News 24 Television
चितवनमा रंगशाला बनाउन तीनै तहका सरकार कस्सिए, स्थानीयले पत्याएनन् 

चितवन । चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा थप पूर्वाधार निर्माणका लागि ठेक्का सम्झौता भएको छ । संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले बोलपत्र आह्वान मार्फत ठेक्का सम्झौता गरेको हो । रंगशाला ३० महिनाभित्र सम्पन्न गर्नेगरि सम्झौता भएको छ । 

चितवनको रामपुरमा दुई वर्षदेखि अलपत्र परेको निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रगशाला निर्माणको काम अगाडी बढेको छ । गत कात्तिकमा नेपाल सरकारले गौतम बुद्ध क्रिकेट रंगशालासहित ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरबको आयोजनामा राखेको थियो । 

गौतम बुद्ध क्रिकेट रंगशाला चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ वर्षअघि निर्माणको काम छाडेको थियो । ३९ प्रतिशत निर्माण गरिएको दावी गरिएको यो रंगशाला फाउण्डेसनले हात झिकेपछि अलपत्र अवस्थामा थियो । अहिले संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको वित्तीय साँझेदारीमा रंगशाला निर्माण गर्ने गरी भरतपुर महानगरपालिकाले बोलपत्र आह्वान मार्फत ठेक्का सम्झौता गरेको हो । रंगशालामा थप पूर्वाधार निर्माणका लागि हिमालयन कालिञ्चोक बीबीआर जेभी कम्पनी ललितपुरसँग सम्झौता भएको छ । 

सम्झौता अनुसार ३० महिना अर्थात् २०८३ साल पुष २२ गतेसम्ममा रंगशालाको काम सम्पन्न भइसक्नुपर्ने छ । ३० महिनामा मैदान पिच गर्ने, थप प्याराफिट निर्माण गर्ने, भिआइपी टावर निर्माण गर्ने, ड्रेन ढाक्ने काम हुने छ । यति काम सम्पन्न भएपछि दिउँसोको समयमा क्रिकेट खेलाउन मिल्ने भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल बताउँछन् ।

लागत अनुमान मूल्य अभिवृद्धि करबाहेक ९६ करोड ४३ लाख ६२ हजार गरिएकोमा ६८ करोड २ लाख ६४ हजारमा बोलपत्र सम्झौता गरिएको महानगरपालिकाकाले जनाएको छ । लागत अनुमानभन्दा २९ प्रतिशत कममा सम्झौता भएको हो । 

रंगशाला निर्माणका लागि १२ कम्पनीले बोलपत्र हालेका थिए । प्रदेश सरकारको ५२ करोड ५० लाख र संघ सरकारको २५ करोड र बाँकी रकम महानगरको आन्तरिक स्रोतबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको महानगरपालिकाले जनाएको छ ।

महानगरले रंगशाला निर्माणका लागि दोस्रो पटक बोलपत्र आह्वान गर्दामात्र ठेक्का सम्झौता भएको हो । पहिलोपटक बोलपत्र आह्वान गर्दा एउटा मात्रै कम्पनीको बोलपत्र परेको थियो । महानगरले प्रक्रिया नै पूरा नगरी बोलपत्र खुलाएको भन्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले बोलपत्र रद्द गराएपछि दोस्रो पटक बोलपत्र आह्वान गरिएको हो । ठेक्का सम्झौता भएपनि रंगशाला बन्न भन्नेमा स्थानीय विश्वस्त हुन सकेका छैनन् । 

२०७५ सालमा भरतपुर–१६ मा रहेको कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको २० बिघा १९ कट्ठा जमिनमा रंगशाला निर्माण गर्ने गरी धुर्मुस सुन्तली फाउण्डेसनले सम्झौता गरेको थियो  । 

जनस्तरबाट सहयोग जुटाउँदै फाउण्डेसनले रंगशाला निर्माणको काम सुरु गरेको थियो । तर २०७८ साउन २२ मा आर्थिक अभाव देखाउँदै फाउन्डेसनले रंगशाला निर्माणको काम ठप्प पारेको थियो ।

चरम आर्थिक अभाव भएपछि भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर फाउण्डेसन बाहिरियो । त्यसयता रंगशालामा थप पूर्वाधार निर्माण हुन सकेको थिएन । फाउण्डेशनले ५ हजार क्षमताको प्याराफिट निर्माण गरिसकेको छ । प्याराफिट बन्ने ठाउँमा पिल्लरहरु गाडिएका छन् । पानी जानका लागि ड्रेन पनि निर्माण भइसकेको छ । 

त्यसलाई पुर्न बाँकी छ । फाउण्डेशनले निर्माणका क्रममा १८ करोड ऋण लागेको र उक्त ऋण व्यावसायीहरुलाई तिर्न बाँकी रहेको जनाउँदै आएको छ । तर फाउण्डेसनको ऋण तिर्ने तर्फ भने सरकारले खासै चासो देखाएको छैन । 

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  ०६:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update