तथ्य सार्वजनिक भएको छ ।

यस्तो अवस्थामा प्राकृतिक विपत्तिबाट हुने सम्भावित जोखिमसंगै यसले निम्त्याउँने विभिन्न स्वास्थ्यसंग सम्बन्धित समस्याहरु कसरी समाधान गर्ने भन्ने विषयमा संवेदनशील भएर लाग्नु पर्ने हो । तर, मुलुकको राजनितीक अवस्थाका कारण स्वास्थ्य मन्त्रालय मन्त्रीबिहीन जस्तो बनेको छ । 

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले गत असार २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि स्वास्थ्य मन्त्री प्रदीप यादव र राज्यमन्त्री हसिना खानले राजिनामा दिएसंगै स्वास्थ्यमन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हालेका छन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए पछि प्रधानमन्त्री प्रचण्ड प्रतिनिधिसभाबाट विश्वासको मतका लागि जुटिरेहका छन् ।

यस्तो अवस्थामा राजनितिले कुन मोड लिन्छ अहिले नै भन्न सकिने अवस्था छैन । अस्थिर राजनीतीक अवस्थाका कारण स्वास्थ्य जस्तो संवेदनशील क्षेत्र भने प्रभावित बनेको छ । 
अझ अहिले मुलुक भर देखिएको बाढी पहिरो र डुवानको वितण्डाका कारण संक्रामक रोगको महामारी फैलिने खतरा पनि उत्तिकै छ । 

सरुवा रोगसहित यो समयमा किटजन्य रोग डेंगी संक्रमणको जोखिम बढ्दै गएकाले यसले महामारीको रुप लिन सक्ने जोखिम समेत बढेको जानकारले औल्याउँदै आएका छन् । 

गर्मीयामसंगै स्वास्यमा देखिने विभिन्न समस्या मात्र नभएर देशभर वर्षाका कारण बाढी पहिरो र डुवानका कारण स्वच्छ खानेपानीको समेत अभावको देखिन थालिसकेको छ । साथै यस्ता स्थानमा पानीजन्य, किटजन्य तथा संरुवा रोगको जोखिम बढेकाले यसको प्रभावबाट नागरिकलाई बचाउन योजना बनाउन आवश्यक छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update